आगामी पुसमा बागलुङ महोत्सव हुने

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

आगामी पुसको दोस्रो साता आठौँ बागलुङ महोत्सव हुने भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ गतेबाट गण्डकी प्रदेशस्तरीय व्यापार, पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर महोत्सव आयोजना गरिने संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । स्थानीय लोकसंस्कृतिको संरक्षण र स्थानीय उत्पादनलाई पहिलो प्राथमिकताका साथ महोत्सव सञ्चालन गर्नुका साथै यस वर्ष शिक्षा र पर्यटनसँग जोडेर थप कार्यक्रमसमेत सञ्चालन गर्ने शाक्यले जानकारी दिए । 

महोत्सव सञ्चालन सम्बन्धमा सोमबार जिल्लास्थित राजनीतिक दल र अन्य सरोकारवालासँग छलफल गरिएको छ ।  महोत्सवलाई थप प्रभावकारी बनाउन उपयुक्त स्थान कहाँ हुने भन्ने विषयमा पनि सर्वपक्षीय छलफल भएको थियो । 

‘आगामी पुसमा बागलुङ महोत्सव हुने पक्का भएको छ, स्थान कहाँ गर्ने कसरी गर्ने छलफलमा नै छौँ,’ अध्यक्ष शाक्यले भने, ‘विगतमा धौलागिरि बहुमुखी क्याम्पस प्रांगणमा भएको हुँदा यस वर्ष पनि त्यही स्थानमा छलफल भएको छ । महोत्सव सञ्चालन गर्दा क्याम्पसको पठनपाठनमा पनि प्रभाव पर्ने हुँदा अन्य विकल्पहरू पनि खोजेका छौँ, स्थान छिट्टै टुंगो लाग्नेछ ।’ उनले यस वर्षको महोत्सव विगतमा भन्दा केही फरक हुने गरी अहिलेदेखि नै तयारी थालेको बताए । महोत्सवका लागि विभिन्न उपसमिति गठन गर्ने अध्यक्ष शाक्यले बताए । 

छलफलमा जिल्लामा मेला–महोत्सव तथा सभा–समारोह गर्दा उपयुक्त स्थान नभएको कारण त्यसका लागि एउटा संयन्त्र नै बनाएर अगाडि बढ्ने निर्णय भएको छ । कुनै कार्यक्रम गर्दा सार्वजनिक स्थान नभएका कारण अप्ठ्यारो परेको हुँदा त्यसको दीर्घकालीन समाधानका लागि जग्गा र स्थान व्यवस्थापनका निम्ति उद्योग वाणिज्य संघका अध्यक्षकै संयोजकत्वमा एउटा समिति बनाइएको छ । समितिले विभिन्न निकायसँग आवश्यक परामर्श र सल्लाह गरेर सदरमुकाम क्षेत्रमा एउटा खुला मञ्च सिटीहल निर्माण गर्ने जग्गा व्यवस्थापन गर्ने काम गर्ने निवर्तमान अध्यक्ष नरेश कँडेलले बताए । 

संघले सदरमुकाम क्षेत्रमा खुला ठाउँ नहुँदा विगतदेखि नै धौलागिरि बहुमुखी क्याम्पस क्षेत्रमा महोत्सव गर्दै आएको छ । शैक्षिक क्षेत्रभित्र मेला–महोत्सव गर्न सहज नहुने हुँदा अन्य दीर्घकालीन स्थानको खोजीका लागि समिति नै गठन गरेर अगाडि बढेको कँडेलले जानकारी दिए । 

जिल्लाका क्रियाशील राजनीतिक दल, बागलुङ नगरपालिका, वडा नं. १ देखि ४ सम्मका वडा कार्यालय र विभिन्न संघसंस्थाको प्रतिनिधित्व हुने गरी स्थान र जग्गा व्यवस्थापनका लागि समिति बनेको  छ । सो समितिले अन्य सरोकारवालासँग समन्वय गरी जग्गा व्यवस्थापनकाे काम गर्ने कँडेलले जानकारी दिए । 

छलफलमा नेपाली कांग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरे, समाजवादी पार्टीका कृष्ण पौडेल, रास्वपाका विष्णु आचार्य र राप्रपाका हेमराज शर्मा बागलुङ– २ का वडाध्यक्ष सुरज बोसेल, वडा नं. ३ का वडाध्यक्ष सनी केसी लक्ष्मण, रामरेखा सामुदायिक वनका अध्यक्ष कृष्ण केसी, नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठलगायतले बागलुङ सदरमुकाम क्षेत्रमा सबै मिलेर तत्काल खुला मञ्चको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका दिए ।  कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षता, महासचिव अर्जुन पौडेलको सञ्चालन र वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।  

सुझावित समाचार