बाढी प्रभावित रसुवाको रसुवागढी र टिमुरे क्षेत्रमा तीनवटै सुरक्षा निकायका एक हजार सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी पीडितको उद्धार, बेपत्ताको खोजी र भत्किएको सडकलाई पदमार्ग बनाउन खटिएको रसुवाका सिडिओ अर्जुन पौडेलले बताए ।
पहिरोले क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक खुलाउन सडक विभागमातहतका निकाय पनि परिचालन भएका छन् । ‘पहिरो र बाढीले सडक बगाउँदा हिँड्न पनि नमिल्ने अवस्था छ, पदमार्ग बनाएर स्थानीयलाई आवतजावतमा सहजीकरण गर्ने काम भइरहेको छ,’ सिडिओ पौडेलले भने, ‘सडकको ट्र्याक खुल्न भने अझै ८–१० दिन लाग्न सक्ने इन्जिनियरहरूले बताउनुभएको छ ।’
सुरक्षाकर्मीले अलपत्र ६३३ स्थानीयलाई पैदलमार्गमार्फत बुधबार र बिहीबार उद्धार गरेर गन्तव्यमा पुर्याएका छन् । बिहीबार टिमुरेबाट स्याफ्रुबेँसी जाने १३४ र स्याफ्रुबेँसीबाट टिमुरे जाने नौ गरी १४८ लाई गन्तव्यमा पुर्याइएको सहायक सिडिओ द्रुवप्रसाद अधिकारीले बताए । बुधबार ४८५ लाई गन्तव्यमा पुर्याइएको थियो । १७ किलोमिटर स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको १५ ठाउँमा एक हजार एक सय मिटर सडक क्षतविक्षत भएको छ । रसुवागढी र टिमुरेमा तीन दिन अवरुद्ध विद्युत् र टेलिफोन सेवा भने बिहीबार बिहान ११ बजेबाट नियमित भइसकेको उनले बताए ।
अधिकारीका अनुसार गत मंगलबारको बाढीले चीनको तिब्बततर्फ प्रभावित भएका ९१ नेपाली केरुङमा छन् । उनीहरूलाई चिनियाँ अधिकारीहरूले बसोबासको व्यवस्थापन गरेका छन् । भोटेकोशीको सहायक नदी ल्हेन्देमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये नौजनाको शव फेला परे पनि अझै १९ जना हराइरहेका छन् । उनीहरूको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।