साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाललाई अवसर

२७ असारदेखि ५ साउनसम्म हुने च्याम्पियनसिपमा भारत सहभागी नभएपछि नेपालको मुख्य प्रतिद्वन्द्वी बंगलादेश

सोमबार, २३ असार, २०८२
डिजिटल संस्करण
साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाललाई अवसर

सातदोबाटोको एन्फा कम्प्लेक्समा साफ यू–२० महिला च्याम्पियनसिपको तयारी गर्दै खेलाडी

बंगलादेशमा साफ यू–२० महिला फुटबल च्याम्पियनसिप हुँदै छ । २७ असारदेखि ५ साउनसम्म हुने साफ च्याम्पियनसिपमा नेपालको उमेर समूहको टोलीले प्रतिस्पर्धा गर्नेछ । सिनियर महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिविहीन भएको अवस्थामा उमेर समूहले त्यसको खडेरी पूरा गर्ने लक्ष्य राखेको छ । बंगलादेशमा यसै साताबाट सुरु हुने च्याम्पियनसिपमा नेपालसमक्ष उपाधि जित्ने अवसर पनि छ । यसपटक नेपालको मुख्य चुनौती नै आयोजक बंगलादेश रहनेछ । पाकिस्तान र भारतले प्रतियोगितामा सहभागिता नजनाउँदा जुनियर महिला टोलीले उपाधि जित्न अवसर प्राप्त गरेको हो । 

१० दिनसम्म बंगलादेशमामा चल्ने प्रतियोगितामा आयोजकसहित नेपाल, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । चार टोली मात्र रहेको च्याम्पियनसिपमा नेपाल र बंगलादेशलाई उपाधि दाबेदार राष्ट्रका रूपमा हेरिएको छ । भारतको अनुपस्थितिमा नेपालले फाइदा लिन सक्नेछ । उपाधि जित्ने लक्ष्यका साथ खेलाडीहरूले तयारी गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–२० महिला टोलीको तयारी र प्रशिक्षण अन्तिम अवस्थामा पुगेको जनाएको छ । 

अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधिको खडेरी तोड्ने लक्ष्यका साथ एन्फाले महिलातर्फको उमेर समूहलाई बलियो बनाउँदै गएको छ । यसपटक छनोटमा उमेर समूहबाट घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अन्तिम स्वरूप दिइएको छ । महिला फुटबलमा एन्फाले त्यति धेरै लगानी नगरे पनि बंगलादेशले पछिल्लो समयमा उमेर र सिनियर समूहमा उल्लेखनीय प्रगति गरेको छ । बंगलादेशले महिला फुटबलमा ठुलो लगानी गरेको छ । यसको प्रतिफल पनि अन्तर्राष्ट्रिय खेलमा देखिएको छ । गत वर्ष काठमाडौंमै भएको सिनियरतर्फको महिला साफ च्याम्पियनसिपमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि हात पारेको थियो । 

डेढ महिनाको तयारी
एन्फाले यू–२० महिला टोली बनाउन लगभग ४५ दिन तयारी गरेको छ । एन्फाले टोली बनाउन सुर्खेत, झापा र काठमाडौंमा खेलाडी छनोट गरेको थियो । पहिलो चरणमा ६० खेलाडी क्लोज क्याम्पमा राखिएको थियो । क्याम्पमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरी अहिले एन्फाले २३ सदस्यीय टोलीलाई बंगलादेशमा प्रतिस्पर्धा गराउनेछ । ‘यसपटक टोली बनाउन प्रदेशबाट खेलाडी छनोट गरेका थियौँ,’ मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले भने, ‘खेलाडी छनोटदेखि टोली बनाउन ४५ दिनको समय पायौँ ।’

यो डेढ महिनामा निरन्तरता रूपमा प्रशिक्षणमा रहँदा टोली बलियो भएको गुरुङको भनाइ छ । ‘हामीले डेढ महिनाभित्रमा यो टोली बनाएका छौँ, यसले राम्रो नतिजा निकाल्ने विश्वास छ,’ उनले भने । भारत प्रतियोगितामा सहभागी नभएको अवस्थामा बंगलादेश वा नेपालमध्ये एक विजेता बन्ने उनले बताए । यसपटकको टोलीमा साफ यू–१९ महिला च्याम्पियनसिप खेलेका खेलाडीकै बाहुल्य छ । टोलीमा नयाँ तीनजना खेलाडी रहेका छन् । एन्फाले यू–१५ र यू–१७ समूहका उत्कृष्ट खेलाडीलाई पनि समेटेको छ । 

साबिक विजेता बंगलादेश बलियो
साफ च्याम्पियनसिपमा सर्वाधिक बलियो राष्ट्र बंगलादेश हो । बंगलादेशले अहिलेसम्म पाँचमध्ये चार संस्करणको उपाधि जितेको छ । बंगलादेशले सन् २०१८, ०२१, ०२३ र ०२४ मा उपाधि जितेको छ । यसपटक बलियो मानिएको नेपाल दुईपटक उपविजेता भएको छ । सन् २०१८ र ०२३ मा नेपाल फाइनलसम्म पुगेको थियो । नेपाल र बंगलादेशले सर्वाधिक पाँचपटक सहभागिता जनाउँदै छन् । चारपटक सहभागी भुटानले तीनपटक चौथो स्थान हात पारेको छ । भुटानले सन् २०१८, ०२३ र ०२४ मा चौथो स्थान रक्षा गरेको थियो । श्रीलंका सन् २०२१ मा समूह चरणबाटै बाहिरिएको थियो । यू–२० साफ च्यासिम्पयनसिपमा सर्वाधिक अंक बटुल्ने टोली नै विजेता बन्ने आयोजकले जनाएको छ । 

चार टोलीबिचको दोहोरो राउन्ड रोबिन खेलमा प्रत्येक टोलीले एकआपसमा दुईपटक खेल खेल्नेछ । नेपालको मुख्य प्रतिद्वन्द्वी नै आयोजक बंगलादेश हुन सक्छ । बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपलाई एएफसी यू–२० महिला एसियन कपको छनोटको तयारी पनि हो । भुटानले २ देखि १० अगस्टसम्म एएफसी यू–२० महिला एसियन कपको छनोट खेल आयोजना गर्दै छ । एसियन कप छनोटको समूह ‘ए’मा नेपालले उत्तर कोरियासँगै भुटान, मंगोलिया र साउदी अरेबियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सुझावित समाचार