शेखर–गगनबिचको संवादहीनता टुट्यो, ११ महिनापछि भयो छलफल

सरकारको कार्यसम्पादन कमजोर हुँदा कांग्रेसलाई घाटा भइरहेको र क्षति व्यहोर्नुपर्ने चिन्ता

शनिबार, १८ जेठ, २०८२
डिजिटल संस्करण
शेखर–गगनबिचको संवादहीनता टुट्यो, ११ महिनापछि भयो छलफल

शुक्रबार विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा कांग्रेस महामन्त्री गगन थापा

कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिचको ११ महिनादेखिको संवादहीनता अन्त्य भएको छ । कोइराला भेट्न थापा शुक्रबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालय पुगे । यसअघि मन्त्री छनोट गर्दा (गत असार) भेट भएको थियो ।

शेखर र गगन बैठकको निष्कर्ष सौहार्दपूर्ण र सहकार्यमा अगाडि बढ्ने रहेको नेताहरूले बताएका छन् । पौने घण्टा छलफल भएको भेटमा पार्टी र सरकारको समीक्षा भएको भेटमा सहभागी सांसद सञ्जय गौतमले बताए । ‘राष्ट्रिय राजनीतिमा देखिएका घटनाक्रमहरूको विषयमा पनि छलफल गर्यौँ । यसले पार्ने प्रभावहरू र आउन सक्ने सम्भाव्य विषयमा पनि समीक्षा भयो,’ उनले भने ।

गौतमका अनुसार संसद् नै अवरुद्ध हुने गरी उठिरहेको भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो । ‘भिजिट भिसा प्रकरणबारे नेताहरूले चिन्ता व्यक्त गरेका थिए । यो घटनाक्रम आउनु राम्रो भएन । पार्टीको छविका लागि पनि राम्रो होइन भन्ने उहाँहरूको धारणा थियो,’ गौतमले भने । बैठकमा बजेटको पनि समीक्षा भएको थियो । ‘सांसदहरूले मागेका योजना परे कि परेनन् भन्ने विषयमा कुराकानी भयो । यहाँनेर पार्टी र सरकारबिच ग्याप भयो भन्ने थियो,’ उनले भने ।

सरकारको अपजसको भारी कांग्रेसले पनि बोक्नुपर्ने भन्दै नेताहरूले सरकार प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गरेका थिए । ‘कांग्रेस सरकारमा छ । यसको प्रभावकारिता भएन भने त सबैभन्दा धेरै घाटा कांग्रेसले व्यहोर्नुपर्छ भन्ने कुरा छ,’ गौतमले भने, ‘प्रभावकारिता बढाउनुपर्छ । असफल हुने छुट छैन, गल्ती गर्ने छुट छैन भन्ने कुरा भयो ।’

सांसद गौतमले शेखर र गगनको दूरी बढाउने प्रयास जारी रहेको, तर बैठकले सहकार्यको वातावरण बनेको बताए । ‘उहाँहरूबिच दूरी बढाउने प्रयास छ । शुभेच्छुकहरू दूरी नबढोस् भन्ने चाहनुहुन्छ । हामीले पनि तपाईंहरू सँगै जानुपर्छ भन्यौँ । त्यो किसिमको सौहार्दपूर्ण वातावरण बन्यो । सँगैसँगै मिलेर जाने कुरा छ,’ उनले भने ।

१४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार कोइरालाको टिमबाट महामन्त्री निर्वाचित थापा कांग्रेस–एमाले सरकार बनेपछि सभापति शेरबहादुर देउवासँग नजिकिएका थिए । गगन सरकार सञ्चालनमा सहजीकरण गर्न गठित कांग्रेस–एमाले संयन्त्रमै बसेपछि शेखरसँग दूरी बढेको थियो । शेखर संयन्त्रको विपक्षमा थिए । संयन्त्रमा बसेर गगनले सरकारको प्रतिरक्षा गर्दा शेखरले गलत कामको निरन्तर आलोचना गर्दै आएका थिए । गगन देउवा समूहबाट आफू सभापतिको दाबेदार हुने विश्वासमा थिए ।

तर, देउवाले बिपी पुत्र शशांकलाई अनौपचारिक, तर रणनीतिक रूपमा सात भाइ पूर्वपदाधिकारीको अभियानका रूपमा अगाडि सारेपछि गगन झस्किएका थिए । त्यसमा पनि पछिल्लो समय संयन्त्रमा आफ्नो कुरा सुनिन छाडेपछि गगनले पनि सरकारको आलोचना गर्न थालेका थिए । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन नहुने धारणा राख्दै आएका गगनलाई थाहै नदिई बर्खास्त गरेपछि उनी संयन्त्रको बैठकमा जान छाडेका थिए ।

शुक्रबार नै देउवासँग भेट
कांग्रेस महामन्त्री एवं क्रियाशील सदस्यता समितिको संयोजक गगन थापाले शुक्रबार नै सभापति शेरबहादुर देउवासँग भेटेर पार्टीको अनुशासन समितिमा परेका उजुरी र क्रियाशील सदस्यता वितरण विवादबारे छलफल गरेका छन् । अनुशासन समितिमा थन्केर बसेका विषयलाई अघि बढाउने विषयमा सभापतिसँग पनि कुरा भएको सांसद सञ्जय गौतमले बताए । ‘अनुशासनको एउटै मापदण्ड बनाउने, समयसीमा असार १५ भित्र उजुरी टुंग्याउने, विधानसम्मत तरिकाले जाने निष्कर्ष छ,’ अनुशासन समिति सदस्य गौतमले भने । साथै, क्रियाशील सदस्यता वितरणमा देखिएको अप्ठ्यारो फुकाएर नवीकरणको प्रक्रियालाई गति दिने निर्णय पनि भएको उनले बताए ।

त्यसअघि कांग्रेस नेता शेखर कोइरालासँगको भेटमा पनि अनुशासन समितिमा परेका उजुरी र क्रियाशील सदस्यता वितरण विवादबारे कुराकानी भएको थियो । अनुशासन समितिले एउटै मापदण्ड बनाएर उजुरी फस्र्योट गर्ने र क्रियाशील सदस्यता वितरण तथा नवीकरण विवादमा सहजीकरण गर्ने समझदारी भएको सांसद गौतमले बताए । यो समझदारीसँगै पार्टीको १५औँ महाधिवेशनको तयारी अगाडि बढ्ने बाटो खुलेको उनको भनाइ छ । 
 

सुझावित समाचार