बाँकेमा खडेरीले अझै खेत बाँझो, रोपेको धानखेतमा पनि धाँजा

बिहिबार, ८ साउन, २०८२
डिजिटल संस्करण

धान रोप्ने समय घर्किसक्यो। तर, बाँके डुडुवा गाउँपालिका– ४ का शालिकराम यादवले अझै धान रोप्न सकेका छैनन्। वर्षाको आशैआशमा आधा साउन पनि जान थालेपछि उनी बोरिङको सहायतामा धान रोप्ने तरखरमा छन्।

‘धान रोप्न अझैँ बाँकी छ। पानी नपाउँदा रोपेको धानखेतमा धाँजा परेको छ। खेतको ब्याड सुक्दै गएको छ,’ उनले सुनाए। डुडुवा गाउँपालिका–४, मुन्डापुर्वाका पुत्तन बागवानको धानखेतमा पनि धाँजा परेको छ। रोपेको धानखेतमा धाँजा परेपछि उनले आधा खेतमा रोपाइँँ नै गर्न पाएका छैनन्।

बोरिङको सहायतामा गरिएको धान रोपाइँ पनि सुक्न थालेको छ। रोपाइँँ गरेको धानखेतमा धाँजा फाटेको नरैनापुर गाउँपालिका–६, गंगापुरका विक्रम यादवले बताए। ‘जसोतसो गरी धान रोप्यौँ, तर पानी नपाएर रोपेको धान सुक्न थालेको छ,’ उनले भने।

मोटर र बोरिङको सहायतामा रोपेको धानखेतमा धाँजा परेको खजुरा गाउँपालिका– २ बलइपुरका भीम ओलीले बताए। ‘रोपेको धान बढ्नुको साटो सुक्दै गएको छ। खेतमा जाने हो भने विरक्त लाग्छ,’ उनले भने।

नेपालगन्ज उपमहानगरपालिका तथा बैजनाथ, कोहलपुर, जानकी र राप्तीसोनारी गाउँपालिकाका धानखेतमा समेत धाँजा परेको किसानले गुनासो गरेका छन्। ‘धानखेत हरियो हुनुको साटो पहेँलो हुँदै गएको छ,’ बैजनाथ गाउँपालिका १ च्यामाका रामविलाश चौधरीले बताए।

बाँकेमा ३५ हजार हेक्टरमा धानखेती हुने गरेकामा ७३.५ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए। बोरिङ र केही भागमा सिक्टा सिँचाइको नहरको पानीले धान रोपाइँ गरिएको बताउँदै उनले सिँचाइ सुविधा नरहेको खेतमा रोपेको धान सुक्न थालेको बताए। ‘सिँचाइ पुगेको खेतमा समस्या छैन, तर अकासे पानीको भर पर्नुपर्ने ठाउँमा रोपेको धान सुक्न थालेको छ,’ उनले भने।

सुझावित समाचार