एसिसी यू–१६ इस्ट जोन कप : ३७० रनको फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

नेपालले दिएको ४२१ रन पछ्याएको इन्डोनेसिया २४.३ ओभरमै ५० रनमा समेटियो

सोमबार, १६ असार, २०८२
डिजिटल संस्करण

साबिक विजेता नेपाल लगातार तेस्रो जित निकाल्दै एसिसी यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको सेलांगोर टर्फ क्लबमा नेपालले कमजोर प्रतिद्वन्द्वी इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित निकाली अन्तिम चारको स्थान पक्का गरेको हो । नेपालको कीर्तिमानी जितमा एक शतकसहित तीन अर्धशतकीय योगदान रह्यो । 

इन्डोनेसियाविरुद्ध प्रसिद्ध जैसीले शतक, रौनक श्रीवास्तव, परिमार्जन यादव र जोय थापाले अर्धशतकीय इनिङ्स खेलेका थिए । ब्याटिङसँगै नेपालले बलिङमा पनि उत्तिकै कसिलो प्रदर्शन गरेको थियो । कप्तान विपिनप्रसाद शर्माले बलिङतर्फ सर्वाधिक ६ विकेट हात पारे । पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२० रन बनाएको थियो । प्रत्युत्तरमा कप्तान विपिनले घातक बलिङ गरेपछि इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै समेटिँदा नेपाल ३७० रनले विजयी भयो । 

समूह ‘ए’मा तीन खेलबाट नेपालले सर्वाधिक ६ अंक जोडेको छ । यस समूहबाट इन्डोनेसिया बाहिरिएको छ । तीन खेलमा २ अंक जोडेको इन्डोनेसिया चौथो स्थानमा रह्यो । नेपालले आफ्नो समूहमा सिंगापुरलाई पाँच विकेट र जापानमाथि ९ विकेटको जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानको सामना गर्नेछ । नेपालको यो जितसँगै सिंगापुरले पनि अन्तिम चारमा स्थान पक्का गरेको छ । अब, नेपालले समूह ‘बी’को एक टोलीसँग सेमिफाइनल खेल्नेछ । समूह ‘बी’मा हङकङले सेमिफाइनल स्थान पक्का गरिसकेको छ । यस समूहबाट मलेसिया र थाइल्यान्डबिच एक टोली अन्तिम चारमा पुग्नेछ । 

इन्डोनेसिया ५० रनमै अलआउट 
ब्याटिङ पिचमा इन्डोनेसियाले ४२१ रनको विशाल लक्ष्य पाएको थियो । इन्डोनेसियाले पहिलो विकेटका लागि ९.४ ओभरमा २३ रनको साझेदारी गरेको थियो । इन्डोनेसियाले बाँकी नौ विकेटका लागि स्कोर बोर्डमा केवल २७ रन मात्र जोड्यो । ९.४ ओभरमा पहिलो विकेट पतन भएको इन्डोनेसियाले सबै विकेट २४.३ ओभरमा गुमाएको थियो । इन्डोनेसियाले स्कोर बोर्डमा ४१ रन चढाउँदा पाँच विकेट गुमायो । 

इन्डोनेसियाका लागि कविन निरजले सर्वाधिक १५ र दिभित नन्दाले १४ रन बनाए । चार खेलाडी डकआउट भएका थिए । नेपालका लागि कप्तान विपिनप्रसादले ७.३ ओभरमा दुई मेडनसहित १२ रन खर्चिएर ६ विकेट लिएका हुन् । सुगम बुढाथोकी र सुभम खनालले समान एक विकेट लिए । इन्डोनेसियाका दुई खेलाडी रनआउट भएका थिए । 

प्रसिद्धको शतकीय योगदान
इन्डोनेसियाको खराब बलिङको फाइदा उठाउँदै ओपनर प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र एक छक्कासहति १३२ रनको योगदान दिए । चौथो नम्बरमा ब्याटिङ गरेका रौनकले ७१ बलमा आठ चौका र दुई छक्कासहित ८८ रन जोडे । आक्रामक ब्याटिङ गरेका ओपनर परिमार्जन यादवले २८ बलमा आठ छक्का र चार चौकासहित ७१ रन बटुले । जोय थापाले ४१ बलमा सात चौकाको मद्दतले ५७ रन र सुगम बढाथोकीले अविजित ३९ रनको योगदान दिए ।

प्रसिद्ध र परिमार्जनले पहिलो विकेटका लागि ९.३ ओभरमा १३० रनको साझेदारी गरेका थिए । प्रसिद्धले रौनकसँग तेस्रो विकेटका लागि १३६ बलमा १४८ रनको साझेदारी गरे । नेपालले प्रसिद्धलाई गुमाउँदा ३४.४ ओभरमा २९९/३ को अवस्थामा थियो । त्यसपछि सुगम बुढाथोकी र जय थापाबिच पाँचौँ विकेटका लागि ७४ रनको साझेदारी भएको थियो ।

सुझावित समाचार