भारी वर्षाका कारण धनगढी दिनभर डुबानमा, जनजीवन अस्तव्यस्त

दुई सय ५४ घरमा पानी पस्यो, एक हजार परिवार प्रभावित

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण

भारी वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्र सोमबार दिनभर डुबानमा परेको छ । वर्षाले धनगढीका अधिकांश भूभाग जलमग्न बने । वर्षा र डुबानका कारण यहाँका बासिन्दाको जनजीवन दिनभर अस्तव्यस्त बन्यो । जिल्ला प्रशासन कार्यालयका अनुसार वर्षाबाट धनगढीमा करिब एक हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयले अविरल वर्षाका कारण बस्तीहरू जलमग्न हुँदा नगरभरि दुई सय ५४ घरमा पानी पसेको विवरण संकलन गरेको छ ।

आवतजावतमा असहज भएपछि सोमबार यहाँका अधिकांश विद्यालय सञ्चालन हुन सकेनन् । धनगढी बजार आंशिक रुपमा मात्र खुल्यो । अविरल वर्षाले जलमग्न भएपछि सेती प्रादेशिक अस्पताल तथा मालपोत, नापीलगायत कार्यालयका सेवा प्रभावित बने । मुख्य बजारको रातोपुल, क्याम्पस रोडलगायत क्षेत्रका केही पसलहरू डुबानमा परेका थिए । प्राय: निकै व्यस्त रहने धनगढी बजार क्षेत्रमा दिनभर मानिसको आवतजावन न्यून थियो । वर्षा र डुबानका कारण गोदावरी नगरपालिकामा पनि स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

धनगढी उपमहानगरपालिकाभित्र मात्रै करिब एक हजार घर वर्षाले प्रभावित बनेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वर्षा रोकिएसँगै साँझ अधिकांश ठाउँको डुबान हटेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढीमा घर डुबानमा परेपछि दुई परिवारलाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए । ‘धनगढीमा हजारभन्दा बढी घरमा पानी पसेको थियो । वर्षा रोकिएपछि डुबान हटेर जनजीवन सामान्य बन्न थालेको छ,’ उनले भने । वर्षाले धनगढी उपमहानगर र गोदावरी नगर क्षेत्र बढी प्रभावित बनेको जोशीले बताए ।

गोदावरीमा करिब साढे चार सय घरधुरी डुवानका कारण प्रभावित बनेका प्रशासनले जनाएको छ । कञ्चनपुरमा पनि कृष्णपुर, बेलौरी, पुनर्वास, लालझाँडीमा पनि भारी वर्षा भएर जनजीवन प्रभावित बनेको थियो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा अव्यवस्थित सहरीकरण, खोलानाला अतिक्रमण र निकासको व्यवस्था नहुँदा बर्खायाममा डुबानको समस्या बढ्दो छ । अविरल वर्षाका कारण आइतबार मुख्य बजार क्षेत्रसँगै हसनपुर, तारानगर, जाई, शिवनगर, क्याम्पस रोड, मनेहरालगायत क्षेत्रका कयौँ बस्ती जलमग्न बनेका थिए ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार अत्तरिया क्षेत्रमा पछिल्लो २४ घण्टामा २३८.६ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरको बेलौरीमा सो अवधिमा २७९.४ मिलिमिटर वर्षा मापन भएको कार्यालयका प्रमुख इन्जिनियर सञ्जय शाहले जानकारी दिए । ‘यो अति भारी वर्षा हो । चुरे क्षेत्रमा यति वर्षा भएको भए ठुलो समस्या निम्तिन सक्थ्यो,’ उनले भने । बेलुकीबाट वर्षा रोकिएको र थप वर्षा नहुने मौसम पूर्वानुमान रहेको उनले बताए । कार्यालयका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

See More On

सुझावित समाचार