मधेशमा पूर्वराष्ट्रपति भण्डारीलाई एमाले नेता–कार्यकर्ताको भव्य स्वागत

स्वागतमा स्थायी कमिटी र पोलिटब्युरो सदस्यदेखि स्थानीय जनप्रतिनिधिसम्म, लगाइदिए ५१ केजीको माला

आइतबार, १५ भदौ, २०८२
डिजिटल संस्करण
मधेशमा पूर्वराष्ट्रपति भण्डारीलाई एमाले नेता–कार्यकर्ताको भव्य स्वागत

बाराको सिमरा विमानस्थलमा शनिबार पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ५१ केजीको मालाले स्वागत गर्दै एमाले नेता–कार्यकर्ता

एमाले नेतृत्वले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा ढोका बन्द गरे पनि सार्वजनिक रूपमै एमाले नेता–कार्यकर्ता उनको पक्षमा उभिने क्रम बढ्दै गएको छ । शनिबार मधेश पुगेकी भण्डारीलाई बाराको सिमरा विमानस्थलमा एमाले स्थायी किमिटी र पोलिटब्युरो सदस्यदेखि स्थानीय जनप्रतिनिधिसम्मले भव्य स्वागत गरे । विमानस्थल पुगेका एमाले नेता–कार्यकर्ताले ५१ केजीको माला लगाइदिएर भण्डारीप्रति समर्थन रहेको सन्देश नेतृत्वलाई दिएका छन् । 

वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘बृहत् महिला सम्मेलन : नारी शक्ति समर्पण र सम्मान’ विषयक महिला सम्मेलनमा उपस्थित हुन भण्डारी सिमरा विमानस्थल हुँदै गएकी थिइन् । विमानस्थलमा उनलाई एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, मधेश प्रदेश सचिवालय सदस्य जयप्रकाश थारू, केन्द्रीय सदस्य केदार न्यौपाने र अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगन्ज महानगरका पार्टी अध्यक्ष नवराज शर्मा, बाराको जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायतले स्वागत गरेका थिए । पार्टी नेतृत्वले भण्डारीको सदस्यताको विषयलाई लिएर कुनै पनि बहसमा सहभागी नहुन निर्देशन दिएको थियो ।

स्वागतमा सहभागी पोलिटब्युरो सदस्य पौडेलले देशकै सम्मानित व्यक्तिलाई स्वागतमा कुनै पार्टीले रोक लगाउन नसक्ने बताए । ‘देशकै सम्मानित व्यक्तिलाई स्वागतमा कुनै पार्टीले रोक लगाउन सक्दैन, गणतन्त्रमा सबैलाई भेटघाट र स्वागत गर्न सकिन्छ,’ उनले भने, ‘हामीले स्वेच्छाले नै उहाँलाई स्वागत र भेटघाट गरेका हौँ ।’ स्वागत र भेटघाट नगर्न भनेर पार्टीले पनि नभनेको उनको भनाइ छ । एमाले मधेश प्रदेश सचिवालय सदस्य थारूले पूर्वराष्ट्रपति भण्डारीलाई ५१ केजीको माला लगाइदिएर सम्मान गरिएको बताए । उनले पनि देशकै सम्मानित व्यक्तिलाई भेट्न कसैले रोक लगाउन नसक्ने बताए । 

वीरगन्जको कार्यक्रममा भण्डारीले महिलाहरू देशको नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तनका लागि अब्बल रहेको बताइन् । समाजमा बाँकी रहेको लैंगिक असमानता हटाउन महिलाले नेतृत्व लिनुपर्ने उनको भनाइ छ ।

एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले भने–देशकै सम्मानित व्यक्तिको स्वागतमा कुनै पार्टीले रोक लगाउन सक्दैन

देशकै सम्मानित व्यक्तिको स्वागतमा कुनै पार्टीले रोक लगाउन सक्दैन, गणतन्त्रमा सबैलाई भेटघाट र स्वागत गर्न सकिन्छ । हामीले स्वेच्छाले नै उहाँलाई स्वागत र भेटघाट गरेका हौँ । स्वागत र भेटघाट नगर्न भनेर पार्टीले पनि भनेको छैन । 

सुझावित समाचार