एसइईमा​​​​​​​ जिपिए ४ ल्याउने विद्यार्थी संख्या ९७१

२३ असारभित्र पुनर्योग, २९ साउनदेखि मौका परीक्षा

शनिबार, १४ असार, २०८२
डिजिटल संस्करण

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजाअनुसार नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी (२,७१,२९९ जना) ‘ग्रेड’ ल्याउन सफल भएका छन् । ‘ग्रेड’ ल्याएका विद्यार्थी कक्षा ११ मा भर्नाका लागि योग्य मानिन्छन् । 

नियमित परीक्षामा सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३८.१८ अर्थात् एक लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेडेड भएका छन् । सहभागीमध्ये १२६ परीक्षार्थीको परीक्षा भने रद्द भएको बोर्डले जनाएको छ । ७ चैत ०८१ देखि १९ चैतसम्म सञ्चालन भएको परीक्षाको नतिजामा गत वर्षभन्दा १३.९५ प्रतिशत सुधार देखिएको छ । गत वर्ष ४७.८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । 

जिपिए ४ ल्याउने विद्यार्थी संख्या ९७१

एसइईमा सबैभन्दा उच्च अंक जिपिए ४ ल्याउने विद्यार्थी संख्या करिब एक हजार छ । नतिजाअनुसार जिपिए ४ ल्याउने विद्यार्थी संख्या ९७१ छ । परीक्षा दिएका विद्यार्थीका आधारमा पनि उच्च स्कोर ल्याउने यो संख्या उत्कृष्ट मानिन्छ । गत वर्ष बोर्डले उच्च जिपिए ल्याउने विद्यार्थीको अंक सार्वजनिक गरेको थिएन । 

गणितमा सबैभन्दा बढी कमजोर 
विषयगत रूपमा सबैभन्दा धेरै विद्यार्थी गणितमा ननग्रेडेड भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एक लाख २८ हजार २१५ विद्यार्थीले गणितमा ननग्रेडेड अंक पाएका छन् । गत वर्ष पनि गणित विषयमै सबैभन्दा धेरै ननग्रेडेड संख्या थियो । ‘यसपालि पनि गणितमा विद्यार्थी कमजोर देखिए,’ बोर्ड अध्यक्ष शर्माले भने । उनका अनुसार गणितपछि अंग्रेजीमा ८० हजार ६७२ जना, विज्ञानमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र अतिरिक्त गणितमा १८ हजार २२२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । 

कुन प्रदेशमा नतिजा कस्तो ? 
बोर्डका अनुसार परीक्षामा सबैभन्दा धेरै सहभागी बागमती प्रदेशका विद्यार्थी थिए । जसमा एक लाख १९ हजार ५१७ सहभागी भएकोमा २० हजार ९४६ जना ननग्रेडेड भएका छन् । त्यस्तै, कोशी प्रदेशबाट ४७ हजार ८३५ विद्यार्थी सहभागी रहेकोमा २३ हजार ६३१ विद्यार्थी ननग्रेडेड भएका छन् । त्यस्तै, मधेश प्रदेशबाट ५९ हजार ७४९ विद्यार्थी सहभागी रहेकोमा ४२ हजार ७७९ विद्यार्थी ननग्रेडेड भएका छन् । 

गण्डकी प्रदेशबाट एसइईमा सहभागी हुने विद्यार्थी संख्या ४७ हजार ८४९ थियो । जहाँ ११ हजार ३२८ विद्यार्थी ननग्रेडेड भएका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशबाट ५७ हजार ६८७ विद्यार्थी सहभागी रहेकोमा २८ हजार २७४ विद्यार्थी ननग्रेडेड भएका छन् । कर्णाली प्रदेशबाट ४६ हजार ४५५ विद्यार्थी सहभागी रहेकोमा १३ हजार ७६५ विद्यार्थी ननग्रेडेड भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी सहभागी थिए भने २६ हजार ८७४ जना ननग्रेडेड भएका छन् । 

२३ असारभित्र पुनर्योग, २९ साउनदेखि मौका परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडेड विद्यार्थीका लागि २९ साउनदेखि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । ननग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । त्यस्तै, बोर्डले एसइईको नतिजामा चित्त नबुझेमा २३ असारभित्र पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गरेको छ । आफूलाई शंका वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन् । 

सामुदायिक र निजीको तथ्यांक भएन सार्वजनिक 
बोर्डले उत्तीर्ण हुनेमध्ये सामुदायिक र निजीका कति विद्यार्थी भन्ने तुलनात्मक तथ्यांक सार्वजनिक गरेको छैन । गत वर्ष पनि बोर्डले यस्तो सूचना सार्वजनिक गरेको थिएन । बोर्डका अध्यक्ष शर्माले केही दिनमा तुलना र मूल्यांकन गरिने बताए । 

See More On

सुझावित समाचार