दरबन्दीअनुसार प्रहरी नियुक्त नहुँदा आन्तरिक सुरक्षा र व्यवस्थापनका काम प्रभावकारी भएनन्

शुक्रबार, ९ साउन, २०८२
डिजिटल संस्करण

काठमाडाैंभन्दा २६ वर्गकिलोमिटर ठुलो क्षेत्रफल भएको विराटनगर महानगरपालिकाले प्रहरी परिचालनमा चासो नदिँदा व्यवस्थापन समस्या कायमै  छ। दरबन्दीअनुसार नगर प्रहरी नियुक्त नहुँदा आन्तरिक सुरक्षा र व्यवस्थापनका काम प्रभावकारी हुन सकेका छैनन् । १९ वटा वडा र ७६.९९ वर्गकिलोमिटर  क्षेत्रफल भएको विराटनगर महानगरमा ५० हजार घरधुरी छन् भने दुई लाख ५० हजार मानिसको बसोबास छ । तर, महानगरमा हाल एक प्रहरी निरीक्षकसहित  १८ जना मात्र नगर प्रहरी कार्यरत छन् । कम्तीमा नगर प्रहरीका लागि ४८  जनाको दरबन्दी आवश्यक भए पनि महानगरले पदपूर्तिमा चासो देखाएको छैन । 

रिक्त नगर प्रहरीका पदहरूमा नियुक्तिका लागि नौ महिनाअघि सूचना प्रकाशित गरेको भए पनि विराटनगर महानगरले ३५ जनाको प्रहरी थप गर्न चाहेन । जसले गर्दा विज्ञापन खुलेको  महिनौँ भइसक्दा पनि हालसम्म नियुक्ति प्रक्रिया अघि नबढ्दा आवेदन दिनेहरू आक्रोशित बनेका छन्। ३० असोज ०८१ मा ३५ जना नगर प्रहरी जवान माग गर्दै सूचना प्रकाशित गरेको महानगरपालिकाले हालसम्म निर्णय प्रक्रिया अगाडि बढाएको छैन।  १५ दिने सूचना आह्वान गरेपछि ४९८ जनाले नगर प्रहरीका लागि आवेदन गरेका थिए । तर,  आवेदन परे पनि ती आवेदनहरू ‘पत्र बाकस’मै थन्किएका छन् । सीमित नगर प्रहरीले मात्र काम गरिरहनुपर्दा  महानगरको आन्तरिक सुरक्षादेखि अवैध उत्खनन नियन्त्रणसम्मका काम ठप्पजस्तै छन्।

जनशक्ति अभावका कारण नगर प्रहरीले दिनहुँका नियमित जिम्मेवारीहरूसमेत सम्हाल्न नसक्ने अवस्था छ । त्यसमाथि सिंघिया र केसलिया खोलामा दिनहुँ व्यापक बालुवा र माटो तस्करी भइरहेको पाइन्छ। ठेक्का प्रक्रिया अघि नबढ्दा राज्यले राजस्व गुमाइरहेको छ भने तस्करीका कारण पर्यावरणीय जोखिम पनि बढेको छ। अर्कोतर्फ फुटपाथ व्यवस्थापन, फोहोरमैला नियन्त्रणका लागि निगरानी  र अधिकांश वडा डुबानमा पर्ने विराटनगरमा विपतमा उद्धार कार्य पनि प्रभावकारी हुन पाएको छैन। सँगै आन्तरिक ट्राफिक व्यवस्थापन, पुरातात्त्विक स्थानहरूको सुरक्षा, छाडा चौपाया र अव्यवस्थित व्यापार नियन्त्रणलगायत धेरै काम महानगरमा सन्तोषजक रूपले हुन पाएको छैन। महानगरमा प्रहरी थप्न चासो नदेखाएपछि विराटनगरवासीले  ‘स्थानीय सरकारको चरम असक्षमता’को संज्ञा दिएका छन्।

नियुक्त्ति प्रक्रिया अगाडि नबढेपछि विराटनगर महानगर प्रहरीमा भर्ना हुन आवेदन दिनेहरू पनि आक्रोशित बनेका छन् । उनीहरू  भन्छन्, ‘पाँच सयजनाले आवेदन दिँदा पनि प्रक्रिया अघि नबढाउनु भनेको प्रशासनिक इच्छाशक्तिको अभाव हो । यस्तो गैरजिम्मेवार व्यवहारले शासनप्रति जनविश्वास गुमाउने खतरा बढाउँछ।’

यदि नगर प्रहरी पर्याप्त जनशक्ति र स्रोतसाधनसहित परिचालित भएमा ठुला समस्या सजिलै नियन्त्रण गर्न सकिने नगर प्रहरी प्रमुख इन्स्पेक्टर राजन पौडेल बताउँछन् । ‘हामी अहिले भएका १८ जनाले मात्र जेनतेन टालटुल काम मात्रै गर्दै आएका छौँ, विराटनगरवासीले चाहेजस्तो सुरक्षा र व्यवस्थापनको सेवा दिन सकिरहेका छैनौँ,’ इन्स्पेक्टर पौडेलले भने। 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आन्तरिक आम्दानीमा कमी आएकाले  नियुक्ति प्रक्रिया अगाडि बढाउन  नसकेको बताए। उनले भने, ‘अघिल्लो  वर्ष ६७ करोड आन्तरिक आम्दानी थियो, तर गत वर्ष झन् घटेर साढे ५३ करोडमा सीमित भयो, यस्तो अवस्थामा थप नगर प्रहरी नियुक्ति प्रक्रिया अगाडि बढ्न सक्दैन ।’ तर, उनले  आन्तरिक आम्दानी बढेर अवस्था सहज भएसँगै प्रक्रिया अघि बढाउने बताए । 

ब्यारेक नहुँदा सास्ती : मनोरञ्जन पार्कमा कष्टकर बास 
व्यवस्थित ब्यारेक नहुँदा दैनिक सक्रिय ड्युटीमा खटिँदै आएका विराटनगर महानगरका  प्रहरीहरूले वर्षौँदेखि  सास्ती भोग्दै आएका छन् । विराटनगरको फुटपाथ र चौपाया नियन्त्रणदेखि विपत् व्यवस्थापन, अवैध उत्खनन र फोहाेरमैला व्यवस्थापनमा सक्रिय रूपले खटिँदै आएका महानगरका नगर प्रहरीहरूले ब्यारेक अभावमा वर्षौँदेखि सास्ती भोग्दै आइरहेका हुन्। 

ब्यारेक अभावले गर्दा हाल महानगर प्रहरीहरू मनोरञ्जन पार्कको साँघुरो काउन्टरमा बस्न बाध्य छन् । हाल उनीहरू विराटनगरको सहिदमैदाननजिकै रहेको सभागृहभित्रको फाउन्टेन पार्कको साँधुरो टिकट काउन्टरमा बस्ने गर्छन्। व्यवस्थित ब्यारेक अभावमा नगर प्रहरीले आफूले प्रयोग गर्ने साधनहरू सडकमै पार्किङ गर्नु परिरहेको छ 

सुझावित समाचार