कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतकमा बादे, सचिवमा पूर्वमन्त्री महर्जन नियुक्त

शुक्रबार, २३ साउन, २०८२
डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । मुख्यमन्त्री एवं संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले उनलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् । 

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधानको दफा ११ को उपदफा १ बमोजिम सांसद बादेलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गरिएको हो । गत साउन १३ मा तत्कालीन दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि साउन १४ मा पुनः दल नेता चयनका लागि निर्वाचन भएको थियो । 

उक्त निर्वाचनमा बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेका थिए । ३७ सांसद रहेको कांग्रेसको ५१ प्रतिशतभन्दा बढी सांसदको समर्थनमा बानियाँ दल नेता बनेपछि संसदीय दलको पुनः गठन बाँकी रहेको थियो । 

संसदीय दलको रिक्त रहेका मुख्य सचेतक पदमा मुख्यमन्त्री बानियाँले सांसद बादेलाई नियुक्त गरेका हुन् । बादे काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (२)बाट निर्वाचित सांसद हुन् । उनी कांग्रेस बागमती प्रदेश समितिका महमन्त्रीसमेत हुन् ।
त्यसै मुख्यमन्त्री बानियाँले संसदीय दलको विधानको दफा १० को उपदफा ८ बमोजिम संसदीय दलको सदस्यसचिवमा मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् । 

प्रदेशको पूर्व युवा तथा खेलकुदमन्त्रीसमेत रहेका महर्जनलाई बानियाँले सदस्यसचिवको जिम्मेवारी प्रदान गरेका हुन् । महर्जन ललितपुर निर्वाचन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित सांसद हुन् । साउन ९ मा तत्कालीन दल नेता लामामाथि अविश्वास प्रस्ताव दर्ता तथा पारित र संसदीय दलको नेताको निर्वाचनको क्रममा दुवैजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मुख्यमन्त्री बानियाँले संसदीय दलको उपनेता तथा कोषाध्यक्ष भने नियुक्त गरेका छैनन् । यद्यपि मुख्यमन्त्री बानियाँले विधानको दफा ९ को उपदफा २ को खण्ड (ख) बमोजिम संसदीय दलको कार्यसमितिसमेत गठन गरेका छन् । गत साउन २० मा प्रदेशको मुख्यमन्त्री बनेका बानियाँले आगामी साताभित्रै विश्वासको मत लिने तयारीअनुसार संसदय दल गठन तथा प्रमुख पदमा नियुक्ति दिएका हुन् ।

सुझावित समाचार