सिराहाको धनगढीमाई नगरपालिकाको थटियामा खानेपानी आयोजना सञ्चालनमा आएको छ । थटिया गाउँदेखि उत्तरतर्फ रहेको आयोजना स्थलपरिसरमा जीर्ण रहेको सोलार प्लान्ट मर्मत, विद्युत् ट्रान्सफर्मर खरिद र जडानपछि तत्कालका लागि दुईमध्ये एक बोरिङ सञ्चालन गरी पानी वितरण थालिएको राजविराजस्थित खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख विश्वनाथप्रसाद यादवल बताए । खडेरीका कारण खानेपानी अभाव भइरहेका वेला आयोजना सञ्चालनले चार सय घरपरिवारलाई राहत भएको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण महतोले बताए ।
आव ०७०/७१ देखि सुरु गरिएको यो खानेपानी आयोजनाको ०८० को दसैँमा विद्युतीय ट्रान्सफर्मर नै चोरी भएको थियो भने खानेपानी तथा ढल निकास विभागको बजेटमा जडान गरिएको सोलार प्लान्टसमेत जीर्ण बन्दै गएका वेला डिभिजनको थप बजेटमा खानेपानी आयोजना सञ्चालन हुँदा खडेरीमा सहज भएको धनगढीमाई– १२ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताए ।
उनका अनुसार आयोजनाअन्तर्गत १२–१२ इन्चको दुई थान बोरिङ, २५० घनमिटर क्षमताको ओभरहेड ट्यांकी, कार्यालय र आवास भवन निर्माण गरिएको छ । धनगढीमाई– ९, चैनपुरस्थित ‘धनगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’मार्फत १४ वर्षअघि थालिएको आयोजना सञ्चालनका लागि धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।
आव ०६८/६९ देखि थालिएको खानेपानी आयोजना अलपत्र रहेको र खडेरीले संकट बढ्न थालेपछि वडा कार्यालयको बजेटमा खन्ने र पुर्ने तथा डिभिजनले उपलब्ध गराएको पाइप बिछ्याउने काम भइरहेको वडाध्यक्ष प्रकाश योञ्जनले बताए ।
उनका अनुसार वडाअन्तर्गत पर्ने चैनपुर, मुसहर्निया, महुवा डाँडा र जिरोमाइलसम्म वडाको बजेटबाट पाइप बिछ्याउने लक्ष्य छ । आयोजना सुरु भएको १४ वर्षको अवधिमा आयोजना स्थलको बाउन्ड्री, साढे चार लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण, बोरिङ, विद्युतीकरणका लागि पोलिङसहितको काम गरिएको समितिका सकिल अख्तरले बताए । त्यस्तै, करिब आठ वर्षदेखि अलपत्र रहेको धनगढीमाई– १३, भोर्लेनीस्थित विष्णुपुरकट्टी खानेपानी सरसफाइ उपभोक्ता समितिअन्तर्गतको खानेपानी आयोजना सञ्चालनका लागि पाइप बिछ्याउने काम भइरहेको वडाध्यक्ष सूर्यमान तामाङले बताए ।
बिजुली अनियमित, पानीका लागि जेनेरेटरको भर
लामो समयदेखिको खडेरीले मध्य बर्खामा गाउँमा रहेका चापाकल, धारामा पानी सुक्न थालेपछि सिराहाको गोलबजार नगरपालिका– १०, चोहर्वा कुर्मीटोलका बासिन्दा छिमेकीको जेनेरेटरले तानेको पानीको भर पर्न बाध्य भएका छन् । खडेरीका वेला पानीको स्रोत सुक्न थालेसँगै पानीको अभाव हुन थालेपछि स्थानीय करिब ३७ वर्षीय कमलेश रायले आफ्नै घरको जेनेरेटरले पानी तानेर गाउँका करिब डेढ सय घरधुरीलाई खुवाउन थालेका छन् ।
‘गाउँमा खानेपानीको चापाकल, इनारमा समेत पानी सुक्न थालेपछि आफ्नै प्रयोजनका लागि निजी खर्चमा गाडेको बोरिङको पानी तानेर गाउँलेलाई खुवाउन थालेको छु,’ उनले भने, ‘हरेक दिन बिहान–बेलुका तीन–तीन घण्टा जेनेरेटर चलाएर पानी वितरण गरिरहेको छु ।’ बिजुली नियमित हुँदा हरेक घरमा रहेको विद्युतीय मोटरबाट पानी तानेर काम चलाउन सकिने भए पनि बिजुली नै अनियमित भएकाले समस्या चर्किंदै गएको उनले बताए । ‘बिजुली आए पनि भोल्टेज नपुग्ने हुनाले दैनिक करिब एक हजार पाँच सय रुपैयाँ खर्च गरेर किनेको डिजेल हालेर खानेपानीका लागि जेनेरेटर चलाउँदै आएको छु,’ उनले भने ।