सूर्य नेपाल च्यालेन्ज : कोर्स रेकर्डसहित शुक्रलाई उपाधि

शनिबार, ११ जेठ, २०८२
डिजिटल संस्करण

नेपालका पूर्वनम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फटुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जमा कोर्स रेकर्डसहित उपाधि हात पारेका छन् । समग्रमा १७ अन्डर दुई सय ५५ को प्रभावशाली स्कोरमा शुक्रले दोस्रो स्थानमा रहेका नीरज तामाङलाई चार स्ट्रोकले हराउँदै उपाधि आफ्नो नाममा लेखाएका हुन् । शुक्रले एमेच्योर गल्फर सद्भाव आचार्यका नाममा रहेको १५ अन्डर ५७ को रेकर्ड तोडे । सद्भावले यही सिजन सूर्य नेपाल काठमाडौं ओपनमा रेकर्ड बनाएका थिए । 

उपाधि विजेता शुक्रले एक लाख १० हजार रुपैयाँ प्राप्त गरे । उनको यो करिअरको ११औँ उपाधि हो । 

यो सिजन तीन उपाधि जितेका नीरजले समग्रमा १३–अन्डर दुई सय ५९ को स्कोर ल्याएका थिए । उपविजेता बनेका उनले ७० हजार रुपैयाँ जिते । समग्रमा आठ अन्डर दुई सय ६४ को स्कोरका साथ दिनेश प्रजापतिले तेस्रो स्थानमा प्रतियोगिता सकाए । उनले ५० हजार रुपैयाँ जिते । नेपालका नम्बर एक गल्फर समग्रमा एक अन्डर दुई सय ७१ स्कोरका साथ नवौँ स्थानमा रहेका छन् । 

सुरुवातमै तीन स्ट्रोकको अग्रता
शुक्रले दिनको सुरुवातमै तीन स्ट्रोकको अग्रता लिएका थिए । उनले दोस्रोदेखि पाँचौँ होलसम्म लगातार चार बर्डी निकाले । यो प्रदर्शनसँगै उनलाई अन्य गल्फरले चुनौती दिन सकेनन् । उनले फ्रन्ट नाइन चार अन्डर ३० स्कोर गरे । शुक्ररले ५ पारको १०औँ होलमा इगल १३औँ र १४औँ होलमा समान एक सट बचाउँदै ब्याक नाइन दुई अन्डर ३२ स्कोर गरे । नीरजले पहिलो, चौथो र पाँचौँ होलमा बर्डी प्रहार गरेका थिए । सातौँ होलको बोगी सामना गरेका उनले फ्रन्ट नाइन २–अन्डर ३२ स्कोर गरे । १०औँ होलमा इगल सामना गरेका उनले १२औँ र १८औँ होलको बर्डी प्रहार गरी ब्याक नाइनमा चार अन्डर ३० स्कोर गरे । दिनेशले फ्रन्ट नाइन एक अन्डर ३३ र ब्याक नाइन २–अन्डर ३२ मा सकाए । 

एमेच्योरतर्फ समग्रमा तीन ओभर दुई सय ७५ सहित राहुल विश्वकर्मा च्याम्पियन बनेका छन् । उनले निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । समग्रमा चार ओभर दुई सय ७८ स्कोरसहित निश्चय दोस्रो भए । चार दिनसम्म चलेको प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योरले भाग लिएका थिए । 

सुझावित समाचार