सकियो माओवादी बैठक : उच्चपदस्थ नेताको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोगको माग

फेरि जनतामा जान्छौँ : प्रचण्ड

मंगलबार, २१ साउन, २०८२
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल माओवादीले सार्वजनिक पदधारक तथा उच्चस्पदस्थ नेताहरूको सम्पत्ति छानबिनका लागि अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । शुक्रबार सुरु भएर सोमबार सम्पन्न माओवादी स्थायी समिति बैठकले उच्चस्तरीय आयोग गठन गर्न माग गरेको हो ।

‘जहाँ सरकार, त्यहाँ व्यापक भ्रष्टाचार अहिले पर्यायवाची बनेका कारण आमजनतामा चुलिँदो आक्रोशलाई बैठकले गम्भीर रूपमा लिन्छ । भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्दै, सार्वजनिक पदधारक तथा उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्न यो बैठक माग गर्दछ,’ निर्णयमा छ । 

भ्रष्टाचार आरोप लागेका मन्त्रीहरूमाथि छानबिन गर्न पनि बैठकले माग गरेको छ । ‘सरकारकै मन्त्रीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहँदासमेत छानबिनको प्रयत्न नगिर्नुबाट सुशासनप्रति राज्यको जवाफदेहिता शून्य भएको पुष्टि गरेको छ । सरकारका सुशासनविरोधी कदमको विरोध गर्दै आरोपित मन्त्रीहरूमाथि छानबिन गर्न बैठक माग गर्दछ,’ माओवादीले भनेको छ ।

सरकारले भूमाफिया तथा बिचौलियाहरूको स्वार्थमा भूमिसम्बन्धी विधेयक ल्याउने षड्यन्त्र भइरहेकोमा माओवादीले गम्भीर आपत्ति जनाएको छ । उखु किसानलाई दिइँदै आएको अनुदानमा गरिएको ५० प्रतिशत कटौतीको बैठकले विरोध गरेको छ । किसानलाई तत्काल न्याय दिन पनि माग गरेको छ । 

सहकारी ठगहरूलाई कारबाही गर्नुको साटो सत्तानिकट व्यक्तिहरूलाई संरक्षण गर्ने र पीडितहरूका पक्षमा प्रभावकारी कार्य नगर्ने सरकारी रबैयाको बैठकले भत्र्सना गर्दै पीडितहरूको बचत रकम फिर्ता गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । 

माओवादीले शिक्षा विधेयकमा भएको ढिलाइप्रति आपत्ति जनाएको छ । माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ । ‘नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ । छिट्टै वार्तासमिति बनाएर अगाडि बढ्ने कुरा भएको छ,’ उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने ।

फेरि जनतामा जान्छौँ : प्रचण्ड 
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि जनतामा जाने बताएका छन् । ‘फेरि एकचोटि जनतामा जाने र देशमा अहिले देखापरेका विसंगतिको अन्त्यका निम्ति आन्दोलन गर्ने निर्णय भएको छ,’ बैठकपछि उनले भने । बैठकले अझ सुदृढ एकताको साथ सबैखाले गुटबन्दी, समूहबद्धता अन्त्य गर्ने संकल्प लिएको पनि उनले बताए । ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरणका निम्ति, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति जुन पार्टीले नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ र पार्टी एकताबद्ध भएको छ । हामीले सामूहिक प्रतिबद्धता गरेका छौँ । हामी अझ सुदृढ एकताको साथ सबैखाले गुटबन्दी, समूहबद्धता अन्त्य गर्ने संकल्प लिएका छौँ,’ प्रचण्डले भने । 

See More On

सुझावित समाचार