मधेश प्रदेशका मुख्य राजमार्गमा गत वर्ष जडान गरिएका सिसिटिभी क्यामेरा बिग्रँदा सडक दुर्घटना र अकाल मृत्युको दर बढ्दै गएको छ । बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिराहा र महोत्तरीलगायतका जिल्लामा राजमार्ग क्षेत्रमा सवारीसाधनको गति नियन्त्रण प्रभावकारी हुन नसक्दा दुर्घटना नियन्त्रणमा चुनौती देखिएको छ ।
मधेश सरकारले केही वर्षअघि राजमार्गका पाँच स्थानमा राडार गनसहित सिसिटिभी जडान गरेको थियो । सुरुवाती वर्षमा ती क्यामेरा दुर्घटना न्यूनीकरणमा प्रभावकारी साबित भए । ती क्यामेराले उच्च गतिमा सवारी चलाउने चालकको विवरण तत्काल मोबाइलमा पठाउने सुविधा दिँदा नियम उल्लंघन गर्ने चालकलाई सजिलै कारबाही गर्न सकिन्थ्यो । तर, अहिले ती सिसिटिभी मर्मत अभावमै निष्क्रिय छन् ।
मधेश प्रदेशका आठ जिल्लामा दुर्घटना रोकथामका लागि गत दुई वर्षमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । गत वर्ष मात्रै २० हजार ५१९ कार्यक्रम आयोजना गरिएको भए पनि दुर्घटना र अकाल मृत्यु घट्न सकेको छैन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) वकिलबहादुर सिंहले दुर्घटना बढ्नुको मुख्य कारण तीव्र गति, लापरबाहीपूर्ण सवारी सञ्चालन र अस्वाभाविक ओभरटेक प्रवृत्ति भएको बताएका छन् ।
आर्थिक वर्ष ०८१/८२ को तथ्यांकअनुसार मधेश प्रदेशमा सात हजार ४४३ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ५६४ जनाको मृत्यु र १२ हजार १२३ जना घाइते भएका थिए । अघिल्लो वर्ष ०८०/८१ मा ६ हजार ५८ दुर्घटनामा ५३० जनाको ज्यान गएको थियो भने नाै हजार ७४५ जना घाइते भएका थिए । आर्थिक वर्ष ०७९/८० मा पाँच हजार ९८८ वटा दुर्घटनामा ५४६ जनाले ज्यान गुमाएका थिए ।
मधेश प्रदेशका राजमार्गमा सवारीसाधनका प्रकारमा ट्रक, बस, जिपकार, ट्रयाक्टर र मोटरसाइकल छन् । तथापि, दुर्घटना सर्वाधिक मोटरसाइकलमा देखिन्छ । यसमा पनि तीव्र गति मुख्य कारण रहेको ट्राफिक कार्यालयको तथ्यांकले देखाउँछ ।
हाल मधेश प्रदेशमा जडान गरिएका ५८ सिसिटिभीमध्ये ३३ वटा बिग्रिएका छन् । राडार गनसहितका सबै सिसिटिभी मर्मतको अभावमा निष्क्रिय रहेका छन् । स्थानीय सरकार र संघसंस्थाले राखेका केही सिसिटिभीमा राडार गन नभएकाले गति नाप्न नमिल्ने अवस्था छ । डिएसपी सिंहका अनुसार सिसिटिभी बिग्रँदा रातमा हुने दुर्घटनाको अनुसन्धानसमेत प्रभावित भएको छ ।
बारामा १४, पर्सामा तीन, रौतहटमा १२, धनुषामा १५, सप्तरीमा सात, सिराहामा तीन र महोत्तरीमा चारवटा सिसिटिभी जडान गरिएका छन् । यी पूर्ण रूपमा सञ्चालनमा आएमा गति नियन्त्रण र जरिवानामार्फत दुर्घटना कम गर्न सकिने ट्राफिक कार्यालयको भनाइ छ ।
सिसिटिभीबाट उच्च गतिमा सवारी हिँड्ने चालकको विवरण तुरुन्तै मोबाइलमा पठाइन्थ्यो । यसले चालकलाई नियम पालन गर्न बाध्य बनाउने र दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्थ्यो। सिंहले भने, ‘हामीले चालक, यात्री, विद्यार्थी र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम चलाइरहेका छौँ, तर चालकहरूले नियम पालना नगरी आू बच्ने वा ट्राफिक प्रहरीलाई देखाउने औपचारिकता मात्र देखाउँछन् ।’
सवारी दुर्घटना नियन्त्रणमा कारबाही पनि प्रभावकारी रहेको छ । गत वर्ष मात्र दुई लाख आठ हजार सवारीसाधनलाई कारबाही गरी १८ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो । अघिल्ला वर्षमा क्रमशः दुई लाख ५९ हजार र तीन लाख ५३ हजार सवारीसाधनलाई कारबाही गरी २३ करोड ३० लाख र २६ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो ।
‘यदि सिसिटिभी पूर्ण रूपमा सञ्चालनमा नआएमा मधेश प्रदेशका राजमार्गमा हुने दुर्घटना र अकाल मृत्यु नियन्त्रण असम्भव हुनेछ,’ डीएसपी सिंहले भने, सडकमा हुने अकाल मृत्यु घटाउनका लागि मात्र होइन, दुर्घटनापछि अनुसन्धान र अपराध नियन्त्रणमा पनि सिसिटिभी महत्त्वपूर्ण छ ।