बन्द रहेका विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने गरी ऐनमा व्यवस्था गर्दै छौँ : मन्त्री पाण्डे

शनिबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बन्द रहेका विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न मिल्नेगरी हवाई ऐनमा व्यवस्था गर्न लागिएको बताएका छन्  । शनिबार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको विमानस्थल दिगो सञ्चालनसम्बन्धी छलफलमा उनले ठूलो लगानीमा बनेको भैरहवास्थित गौतमबुद्ध र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि निजी क्षेत्रले चाहे दिनेगरी ऐनमा व्यवस्था गर्न लागेको बताएका हुन् । 

यसका लागि पर्यटन, अर्थ, परराष्ट्र, गृह, श्रमलगायत मन्त्रालयसँग छलफल अगाडि बढाएको मन्त्री पाण्डेयले बताएका छन् । उनले चलिरहेका विमानस्थल निजी क्षेत्रलाई दिने कुरा नभएको तर निर्माण सम्पन्न भएर नियमित सञ्चालनमा नआएकाहरूको हकमा निजी क्षेत्रलाई दिने कुरामा सकारात्मक ढंगबाट नीति बनाएर अगाडि बढेको बताए । ‘विमानस्थल नचल्नुका कारण पनि अध्ययन गरिरहेका छाँै । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएको अन्तराष्ट्रिय विमानस्थल सञ्चालन नहुने भन्ने कुरै आउँदैन । विश्वका जुनसुकै विमानस्थल पनि सुरुवातमा यस्तै समस्या भोगिरहेको कैयन उदाहरण छन् । यसमा हामीले चिन्ता लिनुपर्ने छैन,’ मन्त्री पाण्डेले भने ।

उनले स्थानीय स्थतरमा विमानस्थल सञ्चालन संघर्ष समितिलाई नाम परिवर्तन गरी सहजीकरण समिति बनाउन आग्रह गरे । ‘संघर्षले होइन सहजीकरणले मार्केटिङ हुने हो हामी मार्केटिङतर्फ अगाडि बढाँै संर्घषतर्फ होइन,’ उनले भने ।

प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणका क्रममा मन्त्रालयको तर्फबाट भारत समक्ष प्रस्तुत गर्नुपर्ने एजेण्डामा अन्तर्राष्ट्रिय उडानका लागि रुट अनुमति, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति भारतले राख्ने नकारात्मक भावनाको अन्त्य र क्षेत्रीय उडानका लागि पहल गर्ने विषय समेटिएको पनि मन्त्री पाण्डेले बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले सरकारी उदासिनताका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । विमानस्थल सञ्चालनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच तालमेल हुनुपर्ने उनको भनाइ थियो । 

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन ? भन्ने सरकारले प्रष्ट पार्नुपर्ने बताए । 

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यात्रुलाई सुविधा नदिइँदासम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने बताए । ‘श्रम, भिसा, म्यानपावरका लागि काठमाडौं धाउन परेपछि यहाँ यात्रु किन आउँछन्,’ उनले भने, ‘पहिला यी समस्या समाधान गर्नुपर्छ ।’ उनले यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एशियाले ७७ प्रतिशत यात्रु पाउँदा पनि नियमितता दिन नसकेको जनाए । भैरहवाबाट नेपालगन्ज, धनगढी लगायत ठाउँमा पनि आन्तरिक उडान गर्नुपर्नेमा उनले जोड दिए । 

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले विमानस्थल नचलेकै कारण हरेक क्षेत्रमा समस्या बढिरहेको जनाए । ‘वार्षिक ३० लाख पर्यटक ल्याउने क्षमता भएको विमानस्थलमा १५ हजार पर्यटक मात्र आउनु सरकारको कमजोरी भएको पर्यटन व्यवसायी संजय बजिमयले बताए । यो क्षेत्रमा भारतीय विमानको आगमन नहुँदासम्म सोचेजस्तो र चाहेजस्तो पर्यटक नआउने र विमान सञ्चालनमा पनि कठिन हुने बताए । 

सुझावित समाचार