पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ लेख्दा दरबारका पूर्वसचिव १० घण्टा प्रहरीको नियन्त्रणमा

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्री ५ को सरकार तथा श्री ५ महाराजधिराज उल्लेख गरी विज्ञप्ति जारी गर्ने गरेकोमा दरबारमा पूर्वसचिव फणिराज पाठकलाई प्रहरीले १० घण्टा नियन्त्रणमा लिई माफी मगाएर छाडेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई शुक्रबार बिहान ९ बजे पक्राउ गरेकोमा साँझ ७ बजे रिहा गरेको हो । 

पाठकले पूर्वराजा ज्ञानेन्द्रका विभिन्न कार्यक्रमको विषयमा विज्ञप्ति जारी गर्दै आएका थिए । त्यसमा शाहलाई श्री ५ को सरकार उल्लेख गरिन्थ्यो । संविधानप्रतिकूल हुने गरी बारम्बार त्यसो गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए । ‘अबदेखि त्यस्तो नगर्ने र यसअघि त्यसरी जारी गरिएको विज्ञप्ति पनि सामाजिक सञ्जालबाट हटाउने सर्तमा रिहा गरिएको छ,’ एसपी बोहराले भने । पाठकले फेसबुकबाट विगतमा जारी गरिएका सबै विज्ञप्तिहरू हटाइसकेका छन् । 

पछिल्लोपटक गत २३ असारमा पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको अवसरमा पाठकले विज्ञप्ति जारी गरेका थिए । उनी दरबारका पूर्वसंवाद सचिव हुन्। 

गत १४ वैशाखको संसदमा बोल्दै एमाले सांसद ठाकुर गैरले यो विषय उठाउँदै पाठकमाथि कारबाहीको माग गरेका थिए । संसदमा उठेको विषयलाई समेत आधार बनाएर पाठकलाई पक्राउ गरी त्यस विषयमा सोधपुछ गरी कानुनी कारबाहीको चेतावनी दिएर प्रहरीले छाडेको हो । 
 

सुझावित समाचार