आदिवासी भाषा संरक्षणमा एआईको भूमिका

सोमबार, ६ जेठ, २०८२
डिजिटल संस्करण

कुनै समुदायमा मातृभाषा बोल्ने मानिसको संख्या निकै कम छ भने सो समुदायले भाषा पुनर्जीवन कसरी गर्न सक्छ ? आज उपनिवेशवाद, विश्वव्यापीकरण, सांस्कृतिक जबर्जस्ती, वातावरणीय विनाशलगायत कारणले करिब तीन हजार भाषा लोप हुने अवस्थामा छन् । क्यानडाकै उदाहरण लिऊँ, आदिवासी भाषा आयोगका अनुसार त्यहाँका सबै आदिवासी भाषा संकटमा छन् ।

यसैबिच एआईको तीव्र विकासले हाम्रो समाजलाई नयाँ दिशा दिइरहेको छ । विश्व आर्थिक मञ्चका अनुसार अधिकांश एआई च्याटबोट केवल सय भाषामा तालिम प्राप्त गर्छन् र तीमध्ये अंग्रेजी मुख्य हो । यसले हजारौँ भाषालाई बेवास्ता गर्ने खतरा निम्त्याउँछ । अब प्रश्न उठ्छ– के एआईले भाषा पुनर्जीवनमा योगदान पुर्याउनेछ वा भाषिक दमनलाई तीव्र बनाउनेछ ? सन् २०२३ को एक टेडएक्स टकमा नर्दर्न चायेनका कम्प्युटर इन्जिनियर माइकल रनिङ वुल्फले प्राचीन र आधुनिक देखिने सिडारको बाकसको डिजाइन प्रस्तुत गरेका थिए । उनले त्यसलाई ‘भाषा भएको बाकस’ भनेका थिए ।

उनले अमेजन एलेक्सा वा गुगल होमजस्ता संवादात्मक एआई प्रविधिले भाषा सिक्नेलाई आफ्नो दक्षता सुधार्न मद्दत गर्न सक्ने सुझाव दिएका थिए । ‘रनिङ वुल्फ क्वेबेक इन्स्टिच्युट फर आर्टिफिसियल इन्टेलिजेन्स’मा ‘फस्र्ट ल्यांग्वेजेज एआई रियालिटी’ पहलका प्राविधिक निर्देशक हुन् । यस कार्यक्रमले आदिवासी अनुसन्धानकर्ता र प्राविधिकलाई भाषा लोप हुने समस्यासम्बन्धी नयाँ समाधान विकास गर्न प्रेरित गर्छ ।

मेसिन लर्निङमार्फत प्रशिक्षित स्वर नियन्त्रित उपकरण ती व्यक्तिका लागि एआई सहायकका रूपमा काम गर्न सक्छन्, जो अपरिचित भाषालाई सही उच्चारणमा सुन्न र आफ्नो उच्चारण सुधार्न अभ्यास गर्न चाहन्छन् । यस्तो प्रविधिले मौखिक हस्तान्तरणलाई सहज बनाउने नयाँ उपाय स्थापना गर्न सक्छ जुन अझै केही मात्र दक्ष वक्ता बाँकी हुँदा विशेष रूपमा महत्वपूर्ण हुन्छ । रनिङ वुल्फको परियोजनाको मूलमा आदिवासी तथ्यांक सार्वभौमिकता छ जसले आदिवासी समुदायलाई उनीहरूको आफ्नै तथ्यांकमाथि पूर्ण नियन्त्रण सुनिश्चित गर्छ ।

एआई इन्जिनियर र कम्प्युटेसनल भाषाविज्ञले भाषाको विशेष सन्दर्भलाई ध्यानमा राखी सुसूचित दृष्टिकोण अपनाउनु आवश्यक छ 
 

विश्वका विभिन्न स्थानमा झैँ फिलिपिन्समा पनि एआईविज्ञ तथा राजनीतिज्ञ अन्ना माए यु लामेन्टिल्लो आफ्ना देशका आदिवासी भाषालाई संरक्षणमा सक्रिय छिन् । उनले ‘नाइटआउलजिपिटी’ नामक नयाँ एआई–सञ्चालित अनुवाद एप बनाएकी छिन् । एक इमेलमा लामेन्टिल्लोले ‘फिलिपिन्समा मात्र हामी नौवटा भाषामा काम गरिरहेका छौँ जसमा धेरै भाषा संकटग्रस्त छन् । हाम्रो उद्देश्य यी भाषाले डिजिटल विश्वमा पनि स्थान पाउन सकून्’ भन्ने हो भनेकी थिइन् । शक्तिशालीका हातमा परेपछि एआई सफ्टवेयरले दमनकारी नियन्त्रण पनि निम्त्याउन सक्छ भन्ने हामीले देखेका छौँ ।

उदाहरणका लागि अमेजनको अत्यधिक एआई आधारित निगरानी प्रणाली र अमेरिकी सरकारको अनैतिक डेटा संकलन रणनीतिलाई लिन सकिन्छ । जब भाषाको अस्तित्वको संकटको कुरा आउँछ त्यसवेला एआई उपकरणहरूको पछाडिको शक्ति र नियन्त्रकलाई प्रश्न गर्नु आवश्यक हुन्छ । अर्थात् यी उपकरण कसको नियन्त्रणमा छन् ? र, तिनबाट कसले लाभ लिँदै छ ? 

