बिहारमा दर्दनाक कथा बुन्दै भारतीय निर्वाचन आयोग

डिजिटल संस्करण
  • अझै पनि निर्वाचन आयोगले वास्तविकतालाई स्वीकार गर्नुपर्छ र जनतामाथि विशेष व्यापक पुनरावलोकनको प्रयोग तुरुन्त अन्त्य गर्नुपर्छ 

हामी पटनामै थियौँ, जब भारतीय निर्वाचन आयोगले विशेष व्यापक पुनरावलोकन (सर) सम्बन्धी आफ्नो प्रति–शपथपत्र दायर गरेको खबर सञ्चारमाध्यममा आयो । त्यसै दिन हामीले बिहारका १९ जिल्लाबाट आएका करिब दुई सय ५० सर्वसाधारण सहभागी भएको जनसुनुवाइ आयोजना गरेका थियौँ । सहभागीमध्ये धेरैजसो ग्रामीण क्षेत्रका महिला थिए । केहीले कावरिया र परीक्षा दिन आएका भिडसँगै खचाखच रेलयात्रा गरेका थिए । थकित उनीहरू कुर्सीमै असहज रूपमा निदाउँदै बसेका थिए । करिब तीन दर्जनले पूर्वन्यायाधीश अञ्जना प्रकाशलगायत विशिष्ट प्यानलसमक्ष आफ्ना अनुभव सुनाएका थिए ।

त्यो साँझ आयोगको प्रति–शपथपत्र पढ्दा दिनभर सुनेका कथासँग कुनै मेल देखिएन । आयोगको भाष्य काल्पनिक कथाझैँ लाग्थ्यो, जबकि जमिनी यथार्थ निकै कठोर र पीडादायी थियो । कटिहारकी कृषि मजदुर फूलकुमारी देवीसँग फोटो, मतदाता परिचयपत्र र आधार कार्ड मागिएको थियो, जुन तीनै आयोगकै नियमअनुसार अनावश्यक थिए । उनले फोटो र फोटोकपी बनाउने खर्च जुटाउन चामल बेच्नुपर्यो, अर्थात् भोकै बसिन् र दुई दिनको ज्याला गुमाइन् ।

करिब ६० वर्षकी सुमित्रादेवी सहरसाबाट आएकी थिइन् । उनलाई आफ्ना दिवंगत आमाबुबाका कागजात, साथै जात वा वासस्थान प्रमाणपत्र बुझाउन भनियो, नत्र ‘सरकारका मान्छे’ हुने अधिकार गुमाउने चेतावनी दिइयो । उनले जात प्रमाणपत्रका लागि तीन सय रुपैयाँ खर्च गरिसके पनि अझै पाएकी छैनन् । सहरसाकै गोविन्द पासवानसँग पासबुक र जग्गा प्रमाण मागिएको थियो, यद्यपि दुवै सन् २००३ को मतदाता सूचीमा थिए र कागजात आवश्यक थिएन । धेरै बिचौलियाले गरिबबाट फारम भर्नकै लागि सय रुपैयाँसम्म असुलेका थिए ।

कसैको माइती नेपाल परेको अवस्थामा सन् २००३ को मतदाता सूचीबाट अभिभावकको नाम खोजेर प्रमाण झिक्नु निकै कठिन र कतिपय अवस्थामा असम्भव थियो । यस्तोमा ‘प्रवासी श्रमिकले इसिनेट एपबाट फारम भर्ने’ कुरा मजाकजस्तै लाग्दो रहेछ । जनसुनुवाइमा प्रस्तुत तीव्र सर्वेक्षणमा बिहारबाहिरका २३५ प्रवासीमध्ये एकतिहाइले ‘सर’को नामै सुनेका थिएनन् र सुनेकामध्ये झन्डै ७५ प्रतिशतलाई चाहिने कागजातबारे थाहा थिएन । केवल १० प्रतिशतले मात्र अनलाइन फारम बुझाउने घोषणाबारे सुनेका थिए ।

