बुटवल–नारायणगढ सडक खण्डको अवरुद्ध तीनै स्थानबाट एकतर्फी सवारीसाधन चल्न थाले

शनिबार, १८ जेठ, २०८२
डिजिटल संस्करण

दुई दिनअघि परेको पानीले अवरुद्ध पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको तीनवटै स्थानबाट एकतर्फी सवारी साधन सञ्चालन हुन थालेको छ । बिहीबार परेको पानीले चोरमाराको गिरुवारी खोला, दुम्किबासको विनयी खोला र दाउन्नेको खुर्सानी खोला क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।

बिहीबार रातिदेखि अवरुद्ध चोरमारा र दाउन्ने क्षेत्रको सडक शुक्रबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको थियो भने दुम्किबास क्षेत्रमा डाइभर्सन निर्माणपश्चान शनिबारबाट सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा दुम्किबासबाट बर्दघाट वा बर्दघाटबाट दुम्किबाससम्म आउने सवारीसाधान १२ घण्टासम्म जाममा परेका थिए । शुक्रबार त्रिवेणीबाट सदरमुकाम कावासोती आउन हिँडेका त्रिवेणीका पदम रानाले बर्दघाटबाट कावासोती आउँन र कावासोतीबाट बर्दघाट फर्कन १२ घण्टा लागेको बताए ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढको बाटो अहिले यात्रुलाई सधैं सास्ती हुने बाटो बनेको छ । झण्डै ६ बर्षमा अलकति राहात महशुष हुने गरि काम भए पनि पछिल्लो समय पुरानो पुल एक पछि अर्काे भाँचिन थाले पछि यस बर्ष पनि बर्षामा सास्ती हुने भएको छ ।

पुर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिदा स्थानीयलगायत सवारीचालक र यात्रुहरूले सास्ती भोग्दै आएका छन् ।

गत २६ पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुल र २९ वैशाखमा होङ्सी सिमेन्ट कम्पनीको १८ चक्के टेलर पास हुँदा पुल भाँचिएको थियो । पुल भाँचिएपछि डाइभर्सनमार्फत गाडी आवत जावत हुँदै आएको छ । 

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यसवर्ष निर्माण कम्पनीले दाउन्नेको सडक कालोपत्रे वा ढलान गर्ने छनक नदेखाएको बताए । उनका अनुसार निर्माण कम्पनीले काम गर्छु गर्छु भन्ने तर काम  तिव्रता देखिएको छैन । यही कारण हल्का पानी पर्नासाथ दाउन्नेको उकालोमा सवारीसाधन उक्लनै नसक्ने स्थिति छ । 

दुम्किबासको विनयी खोलाको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउन कम्तिमा एक महिना लाग्ने अवस्था छ । यहाँ पुल नबन्दासम्म डाइभर्सन नभत्कने गरी बनाउन लगाएको भए पनि सम्भव नभएको पाण्डेले बताए ।

गिरुवारी खोलामा पुरानै पुललाई मर्मत गरेर सञ्चालन गर्ने तयारी गरिएको छ । जुन अझै कम्तिमा १५ दिन लाग्ने सडक आयोजनाले जनाएको छ । त्यसैगरी दुम्किबासको विनयी खोलामा भने नयाँ पुल निर्माण सकिने अवस्थामा छ । 

दुम्किबासको नयाँ पुल चाइना स्टेट कम्पनीले बनाइरहेको छ भने दुम्किबासमै डाइभर्सनको काम भने सडक आयोजनाले गरेको छ । चोरमाराको पुरानो पुल मर्मत सडक आयोजनाले गर्दैछ भने नयाँ पुल चाइना स्टेट कम्पनीले गर्दैछ ।

चाइना स्टेट कम्पनीका बुटवल–नारायणगढ सडक पूर्वी खण्डका इन्जिनियर राकेश झाले दुम्किबासको पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउन कम्तिमा एक महिना लाग्ने बताए । उनका अनुसार ढिलोमा असार मसान्तसम्म दुम्किबासको पुल सञ्चालनमा ल्याउने तयारी छ । 

दाउन्नेमा पूर्वी खण्डमा रहेको नौ किलोमिटर सडकमध्ये करिब चार सय मिटर मात्र ढलान भएको छ । उनका अनुसार अब ६ सय मिटर ढलान गर्ने तयारी छ । दाउन्ने खण्डमा यसबाहेक अन्य ढलान वा कालोपत्रेको काम यस वर्ष हुन नसक्ने झाले बताए ।

दुम्किवासस्थित विनयी खोलाको पुल पनि भाँचिएको हुनाले गिरुबारीको पुल निर्माण गर्ने स्रोतसाधन विनयी खोलामा लगाउनु पर्दा गिरुबारीको नयाँ पुल निर्माणमा ढिलाई भएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । 

बुटवल नारायणगढ सडक खण्डमा अहिलेसम्म भौतिक प्रगति ६७ प्रतिशतका हाराहारीमा पुगेको छ ।

सुझावित समाचार