एमसिसी कार्यान्वयनको दुई वर्ष, अझै भएन जग्गा प्राप्ति

सरकारले वन नियमावली संशोधन गरेपछि गणना भइसकेको रुख अन्योलमा

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदान परियोजना कार्यान्वयनमा प्रवेश गरेको दुई वर्ष पूरा भएको छ । तर, हालसम्म पनि प्रसारणलाइनका लागि चाहिने जग्गा प्राप्ति हुन सकेको छैन । एमसिसी परियोजना ३० अगस्ट ०२३ (१३ भदौ ०८०) देखि कार्यान्वयनमा प्रवेश (इन्ट्री इन्टु फोर्स) गराइएको थियो । परियोजना सकिन अब तीन वर्ष मात्रै समय रहँदा जग्गा प्राप्ति नभएको अवस्थामा परियोजना समयमै बन्नेमा चुनौती देखिएको छ ।

एमसिसी अनुदानअन्तर्गत बन्ने सबस्टेसन र सडकलाई चाहिने जग्गा यसअघि नै नेपाल सरकारले प्राप्ति गरिसकेको छ । प्रसारणलाइनलाई चाहिने जग्गा भने मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपाल आफैँले गर्नुपर्ने थियो । सोही परियोजनाअन्तर्गत काठमाडौं, मकवानपुर, धादिङ, चितवन, नुवाकोट, पाल्पा, तनहुँ, सिन्धुपाल्चोक, नवलपरासी र नवलपुरमा गरेर १० जिल्लामा जग्गा प्राप्ति गर्नुपर्नेछ ।

चार प्रसारणलाइनमा आठ सय ५६ वटा टावर बनाउन एक सय चार हेक्टर जग्गा प्राप्ति गर्नुपर्नेछ । साथै, तीन सय १५ किमि लामो प्रसारणलाइनमुनि पर्ने १३ सय ४७ हेक्टर जग्गाका लागि क्षतिपूर्ति दिएर भोगाधिकारसम्बन्धी सम्झौता गर्नुपर्नेछ ।

तर, काठमाडौंमै जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको छैन । अन्य नौ जिल्लामा ०७९ देखि नै जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको थियो । हालसम्म नौ जिल्लामा जग्गाको मूल्यांकन गरेर मूल्य निर्धारण गर्ने काम भइरहेको छ । तर, जग्गाधनीलाई मुआब्जा दिएर जग्गा नै प्राप्ति भइसकेको छैन । यद्यपि, यसको प्रक्रिया अन्तिम चरणमा पुगेको र ठेकेदारले काम सुरु गर्नुभन्दा अघि जग्गा प्राप्ति गरिसक्ने लक्ष्य राखेको छ । काठमाडौंमा थोरै जग्गा भएकाले समय नलाग्ने एमसिए नेपालको भनाइ छ । यस्तै, परियोजना स्थलमा पर्ने रुख कटानीका लगि पनि स्वीकृति लिन बाँकी नै छ । यद्यपि, परियोजना निर्माणका लागि काट्नुपर्ने रुख गणना भइसकेको छ ।

अमेरिकासँग सेप्टेम्बर २०१७ मा भएको सम्झौता १५ फागुन ०७८ (२७ फेब्रुअरी २०२२) मा संसद्बाट अनुमोदन भएपछि ०८० भदौ १३ (२०२३ अगस्ट ३०) देखि कार्यान्वयनमा प्रवेश (इन्ट्री इन्टु फोर्स) गराइएको थियो । सम्झौताअनुसार कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र अर्थात् २९ अगस्ट २०२८ (१२ भदौ ०८५) भित्र परियोजनाहरूको निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । अन्यथा खर्च हुन बाँकी रकम एमसिसीले पठाउनेछैन । अब बाँकी तीन वर्षमा यसअन्तर्गतका परियोजना बनाइसक्नुपर्ने दबाब छ । यद्यपि, अमेरिकाले गत जनवरीदेखि जुलाईसम्म अनुदान स्थगन गर्‍यो । त्यसमा झन्डै ६ महिना समय व्यतीत भएको छ । त्यसलाई शून्य समय मानिदिएर नेपालले सोबराबरको थप समय पाउने अपेक्षा गरिएको छ ।

एमसिसीको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० डलर लगानीमा चार सय केभी क्षमताका तीन सय १५ किमि लामो चार प्रसारणलाइन, चार सय केभी क्षमताका तीन सबस्टेसन, पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही ४० किमि सडकखण्ड र मुग्लिन नारायणगढ सडकलाई विशेष रूपमा मर्मत गरिँदै छ । पछिल्लोपटक अमेरिकाले थप गरेको पाँच करोड डलर अनुदान भने नेपालको मन्त्रिपरिषद्बाट अनुमोदन हुन बाँकी छ ।

