कैलाली कारागार घटना : पुन: झडपको भयले ३९ कैदीबन्दी डिस्चार्जपछि पनि अस्पतालमै

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

कैलाली कारागारमा गत २३ साउन राति भएको हिंसात्मक घटनाका घाइते कैदीबन्दीको व्यवस्थापनमा समस्या देखिएको छ । कारागारमा लैजाँदा पुन: झडप हुन सक्ने भन्दै डिस्चार्जपछि पनि उनीहरूलाई अस्पतालमै राखिएको छ । उपचारपछि डिस्चार्ज भएका ३९ जना कैदीबन्दीलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको छ । उनीहरूको उपचार पनि त्यहीँ गरिएको थियो ।

२७ कैदीबन्दीलाई अस्पतालले गत २७ साउनमै डिस्चार्ज गरेको थियो । ‘उनीहरूलाई कारागारभित्र ल्याउँदा पुन: स्थिति बिग्रने जोखिम छ,’ कारागार प्रशासन स्रोतले भन्यो, ‘केहीले स्थानान्तरण चाहेका छैनन्, यतै बस्न चाहेका छन् । ठुलो संख्यामा कैदीबन्दी अन्यत्र स्थानान्तरण पनि सहज छैन ।’ कैलाली कारागारमा हिंसात्मक घटना हुँदा एकजना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । कारागारभित्र बन्दीगृहको ब्लक ‘ए’मा रहेका कैदीबन्दीले ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि मध्यराति हमला गरेका हुन् ।

घाइतेमध्ये हालसम्म सातजनाको स्थानान्तरण गरिएको र ४१ जना सेती अस्पतालमा रहेको कैलाली कारागार प्रमुख प्रकाश ढुंगानाले बताए । सेतीमा रहेकामध्ये दुईजना भने अझै उपचारमा छन् । काठमाडौंमा उपचाररत तीनजना कैदीबन्दीलाई त्यहीँको कारागारमा स्थानान्तरण गरिएको ढुंगानाले बताए । डिस्चार्ज भएका तीनजना कैदीबन्दीलाई कञ्चनपुर र एकजनालाई नवलपरासी स्थानान्तरण गरिएको छ । कारागार प्रमुख ढुंगानाले कारागारमा लैजाँदा फेरि समस्या हुन सक्ने भएकाले डिस्चार्ज भएका कैदीबन्दीको व्यवस्थापनमा समस्या देखिएको बताए । ‘कारागारभित्र सुरक्षा चुनौती हुन सक्ने भएकाले उनीहरूलाई अस्पतालमै राख्नुपरेको हो,’ उनले भने, ‘अन्यत्र स्थानान्तरणका लागि निवेदन माग गरेका छौँ ।’ कारागार प्रशासनका अनुसार स्थानान्तरणका लागि हालसम्म २० जनाले निवेदन दिएका छन् । तीमध्ये १४ जनालाई कारागार स्थानान्तरण गर्न कारागार व्यवस्थापन विभागले स्वीकृति दिएको छ ।

‘केहीले यहीँको कारागारमा बस्न चाहेका छन्,’ ढुंगानाले भने, ‘स्थानान्तरणबारे विभागसँग पनि समन्वय भइरहेको छ ।’ डिस्चार्ज भएका कैदीबन्दीको खानाको व्यवस्थापन अस्पतालले नै गरिरहेको छ । कैदीबन्दी राखिएको कोरोना अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चौबिसै घण्टा पहरा दिइरहेको छ । घटना हुँदा कैदीबन्दीले भत्काएको बन्दीगृहको ब्लक ‘ए’ र ‘बी’को बिचमा रहेको वाल मर्मत भएको छैन ।