अब निर्वाचन आयोगको ‘आधिकारिक कल्पना’ र जमिनी यथार्थबिचको अन्तर एक उदाहरणमार्फत हेरौँ । सर आदेशको मार्गनिर्देशन ३(ख) अनुसार मतदान अधिकृतले प्रत्येक घरमा गई, मतदाताको विवरण प्रिन्ट गरिएको फारम दिन र भराउन सहयोग गर्नुपर्ने थियो । तर, यो निर्देशनका ६ वटै बुँदामा आयोगका ६ वटा झुट देखिन्छन् । पहिलो, मतदान अधिकृतले घरघर जानुपर्ने थियो, तर समय अभाव र आदेशका कारण धेरैले त्यसो गरेनन्, बरु मतदाता नै मतदान अधिकृतलाई खोज्दै हिँडे । दोस्रो, फारम मतदान अधिकृतले दिनुपर्ने भए पनि सहरी क्षेत्रमा अख्तियारी नभएका कर्मचारीले वितरण गरे । तेस्रो, प्रिन्ट गरिएको व्यक्तिगत विवरणसहितको फारम दिनुपर्नेमा धेरैलाई खाली फारम दिइयो । चौथो, सूचीमा भएका सबै मतदातालाई फारम दिनुपर्ने भए पनि सबैले पाएनन् । पाँचौँ, दुई प्रति फारम दिनुपर्नेमा अधिकांशलाई एक प्रति मात्र दिइयो, अर्थात् प्रमाणविनै फारम बुझाउनुपर्यो । छैटौँ, मतदान अधिकृतले सहयोग गर्नुपर्ने भए पनि जानकारी, स्रोत र समयको अभावमा गर्न सकेनन् । यसरी विषय व्यवहारमा लागू हुन सकेनन् र सिंगो प्रक्रिया अव्यवस्थित रह्यो । वरिष्ठ पत्रकार अजित अन्जुमले क्यामेरामै सरको सबैभन्दा ठुलो धोखाधडी उजागर गर्ने थुप्रै भिडियो प्रतिवेदन सार्वजनिक गरिसकेका छन्, जहाँ गणना फारम मतदाताको सहमति वा जानकारीविनै भरिएको देखियो । 

हामीले यस्ता प्रक्रिया उल्लंघनका थुप्रै घटना देख्यौँ । कहिले परिवारका सदस्यले बाहिर गएका व्यक्तिको नाममा हस्ताक्षर गरे, कहिले मतदान अधिकृतले ‘तपाईंको फारम त बुझाइसकियो’ भने, जबकि व्यक्तिले फारम देख्न वा हस्ताक्षर गर्नसमेत पाएका थिएनन् । केही घटनामा त मतदाताले निर्वाचन आयोगको वेबसाइटमै हेर्दा उनीहरूको फारम त पहिल्यै बुझाइएको रहेछ, जसले गर्दा नयाँ फारम बुझाउनै नसकिने भन्ने थाहा पाए । निर्वाचन आयोगले ९८.०१ प्रतिशत सफलताको दर दाबी गरे पनि कम्तीमा एकचौथाइ वा त्योभन्दा बढी फारम यस्ता धोखाधडीका श्रेणीमा पर्न सक्छन् ।

यी कुनै अपवाद वा ठुला अभ्यासमा हुने सामान्य रूपमा देखिने कार्यगत त्रुटि मात्र होइनन् । ‘सर’को भ्रम र अराजकता यसको संरचनामै गाढा रूपमा गाभिएको छ । तपाईंले यति ठुलो अभ्यासलाई २४ घण्टा पनि नपुग्ने सूचना दिएर सुरु गर्नुहुन्छ, तपाईंले स्रोतहीन र थाकिसकेको प्रशासनिक संयन्त्रलाई चार हप्ताभित्र थुप्रै काम सम्पन्न गर्न आदेश दिनुहुन्छ र आठ करोड जनतालाई त्यस्ता कागजात माग्नुहुन्छ, जुन उनीहरूसँग नहुन सक्छ भन्ने कुरा तपाईंलाई थाहा हुँदाहुँदै त्यसको परिणाम के नै आउला र ? बिहारभरि देखिएका नियम र मापदण्डहरूको नांगो उल्लंघन र नक्कली कागजात यही अभ्यासको पूर्वनिर्धारित नतिजा हुन् । मतदान अधिकृत र अन्य प्रशासनिक कर्मचारीलाई दोष दिनु व्यर्थ छ, किनभने उनीहरू पनि सर्वसाधारण नागरिकसरह नै यस प्रक्रियाका पीडित हुन् । सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगकै हो । अझ पनि ढिलो भइसकेको छैन, आयोगले वास्तविकतालाई स्वीकार गर्नुपर्छ र जनतामाथिको यो प्रयोग तुरुन्त अन्त्य गर्नुपर्छ । पटनामा सम्पन्न जनसुनुवाइको समापन ‘सर’लाई पूर्ण रूपमा रद्द गर्नुपर्ने सर्वसम्मत आह्वानसाथ भएको थियो ।

(स्वामी भारत जोडो अभियानकी बिहार संयोजक हुन्, शास्त्री र यादव अभियानको राष्ट्रिय टोलीसँग सम्बद्ध छन्) 
द इन्डियन एक्सप्रेसबाट

सुझावित समाचार