चालू आवमा साढे आठ अर्ब बजेट, जग्गा प्राप्तिमा ५२ करोड ६४ लाख मात्रै 
चालू आवमा परियोजनालाई सरकारले आठ अर्ब ४६ करोड ७१ लाख बजेट छुट्याएको छ । जसमा दुई अर्ब ७७ करोड ८४ लाख नेपाल सरकाले नै दिनेछ । नेपाल सरकारले दिएको बजेटबाटै जग्गा प्राप्तिमा खर्च गर्नुपर्नेछ । त्यसमा जग्गा प्राप्तिका लागि भने ५२ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

नयाँ नीति आएपछि गणना भइसकेको रुख पनि अन्योलमा 
एमसिए नेपालले यसअघि नै परियोजना निर्माण गर्दा काट्नुपर्ने रुख गणना गरेर प्रतिवेदन सम्बन्धित निकायमा बुझाइसकेको छ । पहिला १४ सेन्टिमिटरभन्दा बढी गोलाइ भएका रुख गणना गर्नुपर्ने व्यवस्था थियो । तर, सरकारले हालै वन नियमावली संशोधन गरेर त्यो सीमा १० सेन्टिमिटर कायम गरेको छ । त्यो अवस्थामा एमसिए नेपालले पुन: रुख गणना गर्नुपर्ने जोखिमसमेत देखिएको छ ।

दुई वर्षमा के–के गर्‍यो एमसिए नेपालले ?
कार्यान्वयनमा प्रवेश गरेको दुई वर्षमा एमसिए नेपालले निर्माणका अधिकांश ठेक्का सम्झौता गरिसकेको छ । तीन सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग रातमाटे सबस्टेसन पाँच करोड १५ लाख डलरमा र नयाँ दमौली सबस्टेसन तीन करोड ८८ लाख ९० हजार डलरमा बनाउन सम्झौता भएको छ । रातमाटेको १ असार ०८१ र नयाँ दमौलीको १६ साउन ०८१ मा ठेक्का सम्झौता भएको थियो । यस्तै, नयाँ बुटवल सबस्टेसन बनाउन तीन करोड ५५ लाख १० हजार डलरमा लिंकसन इन्डिया प्रालिसँग २७ वैशाख ०८१ मा सम्झौता भएको थियो । अहिले ती परियोजनामा निर्माणको काम अघि बढेको छ । यस्तै, १४ भदौ ०८१ मा १८ किलोमिटर लामो चार सय केभी क्षमताको ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ प्रसारणलाइन बनाउन भने भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भइसकेको छ । एक करोड २३ लाख ६० हजार डलरमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । त्यसमा अहिले निर्माणको काम अघि बढेको छ । 

यस्तै, गत साउन २९ मा मात्रै चार सय केभी क्षमताका ९० किमि लामो नयाँ दमौली–नयाँ बुटवल र ९० किमि लामो रातमाटे–नयाँ बुटवल प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भएको छ । नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माणका लागि वाइवा–सलार जेभीसँग सात करोड ७० लाख ३० हजार डलरमा ठेक्का सम्झौता गरिएको छ । यस्तै, ९० किमि लामो चार सय केभी क्षमताको रातमाटे–नयाँ दमौली प्रसारणलाइन बनाउन भारतको एन्जेलिक–स्किपर जेभीसँग सात करोड ७४ लाख ८० हजार डलरमा ठेक्का सम्झौता गरिएको हो । अब प्रसारणलाइनतर्फ एक सय १७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा प्रसारणलाइनको ठेक्का लाग्न बाँकी छ । अब केही दिनमै उक्त परियोजनाको पनि ठेक्का सम्झौता गर्ने स्रोतको भनाइ छ ।

अहिले ४० किमि लामो धानखोला–लमही खण्डको मर्मत गर्न पनि ठेकेदार कम्पनी छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ । मुग्लिन–नारायणगढ सडकलाई विशेष रूपमा मर्मत गर्न ठेक्का आह्वान हुन बाँकी छ । तर, सडक निर्माणमा भने समय नलाग्ने हुँदा यसमा धेरै दबाब नभएको स्रोतको भनाइ छ । यीबाहेक अन्य नियमित काम पनि एमसिए नेपालले गरिरहेको छ ।

रुख कटानी र जग्गा प्राप्तिमा सरकारले सहजीकरण गर्नुपर्ने : पूर्वसचिव कार्की 
पूर्वऊर्जा सचिव देवेन्द्र कार्की जग्गा प्राप्तिमा सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । ‘यो परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्ने दबाब छ । तर, जग्गा प्राप्ति समयमा नगर्दा चुनौती आउन सक्छ । जग्गा प्राप्ति तथा रुख कटानीमा एमसिए नेपालको एक्लो प्रयासले मात्रै हुँदैन । तसर्थ, यसमा सरकार र सरकारी निकायले प्रचलित ऐनमै टेकेर द्रुत गतिमा काम गरिदिनुपर्छ,’ उनले भने, ‘यसबिचमा नीतिगत परिवर्तन हुँदा आउने चुनौतीमा पनि सरकारले सहयोग गर्नुपर्छ ।’

See More On

सुझावित समाचार