व्यवसायीहरू असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

भृकुटीमण्डपमा सुरु भयो नाडा अटो सो

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले नीतिगत विषयमा व्यवसायीहरू असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको बताएका छन् । नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो २०२५ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रा नीतिहरू स्थिर छन् । मौद्रिक नीति, बजेटजस्ता दस्ताबेजमा पनि हामीले कुशल नीति अपनाएका छौँ । यी नीति हरेक वर्गलाई प्रोत्साहन गर्ने खालका छन्,’ उनले भने ।

त्यस्तै, सडकको विस्तारको काम धमाधम भइरहेको दाबी गर्दै ओलीले हरेक ठाउँका राजमार्ग गुणस्तरीय हुँदै गएको बताए । ‘पूर्वाधार विकासविना देश समृद्धिको बाटोमा अघि बढ्न सक्दैन,’ उनले भने, ‘अहिले नेपालका हरेक बस्तीमा गाडी गुड्न सक्ने सडक सञ्जाल विस्तार भइरहेका छन् ।’

८ भदौसम्म चल्ने अटो सोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन, लुब्रिकेन्ट, पार्टस्लगायतका ७५ वटा स्टल रहेका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता छ । विभिन्न कम्पनीहरूले नयाँ गाडी लन्च गर्नेदेखि ग्राहकलाई बुकिङ एवं खरिदमा छुट र सुविधा दिएका छन् ।

युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिऔँ : अध्यक्ष ढकाल 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन् । नाडा अटो सोको उट्घाटन अवसरमा बोल्दै उनले सरकारले लागू गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष ढकालले नाडा अटो सोले नेपालको अर्थतन्त्रमा योगदान दिएको चर्चा गर्दै यस्ता मेलाले बजार र ग्राहकलाई जोड्न महŒवपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय इलेक्ट्रिक गाडीको आयात बढिरहेको उल्लेख गर्दै उहाँले नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको उनको भनाइ थियो ।

सरकारले हालसालै ३० भन्दा बढी उद्योग, लगानी र व्यवसायसम्बन्धी कानुन परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रतिको धारणा सकारात्मक रहेको बताउँदै उनले भने, ‘पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका संकेत देखिएको छ ।' दुई वर्षअघिभन्दा सवारीसाधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको आकलन छ, यसले बजारमा विश्वास बढेको देखाउँछ । 

सुझावित समाचार