हबिबको सेयर हत्याउने हिमालयन रि–इन्स्योरेन्सको ‘सेटिङ’ विफल

हिमालयन बैंकको सेयर नेसनल लाइफलाई बेच्न हबिब सहमत

मंगलबार, २० साउन, २०८२
डिजिटल संस्करण

सेप्टेम्बरसम्ममा सेयर खरिद–बिक्री सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढ्यो

हिमालयन बैंकमा रहेको पाकिस्तानी बैंक हबिबको सेयर संस्थापक हकदारहरूबाट उम्काएर हत्याउने हिमालयन रि–इन्स्योरेन्स समूहको ‘सेटिङ’ अन्तत: विफल भएको छ । सबैभन्दा बढी मूल्य कबोल गरेको नेसनल लाइफ इन्स्योरेन्सलाई आफ्नो सेयर बेच्न पाकिस्तानी बैंक हबिब सहमत भएको छ । 

हिमालयन बैंकका सिइओ अशोक राणा भन्छन्– 
नेसनल लाइफ इन्स्योरेन्स संस्थापक भएका कारण स्वाभाविक हकदार थियो । उसले गरेको कबुल रकम बढी छ । त्यसमा हबिब सहमत भयो । नेसनलसँग कारोबार गर्न अघि बढ्ने हबिबले जानकारी गराएको छ ।

गत ३० जेठमा हबिबले प्रतिकित्ता न्यूनतम एक सय १२ रुपैयाँ आठ पैसाका दरले दुई करोड ८० लाख १२ हजार चार सय ४७ दशमलव ४५ कित्ता सेयर बिक्रीमा राखेको थियो । सबैभन्दा बढी कबोल गर्ने नेसनल लाइफ इन्स्योरेन्सलाई सेयर बेच्न हबिब सकारात्मक रहेको सन्देश पठाएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । 

उनले भने, ‘नेसनल लाइफ इन्स्योरेन्स संस्थापक भएका कारण स्वाभाविक हकदार थियो । उसले गरेको कबुल रकम बढी छ । त्यसमा हबिब सकारात्मक देखियो । नेसनलसँग कारोबार गर्न अघि बढ्ने हबिबले जानकारी गराएको छ ।’ नेसनलले हबिबको पूरै सेयर प्रतिकित्ता ११८.८८ रुपैयाँमा खरिद गर्ने भन्दै आवेदन दिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रतिकित्ता एक सय १५ रुपैयाँका दरले दुई लाख ५० हजार कित्ता मात्रै सेयर किन्न निवेदन दिएको थियो । अर्का एकजना व्यक्तिलले २५ लाख कित्ता सेयरका लागि निवेदन दिएका थिए । ती व्यक्तिले प्रतिकित्ता एक सय १६ रुपैयाँका दरले मूल्य तिर्ने प्रस्ताव गरेका थिए । बढी मूल्यमा नेसनल लाइफले सेयर किन्ने भएपछि उसको दाबीलाई हबिबले स्विकारेको हो । 

गत ३० जेठमा हिमालयन बैंकले पाकिस्तानको हबिब बैंकको स्वामित्वमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको थियो । नेपाल राष्ट्र बैंकले पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था गरेको छ । प्रतिकित्ता एक सय १२ रुपैयाँ आठ पैसा मूल्य तोकी बिक्रीमा राखिएको यस्तो सेयरमा संस्थापन सेयरधनीले आवेदन दिने समय १ साउनसम्म राखिएको थियो । म्यादसम्म संस्थापक सेयरधनीले आवेदन नदिएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बेच्न पाउने व्यवस्था छ । सोही व्यवस्थाको दुरुपयोग गर्दै सबै संस्थापकलाई सेयर किन्नबाट रोकेर हिमालयन रि–इन्स्योरेन्समा लगानी गर्ने मुख्य समूहले हिमालय बैंकको सो सेयर हत्याउने प्रयास गरेको थियो । उक्त समूहले पुँजीगत लाभकरसमेत छल्ने गरी सेयर हत्याउने प्रयास गरेको थियो । तर, नेसनल लाइफले सेयर खरिदमा आवेदन गरेपछि उक्त समूहको प्रयास विफल भएको हो । 

अब नियामकीय व्यवस्थाअनुसार सेयर खरिद–बिक्रीका प्रक्रियाहरू अघि बढ्नेछ । ‘खरिद र बिक्री गर्ने कार्यमा उहाँहरू नै सक्रिय हुनुपर्नेछ । त्यसमा बैंकले सहजीकरण गरिदिनेछ,’ उनले भने, ‘अब नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड नेपाल र नेपाल बिमा प्राधिकरणका नियामकीय व्यवस्थाअनुसारका प्रक्रिया अघि बढ्नेछन् ।’ आगामी सेप्टेम्बरसम्ममा सेयर खरिद–बिक्रीको काम सम्पन्न हुने अनुमान गरेको उनले बताए । हालसम्म हिमालयन बैंकमा संस्थापक र साधारण सेयर गरेर १.२५ प्रतिशत नेसनल लाइफको स्वामित्व कायम छ । हबिबको सेयर किनेपछि यो बैंकमा नेसनल लाइफको १४.१८ प्रतिशत स्वामित्व कायम हुनेछ । हबिब र नेसनल लाइफ सेयर खरिद–बिक्रीमा सकारात्मक भएसँगै दीपक भट्ट र शंकर अग्रवाल आबद्ध रहेको हिमालयन रि–इन्स्योरेन्स समूहको सेटिङ भत्किएको छ । यद्यपि, अरू निकायमा सेयर खरिद–बिक्रीको प्रक्रिया बाँकी रहेकाले त्यसमा पनि हिमालयन रि–इन्स्योरेन्स समूहले चलखेल गर्ने जोखिम उत्तिकै रहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।
 

सुझावित समाचार