पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिँदै अदालतले भन्यो– पत्रकारिताको नियमनकारी निकाय काउन्सिल

बिहिबार, ५ असार, २०८२
डिजिटल संस्करण

उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकको निषेधाज्ञाको निवेदनमा अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ।

पत्रकारिता क्षेत्रको नियमन गर्न प्रेस काउन्सिल कियाशील रहेको उल्लेख गर्दै न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबारकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

यसअघि न्यायाधीश ऋषि राजभण्डारीको इजलासले पाठकमाथि धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो।

पाठकले पेस गरेको कागजातबाट उनी लामो समयदेखि पत्रकारितामा संलग्न रहेको, इन्टरफेस नेपाल नेटवर्क कम्पनीको रूपमा दर्ता भएको ट्रेडमार्क दर्ता प्रमाणपत्र लिएको एवं सूचना तथा प्रसारण विभागबाट अनलाइन सञ्चारमाध्यमको रूपमा समेत दर्ता भई अनुमति लिएको देखिएको आदेशमा उल्लेख छ।

सञ्चारमाध्याम वा पत्रकारले सम्प्रेषण गरेको सामग्रीबाट मर्का पर्ने व्यक्तिले काउन्सिलमा उजुरी दिन सक्ने तथा उजुरीउपर काउन्सिलले छानबिन र कारबाही गर्न सक्ने व्यवस्था स्मरण गराउँदै आदेशमा भनिएको छ, ‘...निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू/नगराउनू...।’

सुझावित समाचार