बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईँलाई २५ लाख धरौटीमा छाड्न आदेश

सोमबार, १९ साउन, २०८२
डिजिटल संस्करण
बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईँलाई २५ लाख धरौटीमा छाड्न आदेश

फाइल तस्बिर

तीनकुने घटनाका मुख्य योजनाकारसमेत रहेका दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले बैकिङ कसुर मुद्दामा धरौटीमा रिहा गर्ने आदेश दिएकाे छ। सिआइबी प्रवक्ता एसपी युजराज खड्काले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको बताए।

उच्च अदालत पाटनकाे वाणिज्य इजलाशका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अनुसार मुद्दा अघि बढाएको थियो। बैकिङ कसुर तथा सजाय ऐन, ०६४ को दफा ८ मा कसैले पनि कर्जा दुरुपयोग गर्न नहुने व्यवस्था छ।

उक्त दफामा भनिएको छ, ‘कसैले पनि बैङ्क वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्नु वा गराउनु हुँदैन।’

राउन्ड ट्रिपिङ र लेयरिङ गरी कर्जा अपचलन गरेको दाबी, घटना विवरण कागज गर्नेहरुले गरेको कागज, सहप्रतिवादीहरुले गरेको बयान, छानबिन समितिको प्रतिवेदनलगायतलाई आधार मान्दै अदालतले अहिले नै प्रसाईं निर्दोष छन् भन्न सकिने अवस्था नरहेको जनाएको छ।

सुझावित समाचार