तुलसी सहकारीका अध्यक्ष शर्मासहित तीनजना दोषी ठहर : सहकारी संकटमा परेपछि सचिवसमेत रहेकी पत्नी सविनासँग सम्बन्धविच्छेद गरेका थिए शर्माले

आज सजाय निर्धारण हुने

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

सहकारीको रकम अपचलन मुद्दामा विराटनगरमा केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित तीनजना दोषी ठहर भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको आइतबारको इजलासले शर्मासहित सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई दोषी ठहर गरेको हो । अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास यसअघि नै पुर्पक्षका लागि थुनामा थिए । यसअघि थुनछेक बहसमा धरौटीमा रिहा भएका उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईले भने सफाइ पाएका छन् ।

दोषी ठहर भएकाको सजाय आज सोमबार निर्धारण हुने अदालतका सूचना अधिकारी हेम बुढाथोकीले बताए । तुलसी सहकारी ठगीमा फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा मुल्तबीमा राखिएको छ । उनीहरू अदालतमा उपस्थित भएपछि मुल्तबी जगाएर मुद्दाको प्रक्रिया सुरु गरिने मोरङ अदालतले जनाएको छ ।

तुलसी सहकारी ठगी आरोपमा अध्यक्ष शर्मासहित आठजनालाई प्रतिवादी बनाएर १२ चैत ०७९ मा मुद्दा दायर भएको थियो । ०५२ मा दर्ता भएको तुलसी सहकारीको स्वामित्व ०७२ मा केदारनाथले खरिद गरेका थिए । तुलसीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा पनि शाखा सञ्चालन गर्दै आएको थियो । शर्मा समूहले आकर्षक ब्याजको प्रलोभनमा सर्वसाधारणबाट बचत संकलन गरी अनधिकृत रूपमा आफ्नो कम्पनीमार्फत खर्च गरेको थियो । सर्वसाधारणको एक अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको तुलसी सहकारीले ४१ करोड ६३ लाख ९५ हजार रुपैयाँ अध्यक्ष शर्माका ६ वटा कम्पनीलाई ऋण लगानी गरेको थियो । 

सुझावित समाचार