बागमतीको मुख्यमन्त्रीमा गरे बानियाँले दाबी

मन्त्री टुंग्याउन कांग्रेस र एमाले आन्तरिक छलफलमा

मंगलबार, २० साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । कांग्रेस र एमालेबाट संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले सोमबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् ।

एमाले बागमती प्रदेश दलका नेता जगन्नाथ थपलियासहित कांग्रेस एमालेबाट यसअघि मन्त्रीहरूको साथमा नेता बानियाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनले संविधानको धारा १६८ (२)अनुसार आफूसँग बागमती प्रदेश सभामा रहेका बहुमत सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका छन् ।

११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख छ । बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन भए पुग्छ । यसअघि संविधानको धारा १६९ को उपधारा (१)को खण्ड (क) बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबारबाट लागू हुने गरी मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार दिउँसो २ बजेसम्मको समय दिएका थिए ।

बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाएसँगै मंगलबार नै सरकारले पूर्णता पाउने सम्भावना छ । सत्तासाझेदार दलहरू कांग्रेस र एमाले सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सकेसम्म मंगलबार मन्त्रीहरूको नाम टुंग्याउने तयारी गरिरहेको जनाएको छ ।

कांग्रेस दलका नेता बानियाँले आफूहरू आन्तरिक तयारीमा जुटिसकेको बताए । उनले पार्टीका सबै साथीहरूको सल्लाह सुझाव र प्रदेशको आवश्यकताका आधारमा मन्त्रीको टुंगो लगाउने दाबी गरे । ‘मन्त्रीका विषयमा हामी छलफलमै छौँ, शपथअघिसम्म टुंगो लाग्छ,’ उनले भने, ‘पार्टी नेतृत्व र साथीहरूसँग छलफल चलिरहेको छ । सबैको सल्लाह, सुझाव र प्रदेशको आवश्यकताका आधारमा मन्त्रीको नाम टुंग्याउँछौँ ।’

एमाले पनि सरकारमा जाने मन्त्रीहरूको नाम टुंग्याउन आन्तरिक छलफलमा जुटेको छ । एमाले बागमती प्रदेश दलका नेता जगन्नाथ थपलियाले पार्टीबाट मन्त्री बन्नेहरूको विषयमा छलफल चलिरहेको जानकारी दिए । उनले केही पुराना र केही नयाँलाई समेटेर मन्त्री बनाउने स्पष्ट पारे । ‘एमालेको भागमा परेका सबै ६ जना मन्त्रीको नाम टुंग्याउने चरणमा छौँ । अहिले छलफल चलिरहेको छ । शपथ लिनुभन्दा अघि सबैको नाम टुंग्याइसक्छौँ,’ उनले भने, ‘एमालेबाट केही मन्त्रीहरू दोहोरिने सम्भावना छ । केही नयाँलाई समेट्ने तयारी छ ।’ 

दाबी पेस गरेपछि बानियाँले 
भने– मन्त्रीहरूको विषयमा हामी छलफलमै छौँ, शपथअघिसम्म टुंगो लाग्छ । पार्टी नेतृत्व र साथीहरूसँग छलफल चलिरहेको छ । सबैको सल्लाह, सुझाव र प्रदेशको आवश्यकताका आधारमा मन्त्रीको नाम टुंग्याउँछौँ ।

See More On

सुझावित समाचार