पिकेके विघटनले टर्की मात्र नभई समग्र मध्यपूर्वकै लागि एक ऐतिहासिक परिवर्तनको संकेत गरेको छ
विश्वकै सबैभन्दा लामो समयदेखि चलिरहेको सशस्त्र विद्रोह एक्कासि अन्त्य भएको छ । टर्की सरकारका निकायलाई पहिलोपटक आक्रमण गरेपछि करिब चार दशकपछि कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले आफैँलाई विघटन गर्ने र हातहतियार बिसाउने निर्णय गरेको छ । यस निर्णयले टर्कीका लागि मात्र नभई समग्र मध्यपूर्वकै लागि एक ऐतिहासिक परिवर्तनको संकेत गरेको छ ।
सन् १९७० को दशकको अन्त्यतिर अहिले जेलमा रहेका अब्दुल्लाह ओजलानले स्थापना गरेको पिकेके मुख्यतया स्वतन्त्र कुर्द राष्ट्र स्थापना गर्ने लक्ष्यबाट प्रेरित थियो र यसले टर्कीमा बसोवास गर्ने कुर्द अल्पसंख्यकको राजनीतिक अधिकार सुनिश्चित गर्ने चाहनासमेत राख्थ्यो । तर, विभिन्न आन्तरिक तथा अन्तर्राष्ट्रिय कारणले गर्दा अब यसका नेताले हिंसा परित्याग गर्ने निर्णय लिएका देखिन्छन् ।
आन्तरिक राजनीतिक अवस्थाबाटै विषयमा प्रवेश गरौँ । दुई कार्यकालका राष्ट्रपति रहेका रिसेप तैयप एर्दोगानले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने इच्छा स्पष्ट पारिसकेका छन् । यसको अर्थ उनले टर्कीको संविधान संशोधन गर्नुपर्नेछ वा संसद्लाई समयअगावै निर्वाचनसम्बन्धी विधेयक पारित गर्न राजी गराउनुपर्नेछ । यी दुवै अवस्थामा सफलता प्राप्त गर्न उनलाई आफ्नो सत्तारुढ गठबन्धन (उनको जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (एकेपी) र उग्र–दक्षिणपन्थी नेसनलिस्ट मुभमेन्ट पार्टी (एमएचपी) को गठबन्धन) को क्षमताभन्दा बढी समर्थन आवश्यक पर्छ ।
टर्कीको तेस्रो ठुलो दल, कुर्द समर्थक पिपुल्स इक्वालिटी एन्ड डेमोक्रेसी पार्टी (डिइएम) ले त्यस्तो आवश्यक मत प्रदान गर्न सक्छ । संविधान संशोधनका लागि संसदीय प्रयासमा डिइएमलाई सहभागी गराउने उद्देश्यले ‘कुर्द मूलधारीकरण’का लागि बाटो खोलिएको छ, जुन टर्कीका कुर्दहरूको राजनीतिक र सांस्कृतिक अधिकारलाई विस्तार गर्ने योजनाअन्तर्गत डिजाइन गरिएको थियो । र, यसको सट्टामा पिकेकेलाई विघटन गर्ने र टर्की राज्यविरुद्धको आतंककारी अभियान अन्त्य गर्ने सहमति गरिएको थियो । पिकेकेले विघटन हुने निर्णय लिनुमा अन्तर्राष्ट्रिय घटनाक्रमले पनि ठुलो भूमिका खेलेको थियो । यी घटनाक्रमले सो समूहलाई तीव्र दबाबमा पारेको थियो । गएको डिसेम्बरमा सिरियाली राष्ट्रपति बसर अल–असद (जसले टर्कीलाई कमजोर पार्न पिकेकेलाई संयन्त्रका रूपमा प्रयोग गरेका थिए) अपदस्थ भए र नयाँ सिरियाली सत्ताबाट टर्कीलाई अस्थिर पार्ने कुर्द प्रयासलाई समर्थन मिल्ने देखिँदैन ।
अमेरिका पनि अब पिकेके सम्बद्ध समूहबाट टाढा हुँदै गएको छ, जब कि कुनै एक समय यी समूहले इस्लामिक स्टेटविरुद्धको लडाइँमा मुख्य भूमिका खेलेका थिए । पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले सिरियन डेमोक्रेटिक फोर्सेस (एसडिएफ) जस्ता अमेरिकी सहयोगी कुर्द समूहलाई लगभग विनासर्त समर्थन गरेको थियो । डोनाल्ड ट्रम्प भने अमेरिकी राष्ट्रिय हित टर्कीसँगको सम्बन्ध सुदृढ गरेर हासिल हुने विश्वास गर्छन् र यसले सिरियामा राजनीतिक स्थायित्व प्रभावकारी ढंगले हासिल हुनेमा पनि उनी विश्वास गर्छन् ।
