भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सांघाई को–अपरेसन अर्गनाइजेसन(एससिओ)’ आगामी सम्मेलनमा भाग लिने तयारी गरिरहेको बुधबार भारतीय मिडियाले लेखेका छन् । एससिओको आगामी शिखर सम्मेलन अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म चीनको टियानजिनमा हुँदै छ ।
मोदी चीन गए भने शिखर सम्मेलनको साइड–लाइनमा उनको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता पनि हुने समाचारमा उल्लेख छ । भन्सार शुल्क र रुसी तेल खरिदलाई लिएर अमेरिकासँग बढ्दो तनावको बिचमा मोदीको चीन भ्रमण हुन लागेको हो । स्रोतहरूले अझै तयारीकै चरणमा रहेको बताएको प्रधानमन्त्री मोदीको आगामी चीन भ्रमण सात वर्षमा पहिलो हुनेछ । यसअघि मोदी सन् २०१८ मा चीन गएका थिए ।
मोदी र सीबिच पछिल्लो समय अक्टोबर २३, २०२४ मा रुसी सहर काजानमा ब्रिक्स शिखर सम्मेलनको छेउमा भेटघाट भएको थियो । त्यस भेटमा पूर्वी लद्दाखमा ‘वास्तविक नियन्त्रण रेखा (एलएसी)’को विवादित क्षेत्रबाट सेना पछि हटाउने र गस्ती पुन: सुरु गर्ने सहमति भएको थियो ।
पूर्वी लद्दाख क्षेत्रको सीमा क्षेत्र (एलएसी)मा दुई देशका सेनाबिच मे २०२० मा झडप भएपछि सम्बन्ध चिसिएका थियो । कजान बैठकपछि मात्र शीर्ष तहमा सम्बन्ध सुधार देखिन थालेको हो । त्यसयता दुई देशले सम्बन्ध सुधारमा अन्य प्रयास पनि चालेका छन् । तिनमा भारतीय तीर्थालुको मानसरोवर यात्रा पुन: सुरुदेखि, चिनियाँ पर्यटकका लागि भिसा र प्रत्यक्ष उडानको पुनरुत्थानजस्ता कदम चालिएका छन् ।
तर, गत मे महिनामा भारतले चालेको ‘अप्रेसन सिन्दूर’मा पाकिस्तानी सेनालाई चीनले सक्रिय सहयोग गरेको देखिएपछि सम्बन्ध पुनस्र्थापनामा केही धक्का लागेको छ । भारतका अनुसार पाकिस्तानले त्यस अवधिमा चिनियाँ हतियार र ड्रोनहरूको प्रयोग मात्र गरेको थिएन, बेइजिङले प्रत्यक्ष गुप्तचर जानकारी दिएर पाकिस्तानलाई मद्दत गरेको थियो ।
संयोगवश, सन् २०१८ मा मोदीको अन्तिम चीन भ्रमण जुनमा क्विङदाओमा भएको एससिओ शिखर सम्मेलनकै लागि भएको थियो । सीले भने पूर्वी लद्दाखको झडपअघि अक्टोबर २०१९ मा भारतको भ्रमण गरेका थिए ।
स्रोतका अनुसार भारत सरकारले मोदीको चीन भ्रमणका सबै तयारी पूरा भएपछि मात्र यसबारे घोषणा गर्ने तयारी गरेको छ । कजान बैठकपछि सम्बन्ध सुधारको प्रयासमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, रक्षामन्त्री राजनाथ सिंह र विदेश सचिव विक्रम मिश्रीले चीनको भ्रमण गरिसकेका छन् । गत महिना मात्र विदेशमन्त्री एस जयशंकरले तियानजिनमा भएको एससिओ विदेशमन्त्रीहरूको बैठकका लागि चीन गएका थिए ।