जेन–जी आन्दोलनका कारण बजार बन्द भए पनि खाद्यान्न र तरकारीको उपलब्धता पर्याप्त रहेको व्यवसायीहरूले बताएका छन् । तर, यातायात सञ्चालन नभएकाले हरियो तरकारीसहित आलु–प्याजको आपूर्र्तिमा भने केही असहजता भएको कालीमाटी तरकारीमा कारोबार गरिरहेका व्यवसायीले जानकारी दिएका छन् । खाद्य किसान व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले दाल, तरकारी, तेल, गेडागुडीलगायत दैनिक उपभोग्य खाद्यान्नको पर्याप्त उपलब्धता रहेकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । ‘बजारमा कम्तीमा एक महिनालाई पुग्ने खाद्यान्नका जुनसुकै वेला पनि मौज्दात रहेको हुन्छ । अहिले पनि छ,’ उनले भने, ‘दसैँ नजिकिएकाले खपत बढ्ने अुनमानका आधारमा यो वेला झन् बढी खाद्यान्नको मौज्दात छ ।’ कुलेश्वरसहित राजधानीका प्रमुख खाद्य गोदाममा उच्च भण्डारण रहेको उनले जानकारी दिए । त्यस्तै, मूल्यवृद्धि नहुने कुरामा उपभोक्तालाई ढुक्क रहन उनको आग्रह छ । ‘यस्तो विषम परिस्थितिमा संस्थागत ढंगले मूल्यवृद्धि गर्ने भन्ने हुँदैन, खाद्यान्नको मूल्य यथावत् नै रहने कुरामा ढुक्क हुन उपभोक्तालाई आग्रह गर्दछु,’ उनले भने ।
उपत्यकामा अहिले तरकारीको पनि पर्याप्त उपलब्धता रहेको व्यवसायीले बताएका छन् । बल्खुस्थित तरकारी बजार नियमित रूपले सञ्चालनमा छ भने कालीमाटी फलफूल तथा तरकारी बजार बिहीबार बिहान एकछिन सञ्चालन भएर सेनाको आग्रहमा बन्द गरिएको नेपाल कृषि उपज आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए । ‘बजारमा हरियो तरकारीसहित आलु–प्याजको भण्डारण माग धान्न पुग्ने परिमाणमा छ,’ उनले भने, ‘अहिले माग पनि घटेकाले मौज्दातमा रहेको परिमाणबाटै आपूर्ति गर्न सकिने अवस्था छ ।’
कालीमाटी बजारमा दैनिक औसतमा एक हजारटन तरकारी आपूर्ति हुने गरेको छ । बुधबार र बिहीबार भने तरकारी आयात नभएको गजुरेलले बताए । ‘यातायात सञ्चालनमा अवरोध भएकाले दुई दिनदेखि तरकारी आयात भएको छैन,’ उनले भने, ‘तर, मागमा आएको कमीले मौज्दातमा रहेको तरकारी बिक्री गर्दा अभाव नै हुने अवस्था छैन ।’ उनले सेनासँग समन्वय गरेर तरकारी आयातका लागि ट्रक सञ्चालन गर्न समन्वय भइरहेको बताए । ‘सेनालाई तरकारी ढुवानीका लागि सहजीकरण गर्न समन्वय भइरहेको छ, तर ठ्याक्कै नतिजा आइसकेको छैन ।’ उनले एक–दुई दिनमै तरकारी आयात थाल्न सकियो भने अभाव हुने अवस्था नरहेको बताए ।
बल्खुका व्यवसायीलाई तरकारी खेर जाने चिन्ता