एआईको लोकतान्त्रीकरणबारे लामेन्टिल्लोसँग जिज्ञासा राख्दा उनले समावेशिताको आवश्यकता औँल्याएकी थिइन् । ‘एआईको तीव्र प्रगति इतिहासमा भएको उपनिवेशवादसँग मिल्दोजुल्दो हुन सक्छ । यदि एआई साँच्चिकै अभूतपूर्व घटना अर्थात् इतिहासको एक विघटनकारी क्षण हो भने पछाडि परेका ९९ प्रतिशत भाषाको अवस्था के हुन्छ ? यो केवल भाषिक विषय होइन; यो पहुँच, प्रतिनिधित्व र डिजिटल समानताको गम्भीर विषय हो । हामीले एआई विकासमा नेतृत्व गरिरहेका मानिसलाई परिवर्तन गरेनौँ भने हामी नयाँ प्रकारको उपनिवेशवाद सिर्जना गर्ने जोखिममा हुनेछौँ, जहाँ विश्वको सानो हिस्साले मात्रै अघि बढ्ने संयन्त्र पाउँछ,’ लामेन्टिल्लो भन्छिन् । 

हालै सम्पन्न संकटग्रस्त भाषासम्बन्धी कार्यशालामा क्यामरुनको याओउन्डे विश्वविद्यालयका प्राध्यापक इम्मानुएल गुंए उमले अफ्रिकी भाषाविज्ञका तर्फबाट प्रस्तुति दिएका थिए । उनीहरू मोजिलाको कमन भोइस प्लाटफर्ममार्फत ३१ अफ्रिकी भाषामा हजारौँ शब्द र ध्वनि रेकर्ड भएको खुला स्रोत डेटासेट तयार गर्दै छन् । यस प्लाटफर्मको उद्देश्य बहुभाषिक आवाज संकलनमार्फत स्वर पहिचान र आवाज–आधारित एआईलाई समावेशी बनाउनु हो । तर, अफ्रिकामा यो प्रक्रिया चुनौतीपूर्ण छ । धेरै भाषामा उपभाषा हुने भएकाले मानकीय उच्चारण वा लेखनमा सहमति नहुन सक्छ । उपनिवेशपछिका परिवर्तनले धेरै भाषामा एकीकृत लेखन प्रणाली विकास हुन सकेको छैन, जसले सिकाइ संयन्त्रमा ढिलाइ गरिरहेको छ । यद्यपि, युनेस्कोको सहयोगमा स्थानीय प्रयास जारी छन् ।

स्वचालित स्वर पहिचान संयन्त्रले उपभाषागत विविधता कसरी सम्बोधन गर्छन् ? र, पाठदेखि ध्वनि मोडेलले विभिन्न लेखन प्रणालीको प्रतिस्पर्धालाई कसरी व्यवस्थापन गर्छन् ? यी प्रश्नको उत्तरमा गुंए उमले इमेलमार्फत ‘एआईले अप्लाइड भाषाविज्ञले वाचा गरेका, तर ढिलो गरिरहेका सेवा पुर्याउनमा महत्वपूर्ण भूमिका खेलेको छ । यो भाषाविज्ञको इच्छाशक्ति वा साधनको कमी नभई अफ्रिकाको भाषिक यथार्थका कारण हो । उपनिवेशवादले थोपरेको एकरूप आदर्शका बाबजुद, अफ्रिका विविधता, तरलता र सिर्जनशीलताको प्रतिबिम्ब हो... ।

एआईले यी जटिलता कार्यान्वयनको सबै चरणमा ध्यानमा राख्छ भने यसले भाषिक विविधतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ,’ भन्ने उत्तर दिएका थिए । यसले एआई इन्जिनियर र कम्प्युटेसनल भाषाविज्ञले भाषाको विशेष सन्दर्भलाई ध्यानमा राखी सूसुचित दृष्टिकोण अपनाउनु आवश्यक छ भन्ने देखाउँछ । स्रोत कम भएका भाषामा एआईमार्फत सिक्न र संवाद गर्न सक्ने अभ्यास भविष्यमा सामान्य बन्न सक्छ । तर, यो रूपान्तरण वित्तीय सहयोग, विश्वसनीय तालिम तथ्यांक र समुदायको सहभागितामा निर्भर हुनेछ । अन्ततः तथ्यांक सार्वभौमिकता र न्यायपूर्ण पहुँच एआई विकासको केन्द्रमा रहनुपर्छ ।

(डग्नौँ मोन्ट्रियल विश्वविद्यालयकी भाषिक मानवशास्त्रकी विद्यावारिधिकी शोधकर्ता हुन्) द कन्भर्सेसनबाट

सुझावित समाचार