राष्ट्र बैंकले खुकुलो बनायो विदेशी मुद्राको सटही

आठ हजार डलरसम्मको सेवा आयात गर्दा नियामकको सिफारिस नचाहिने

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण

विदेशी मुद्रा सञ्चिति थुप्रिँदै जान थालेपछि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सटही व्यवस्था खुकुलो बनाएको छ । केन्द्रीय बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँबराबर छ । यो सञ्चिति ऐतिहासिक रूपमै उच्च हो । 

नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्र्दै विदेशी मुद्रा सटहीको व्यवस्थालाई थप खुकुलो बनाएको हो । अब भारतबाहेकका मुलुकबाट कुनै पनि संस्थाले सफ्टवेयर तालिमजस्ता सेवा आयात गर्दा आठ हजार अमेरिकी डलरसम्मको भुक्तानी गर्नुपरेमा नियामक निकायको सिफारिस आवश्यक नपर्ने भएको छ । हालसम्म पाँच हजार डलरसम्मका लागि सिफारिस नचाहिने व्यवस्था छ । 

त्यस्तै, कम्पनीको लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको निर्णयलगायतका कागजात जुटाएका आधारमा एकपटकमा १५ हजार अमेरिकी डलरसम्म वाणिज्य बैंकबाट नै सटही पाइने व्यवस्था गरिएको छ । हालसम्म यो लिमिट १२ हजार डलरमा सीमित थियो ।

केन्द्रीय बैंकले वायुसेवा सञ्चालकलाई आठ हजार अमेरिकी डलर वा पाँच लाख भारतीय रुपैयाँसम्मको सेवा आयात गर्दा नियामक निकायको सिफारिस नचाहिने व्यवस्था गरिएको छ । हाल एक लाख डलरसम्मको आयातमा नियामक निकायको सिफारिस अनिवार्य व्यवस्था छ । अब नियामक निकायको सिफारिस नचाहिने गरी न्यूनतम सीमा कायम गरिएको हो ।

नेपाली नागरिकलाई प्राविधिक शिक्षाका लागि विदेशी संस्थामा भुक्तानी गर्न वर्षमा पाँच हजार अमेरिकी डलरसम्म भुक्तानी हुने गरी विदेशी मुद्रा सटही दिन सकिने व्यवस्था गरिएको छ । हालसम्म एक हजार पाँच सय अमेरिकी डलरभन्दा बढीको सटही दिन नपाइने व्यवस्था थियो । अब प्राविधिक शिक्षा, व्यावसायिक तालिम तथा अनलाइनमार्फत अध्ययन गर्ने प्रयोजनका लागि पाँच हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाइने भएको हो ।

विदेशमा पढ्न जानुअघि दिइने परीक्षाका लागि १५ हजार डलरसम्मको सटही सुविधा पाइने भएको छ । विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा वा मानकीकृत परीक्षण टोफेल, आइएलटिएस, पिटिई, जिआरई, जिम्याट र स्याटजस्ता सेवा आयात नेपाली संस्थाले गर्दा सोबापतको भुक्तानीका लागि प्रतिपटक अमेरिकी डलर १५ हजारसम्मको सटही सुविधा वाणिज्य बैंकले दिन सक्ने भएको छ । 

सुझावित समाचार