बल्खु तरकारी बजार भने नियमित सञ्चालनमा छ । कर्फ्युका बाबजुद बिहीबार दिनभर बल्खु बजार खुला रहेको व्यवसायी अर्जून ढुंगानाले जानकारी दिए । ‘बिहानदेखि निरन्तर बजार खुला छ, तर कर्फ्युका कारण उपभोक्ताहरू आएका छैनन्,’ उनले भने, ‘बजारमा तरकारी भने पर्याप्त छ ।’ उनले काठमाडौंको काँठ क्षेत्र र धादिङ तथा काभ्रेबाट बिहीबार राति ८–१० ट्रक तरकारी आयातको व्यवस्थापनसमेत भइसकेको बताए । ‘तरकारी आपूर्तिको सुनिश्चित भइसकेको छ, त्यसैले तत्कालै अभाव हुँदैन,’ उनले भने ‘तरकारी बिक्री नभएकोमा भने उनले चिन्ता व्यक्त गरे । ‘बिहान भिड थियो, बिक्री पनि राम्रै भयो, तर दिउँसो कर्फ्यु लागेकाले मानिसहरू नआउँदा तरकारी खेर जाने हो कि भन्ने चिन्ता छ ।’
बल्खु बजारमै दिउँसो भेटिएकी कल्पना श्रेष्ठले तरकारी पर्याप्त भए पनि उपभोक्ता नभएको बताइन् । ‘यहाँ खोजेजति सबै तरकारी नपाइएला, तर अधिकांश तरकारीको मौज्दात पर्याप्त छ,’ उनले भनिन्, ‘दिउँसोको समयमा उपभोक्ताहरू भने नआएकाले पसल कुरेर बस्नु परेको छ ।’ अर्का तरकारी व्यवसायी मोहन बस्नेतले किसानको बारीमा पर्याप्त उत्पादन रहेको र ढुवानीको समस्या हटे आपूर्तिमा कुनै समस्या नहुने बताए । ‘अहिले पनि तरकारी किन्न आउने कोही खाली हात जानुपर्दैन, मज्जाले तरकारी पाइन्छ,’ उनले भने । तरकारीको मूल्य पनि नबढेको उनले बताए । दिउँसोको समयमा उपभोक्ता कुरेर बसेका व्यवसायी श्रीकृष्ण प्रसादले बिक्री घटेको र आपूर्ति गर्न समस्या भएको बताए ।
खाद्य किसान व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ भन्छन्–
बजारमा कम्तीमा एक महिनालाई पुग्ने खाद्यान्न जुनसुकै वेला पनि मौज्दात रहेको हुन्छ । अहिले पनि छ, दसैँ नजिकिएकाले खपत बढ्ने अुनमानका आधारमा यो वेला झन् बढी खाद्यान्नको मौज्दात छ । कुलेश्वरसहित राजधानीका प्रमुख खाद्य गोदाममा उच्च भण्डारण रहेको छ । त्यस्तै, मूल्यवृद्धि नहुने कुरामा उपभोक्तालाई ढुक्क रहन भनिएको छ । ‘यस्तो विषम परिस्थितिमा संस्थागत ढंगले मूल्यवृद्धि गर्ने भन्ने हुँदैन, खाद्यान्नको मूल्य यथावत् नै रहने कुरामा ढुक्क हुन उपभोक्तालाई आग्रह गर्दछु ।
आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल भन्छन्–
बजारमा हरियो तरकारीसहित आलु–प्याजको भण्डारण माग धान्न पुग्ने परिमाणमा छ,’ उनले भने, ‘अहिले माग पनि घटेकाले मौज्दातमा रहेको परिमाणबाटै आपूर्ति गर्न सकिने अवस्था छ । कालीमाटी बजारमा दैनिक औसतमा एक हजारटन तरकारी आपूर्ति हुने गरेको छ । बुधबार र बिहीबार भने तरकारी आयात भएको छैन । यातायात सञ्चालनमा अवरोध भएकाले दुई दिनदेखि तरकारी आयात भएको छैन, तर मागमा आएको कमीले मौज्दातमा रहेको तरकारी बिक्री गर्दा अभाव नै हुने अवस्था छैन । सेनासँग समन्वय गरेर तरकारी आयातका लागि ट्रक सञ्चालन गर्न समन्वय भइरहेको बताए । ‘सेनालाई तरकारी ढुवानीका लागि सहजीकरण गर्न समन्वय भइरहेको छ, तर ठ्याक्कै नतिजा आइसकेको छैन ।