विशेषज्ञसहितको छानबिन समिति गठन गर्न सुझाव
कैलाली कारागारमा भएको हिंसात्मक घटना अनुसन्धानका लागि गठित छानबिन समितिले घटनामा संलग्नको पहिचानका लागि विशेषज्ञसहितको छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएको छ । छानबिन समितिले बुझाएको प्रतिवेदनमा घटनामा संलग्न कैदीबन्दीको नाम किटान गरिएको छैन । कारागारभित्रको सिसिटिभी फुटेज स्पष्ट नभएको र फरेन्सिक जाँच नभएकाले संलग्न ठम्याउन नसकिएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले विशेषज्ञ सम्मिलित समिति गठनसँगै कारागार सुधारका सुझावसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई बुझाएको हो ।

कारागारभित्रको आन्तरिक प्रशासन कसले चलाउने भन्ने विषयको विवादले घटना निम्त्याएको समितिले ठहर गरेको छ । कारागारको आन्तरिक प्रशासनको नेतृत्व कैदीबन्दीमध्येबाट चयन हुने चौकीदारले गर्छन् भने नाइके र सहनाइके सहयोगीका रूपमा रहन्छन् । कैलाली कारागारभित्र रहेका कैदीबन्दीका दुई समूहबिचको विवादका कारण प्रशासनले असार मसान्तभित्र चयन गर्नुपर्ने चौकीदार चयन गर्न सकेको छैन । ‘घटना हुँदाको सिसिटिभी प्रस्ट देखिने थिएन, समितिमा विशेषज्ञ नहुँदा दोषी किटान गर्ने अवस्था भएन,’ छानबिन समितिका संयोजक जोशीले भनिन्, ‘घटनाको गहिराइमा जान सिसिटिभी फुटेज, फरेन्सिक जाँच गर्ने विशेषसहित समिति गठन गर्नुपर्ने सुझाव दिएका छौँ ।’ कैदीबन्दीबिच आन्तरिक प्रशासन सञ्चालनको विवाद र क्षमताभन्दा पाँच गुणा कैदीबन्दी हुनु घटनाको कारक रहेको समितिले औँल्याएको उनले बताइन् ।

१० दिनको समय दिइएको समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह सदस्य तथा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्यसचिव थिए । समितिमा रहेका सबैले छानबिन र आ–आफ्नो कार्यालयको गरी दोहोरो जिम्मेवारी वहन गर्नुपरेकाले पनि छानबिनमा समस्या भएको जोशीले बताइन् । समितिले कैलाली कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी रहेकाले स्थानान्तरण गरेर संख्या घटाउनुपर्ने, कारागारको मूल भवनबाहेक कैदीबन्दी राख्न बनाइएका अन्य स–साना संरचना हटाउनुपर्ने, गुणस्तरीय सिसिक्यामेरा जडान गर्नुपर्ने, भवन जीर्ण भएकाले नयाँ बनाउनुपर्ने सुझाव दिएको छ । ‘एउटा सानो कोठामा २०–२५ जना र ठुलो कोठामा ६० जनासम्म कैदीबन्दी बस्ने रहेछन्,’ संयोजक जोशीले भनिन्, ‘कोचिएर बस्दा वेलावेला विवाद हुने रहेछ ।’ कारागार प्रशासनका अनुसार घटना हँुदा कैदीबन्दीले आधा दर्जन सिसिटिभी क्यामेरा फुटाएका छन् ।

घटनाको दोस्रो दिन तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले छानबिन समिति गठन गरेका थिए । घटनापछि हमाल गृहमन्त्रालय तानिएका थिए । प्रमुख जिल्ला अधिकारी लम्सालले प्रतिवेदनको अध्ययन गरेपछि के गर्ने भनेर गृह मन्त्रालय र कारागार व्यवस्था विभागसँग समन्वय गर्ने बताए । ‘विस्तृत अध्ययन गरिएको छैन, तर विशेषज्ञसहित छानबिन समिति गठन हुनुपर्ने सुझाव आएको थाहा भएको छ,’ उनले भने, ‘प्रतिवेदन अध्ययन र थप हामीले बुझेका विषयसहित के गर्ने भनेर सरोकारवाला निकायमा सुझाव दिन्छौँ ।’ डिस्चार्ज भएका कैदीबन्दीको व्यवस्थापनबारे पनि कारागार व्यवस्था विभागसँग कुराकानी भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।

सुझावित समाचार