लगानी तथा पेसा–व्यवसाय गर्ने वातावरण सिर्जना गरियोस् : सिबिफिन

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले निजी क्षेत्रले मुलुकभित्रै लगानी तथा पेसा–व्यवसाय गर्न पाउने नीति एवं वातारण सिर्जना गरिदिन सरोकारवालासँग माग गरेको छ ।

सिबिफिनले एक विज्ञप्ति जारी गर्दै पछिल्लो आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण र क्षतिबाट विक्षिप्त निजी क्षेत्रलाई शान्ति–सुरक्षाको प्रत्याभूति गर्न पनि माग गरेको छ । ‘मुलुकभित्रै लगानी गर्ने, पेसा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सिर्जना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्न नवगठित सरकारले कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

मानवीय एवं भौतिक क्षतिका बाबजुद पनि देश नयाँ चरणमा प्रवेश गरेसँगै सरकारसँग हातेमालो गरी समुन्नत राष्ट्र निर्माणको अभियानमा सँगसँगै अगाडि बढ्न सधैँ तयार रहेको सिबिफिनको भनाइ छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थालाई आफ्ना सेवा सहजै सुरु गर्ने कार्यमा सहयोग गर्न पनि सिबिफिनको आग्रह छ । अर्थतन्त्रका आधारस्तम्भ र दिगो आर्थिक विकासका संवाहकका रूपमा रहेका यी संस्थाको सहज सेवा सञ्चालनका लागि पनि सिबिफिनले आग्रह गरेको छ । 

साथै, आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति दुःख प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ‘महाभूकम्प, कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिँदै र अर्थतन्त्रले गति लिँदै थियो । यही क्रममा नयाँ नेपालको सपना बोकेका युवाले आह्वान गरेको आन्दोलनमा मानवीय तथा भौतिक क्षति हुन पुग्यो। देशैभर सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति सिबिफिन गहिरो दुःख प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

See More On

सुझावित समाचार