ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी १३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा संस्थाका विभिन्न शाखा तथा केन्द्रीय कार्यालयले विविध कार्यक्रम सञ्चालन गरे ।
संस्थाको केन्द्रीय कार्यालय विजयपुर, कास्कीले पोखरा महानगरपालिका–२६ मा वित्तीय साक्षरता आजको आवश्यकता विषयक अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
त्यस्तै, शाखा कार्यालय नौडाँडाले पोखरा महानगरपालिका– २४ स्थित दोपहरे आमा समूहलाई सांस्कृतिक प्रवद्र्धनका लागि जिन्सी सामग्री वितरण गरेको छ भने मनकामना, गोरखा शाखाले मनकामना मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो ।
यसका साथै अमराई, अर्घाखाँची शाखाले शुभोधिनी माविमा शैक्षिक सामग्री वितरण तथा शाखा कार्यालय महेन्द्रनगर, धनुषाले क्षिरेश्वर जनता माविमा वित्तीय साक्षरता आजको आवश्यकता विषयक अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।