वीरगन्ज महानगरपालिकाे हैजा प्रभावित विभिन्न वडामा खानेपानी परीक्षण तथा शुद्धीकरणको काम सुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले मोबाइल भ्यानसहित पानी परीक्षणको कार्य अगाडि बढाएकाे हो ।
हैजा रोगको संक्रमण पुष्टि भएको क्षेत्रमा त्यहाँको खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली खटाइएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार हैजा प्रभावित क्षेत्रमा आफैँ खटिएकाले आवश्यक थप सामग्री आजै मगाउन लागिएको छ ।
दुई दिन पठनपाठन बन्द
यस्तै, हैजा फैलिएपछि महानगरको सामुदायिक तथा संस्थागत विद्यालहरूमा दुई दिनका लागि पठनपाठन बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।
उनका अनुसार महानगरपालिकाको वडा नम्बर ३, ११, १२ र १३ मा अहिलेसम्म हैजा (कोलेरा)को बिरामी देखिएपछि अस्पतालमा भर्ना भएका हुन् ।
वीरगन्जको नारायणी अस्पतालमा १८, तराई हस्पिटलमा १२, नेसनल मेडिकल कलेजमा पाँच, अलिअर्थो सेन्टरमा चार र भवानी हस्पिटलमा दुईजना हैजाका बिरामी उपचाररत रहेको ठाकुरले बताए ।
यस्तै, महानगरको विभिन्न वडामा हैजाको महामारी समुदायस्तरमै फैलिएकाले बिरामीको संख्या बढ्दो छ । वीरगन्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल तीन सयभन्दा बढी बिरामी उपचाररत रहेको उनले बताए ।