भारतको नोएडामा भएको म्याट्रिक्स फाइटनाइट (एमएफए) १७ मा इतिहास रचेर बान्टमवेट च्याम्पियनको उपाधि जितेका नेपालका रवीन्द्र ढाँट सोमबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रवीन्द्रलाई स्वागत गर्न सयौँ उनका समर्थक पुगेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा उनलाई समर्थकहरूले बधाई दिने प्रयास गरेका थिए ।
कडा सुरक्षाकर्मीका कारण समर्थकहरू उनका नजिकसम्म पुग्न सकेनन् । एमएफए १७ जित्ने पहिलो नेपाली फाइटर बनेका रवीन्द्रले शनिबार राति भएको फाइनलमा भारतका प्रसिद्ध फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा हराउँदै उपाधि हात पारेका थिए । उनले कोरेनलाई निर्णायक कम्बिनेसन प्रहारपछि टिकेओका आधारमा स्तब्ध पारेका थिए । फाइनल खेलमा भारतका अनुभवी कोरेनविरुद्ध कुनै पनि समयमा डर नलागेको र रिङभित्र छिरेपछि जित्ने आत्मविश्वास आएको रवीन्द्रले सञ्चारकर्मीलाई बताए ।
‘खेल्नका लागि रिङमा छिरेपछि डर भन्ने कुरा हुँदोरहेनछ । भित्र छिरेपछि जुध्ने हो । विपक्षीविरुद्ध अन्तिमसम्म लड्ने हो । जसरी नि उसलाई ढाल्ने हो भन्ने सोचले गएको थिएँ,’ खेलको समीक्षा गर्दै उनले भने ।
राम्रो नतिजा निकाल्ने योजना
सुदूरपश्चिमको बझाङमा जन्मेका र हुर्केका रवीन्द्रले राज्यको विषयमा केही प्रतिक्रिया नदिने बताए । ‘अहिले सरकारको विषयमा केही भन्दिनँ,’ उनले भने, ‘समग्र देशवासीले मलाई यति धेरै माया गर्नुभएको छ ।’ उनले आगामी दिनमा पनि अझै योभन्दा धेरै राम्रो खेल्नुपर्ने बताए । ‘यहाँ विमानस्थलमा यत्रो माया गर्ने दर्शक हुनुहुन्छ । दर्शक र फ्यानका लागि अझै धेरै राम्रो गर्न मन छ,’ हर्षित हुँदै उनले भने, ‘देशवासीका लागि मैले अझै योभन्दा धेरै राम्रो गर्न आश्यक छ ।’ रवीन्द्रले आफ्ना व्यावसायिक रेकर्ड ८–१ मा सुधार गरेका छन् ।