पिकेकेको निर्णयमा प्रभाव पार्ने अन्तिम तर चर्चा कम भएको कारण भनेको टर्कीले ड्रोन प्रविधिको प्रयोग बढाउँदै सीमा सुरक्षालाई बलियो बनाएको तथ्य हो । र, टर्की सीमाभन्दा बाहिर इराकको भूमिमा समेत पुगेर वरिष्ठ पिकेके कमान्डरलाई तारो बनाएको पनि थियो । यसले पिकेकेको सञ्चालकीय तथा आपूर्ति क्षमतामा ठुलो धक्का पुर्याएकाले गर्दा विद्रोहको भविष्यबारे समूहले आधारभूत ढंगले पुनर्मूल्यांकन गरेको सम्भावना उच्च देखिन्छ । यी तमाम कारणको संयोजनले टर्कीका लागि कुर्द समस्यालाई हिंसात्मक अभियानविना समाधान गर्ने एक अवसरको ढोका खोलिदिएको छ । तर, सशस्त्र संघर्षको युगबाट शान्ति र समावेशिताको युगतर्फ सफल संक्रमण गर्न एर्दोगानको सरकारलाई दुई प्रमुख मोर्चामा उपलब्धि हासिल गर्नुपर्नेछ । पहिलो हो, पारदर्शिता । पिकेकेको लामो हिंसात्मक इतिहासले टर्की समाजमा गहिरो वैमनस्य जन्माएको छ, जुन स्वाभाविक पनि हो । त्यसैले पिकेके र टर्की सरकारबिच भएका वार्तासँग सम्बन्धित सम्झौता र लेनदेन स्पष्ट र खुला रूपमा सम्प्रेषण गर्नु अत्यन्त आवश्यक छ । उदाहरणका लागि सिरियामा रहेका पिपुल्स प्रोटेक्सन युनिट्स (वाइपिजी) सम्बद्ध समूहले पनि हातहतियार बिसाउनेछ कि छैन भन्ने प्रश्न उठ्न सक्छ । संसद् र विशेषतः प्रमुख विपक्षी दलले यो संवेदनशील प्रक्रियालाई मार्गदर्शन गर्न केन्द्रीय भूमिका निर्वाह गर्नुपर्नेछ ।
दोस्रो मोर्चा हो, लोकतन्त्र । यो ऐतिहासिक अवसर तब मात्र सफल हुन सक्छ, जब वास्तविक लोकतान्त्रिक सुधार गरिन्छन् । जसमा न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्ने र अभिव्यक्ति तथा संगठित हुने स्वतन्त्रतालाई प्रवद्र्धन गर्ने विश्वसनीय कदम पनि सामेल छन् । एर्दोगान सरकारले यस क्षेत्रमा छिटो उपलब्धि हासिल गर्न युरोपेली मानव अधिकार अदालतका हालैका फैसलाको पालना गर्न सक्नेछ, जसमा कुर्द राजनीतिक नेता सेलाहत्तिन देमिर्तासको रिहाइको माग पनि पर्छ । जेलमा रहेका पिकेकेका नेता अब्दुल्लाह ओजलानलाई रिहा गरिने हो भने सरकारले इस्तानबुलका मेयर एकरेम इमामोलु, उग्र–राष्ट्रवादी भिक्ट्री पार्टीका नेता उमित ओजदागलगायत अन्य राजनीतिक बन्दीले भोगिरहेका अवस्थाको पनि सम्बोधन गर्नु उपयुक्त हुनेछ ।
पिकेके विघटनले एक नयाँ र समावेशी टर्की निर्माण गर्ने ऐतिहासिक अवसर दिएको छ । पिकेकेको आतंकवादबाट देशले पाएको स्वतन्त्रतालाई दिगो बनाउन लोकतन्त्रलाई थप व्यापक रूपमा सुदृढ गर्नु आवश्यक छ । यस्तो पहलले टर्कीलाई मात्र नभई समग्र मध्यपूर्वमा हिंसात्मक कार्यमा संलग्न समूहलाई पनि राजनीतिक विद्रोहको अन्त्यले दीर्घकालीन र समावेशी शान्तिको बाटो खोल्न सक्छ भन्ने देखाउनेछ ।
(उल्जेन टर्कीका पूर्व–कूटनीतिक अधिकारी हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट