प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कँदै छन् । उनी आज राति ११:५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तुर्कमेनिस्तानको आवाजामा संयुक्त राष्ट्र संघद्वारा आयोजित भूपरिवेष्टित मुलुकहरूको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ओली गत साेमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली त्यहाँबाट दुबई प्रस्थान गरिसकेका छन् ।
प्रधानमन्त्रीलाई तुर्कमेनवासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका छन् । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति नेपाल आइपुग्नेछन् ।
२० देखि २३ साउनसम्म भएकाे सम्मेलनमा भाग लिन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका थिए ।
सम्मेलनमा अतिकम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत ओलीले सम्बोधन गरे । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षताका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गरेका थिए ।