कांग्रेस बागमती प्रदेश समितिले जेन–जी पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा अराजक र उच्छृंखल तत्त्वहरू प्रवेश गरी हिंसात्मक गतिविधि बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनकै नाममा पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवासमा गरिएको आक्रमणलगायतका घटनाको भर्त्सनासमेत गरिएको छ ।
सभापति देउवाप्रति गरिएको अमानवीय व्यवहार र निवासमाथि भएको आक्रमण लोकतान्त्रिक संस्कारविपरीत रहेको उल्लेख गर्दै यसप्रति खेद प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा कांग्रेसका सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाउँछौँ ।’
कांग्रेस बागमती प्रदेशले आन्दोलनलाई लोकतान्त्रिक अधिकारको प्रयोग मान्दै आए पनि हिंसात्मक क्रियाकलापलाई अस्वीकार्य गरेको जनाएको छ । समितिले राजनीतिक नेतृत्व, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि भएका आक्रमणहरू अलोकतान्त्रिक, अपरिपक्व र निन्दनीय रहेको र यस्ता गतिविधिले लोकतान्त्रिक पद्धति र विधिको शासनलाई कमजोर बनाउने चेतावनी दिएको छ ।
साथै विज्ञप्तिमा हालको विषम परिस्थितिमा राज्य सञ्चालन गर्ने नेतृत्वले नागरिकको मनोविज्ञानअनुसार सही निर्णय लिन नसक्दा जनआक्रोश चुलिएको र यसले मुलुकमा क्षति पुर्याएको निष्कर्षसमेत प्रस्तुत गरिएको छ। प्रशासनिक केन्द्र सिंहदरबार, निर्वाचन आयोग र संसद् भवनजस्ता संवैधानिक तथा महत्त्वपूर्ण संरचनामाथिको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले यस्तो गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता नै खतरामा पार्ने टिप्पणी गरेको छ ।
कांग्रेस बागमती प्रदेशले आफ्ना सबै पार्टी पंक्ति, भ्रातृ संगठन, शुभेच्छुक संस्था तथा आमनागरिकलाई आन्दोलनका नाममा हुन सक्ने अवाञ्छित गतिविधिबाट सचेत रहन र त्यस्ता गतिविधि निस्तेज पार्न सक्रिय हुन आह्वानसमेत गरेको छ । विज्ञप्तिमा ‘विषम परिस्थितिमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ भन्दै कानुनी राज्य, विधिको शासन र लोकतान्त्रिक पद्धतिबाटै समस्याको समाधान खोज्न सम्बन्धित सबैसँग अपिल गरिएको छ ।