सैनिक कल्याणकारी कोषमा ठगी : पूर्वमेजरलाई नेपाल ल्याउन इन्टरपोलको सहयोग माग

मंगलबार, ३० बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली सेनाको कल्याणकारी कोषमा हिनामिना गरी विदेश फरार भएका दुई पूर्वसेनानी (मेजर)लाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ । आपराधिक लाभ मुद्दामा फरार रहेका पूर्वसेनानी समीरकुमार गुरुङ र लक्ष्मण अधिकारीलाई नेपाल ल्याउन इन्टरपोलको सहयोग मागिएको हो । 

गुरुङ बेलायत तथा अधिकारी अमेरिका रहेको अनुसन्धानमा खुलेको छ । उनीहरूकै योजनामा सैनिक कल्याणकारी कोषबाट फर्जी सैनिक कर्मचारी खडा गरी उनीहरूको नाममा चेक काटेर हिनामिना भएको थियो । गुरुङविरुद्ध साढे तीन करोड तथा अधिकारीमाथि दुई करोड २१ लाख हिनामिना गरेको अभियोगमा आपराधिक लाभ मुद्दा दायर भइसकेको छ । 

गुरुङलाई गत माघमै प्रहरीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । पूर्वजमदार रवीन्द्र लुंगेलीलाई पक्राउ गरी त्यसवेला प्रहरीले मुद्दा दायर गरेको थियो । गत बिहीबार प्रहरीले यही घटनामा दोस्रो मुद्दा दायर गरेको हो । पूर्वसेनानी अधिकारी र पूर्वजमदार आत्मराम थापालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । हाकिमहरूको निर्देशनमा काल्पनिक कर्मचारीको नाममा काटिएका चेक साट्न जाने रवीन्द्र र आत्मराज हाल पुर्पक्षका लागि कारागारमा छन् । 

नेपाली सेनाबाटै आएको जाहेरीका आधारमा सो घटनाको अनुसन्धान गरी मुद्दा दायर गरिएको जिल्ला प्रहरीपरिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । किर्ते र हिनामिनामा संलग्न बहालवाला सैनिकमाथि भने सेनाले आफैँ छानबिन गरिरहेको छ । प्रहरी स्रोतका अनुसार विदेशमा फरार भएका आफ्ना पूर्वकर्मचारीलाई नेपाल ल्याउन सेनाले नै इन्टपोलमार्फत समन्वय गर्न आग्रह गरेपछि प्रहरीले प्रक्रिया अघि बढाएको हो । 

गत १ जेठमा अवकाश पाएका सेनानी गुरुङलगत्तै बेलायत गएका थिए । सोही हिनामिनामा संलग्न प्युठ टीकाराम गोतामेमाथि पनि आन्तरिक कारबाही चलिरहेको छ । 

सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बिमा शाखाबाट फर्जी चेक बनाएर लामो समयसम्म रकम हिनामिना भएको हो । सैनिक कर्मचारीले अवकाशको समयमा कल्याणकारी कोषबाट यस्तो सुविधा पाउँछन् । तर, निर्देशनालयमा कार्यरत केही कर्मचारीले फर्जी व्यक्तिको नाममा चेक काटेर पैसा निकाली बाँडीचँुडी गरेर खाएका हुन् । कल्याणकारी कोषका लेखापरीक्षकले यस्तो हिनामिना पत्ता लगाएका हुन् । 

पूर्वसेनानी अधिकारी मुछिएको घटना भने आर्थिक वर्ष ०७४/७५ मा हो । त्यस समयमा एक सय ४४ वटा चेकमार्फत एक करोड ७४ लाख २१ हजार रुपैयाँ हिनामिना भएको थियो । त्यसमध्ये ४० वटा चेक पूर्वजमदार थापाले साटेका थिए । उनले बयानमा भनेका छन्, ‘मिति ०७३/११/९ देखि ०७५/६/१७ सम्मको अवधिमा ४० वटा चेकमार्फत ४७ लाख ६४ हजार एक सय ८५ मैले भुक्तानी लिई सो चेकबमोजिमको सबै रकम तत्कालीन सेनानी लक्ष्मण अधिकारी, तत्कालीन सेनानी बोधराज कार्की र तत्कालीन प्रमुख सेनानी रोशन खड्कालाई नगदै दिएको हुँ । उक्त काम गरेबापत मलाई सेनानी लक्ष्मण अधिकारीसमेतले बिदामा सहुलियत, पेट्रोलको कुपन र क्यान्टिनमा खाजा खाएको पैसा तिरिदिने गरेका थिए । मैले अपचलन गरेको रकम लिएको छैन ।’ प्रहरीमा उनले पैसा नलिएको बताए पनि सेनाको बोर्ड अफ इन्क्वायरीमा भने ३० लाख रुपैयाँ अपचलन गरेको स्विकारेका थिए । 

उनकै बयानका आधारमा हाल पदमै रहेका कार्की र खड्कालाई पनि सेनाले आन्तरिक छानबिन गरिरहेको छ । तर, पूर्वसेनानी कार्की भने फरार भएकाले कतिपय विषय प्रस्ट हुन नसकेको सैनिक स्रोत बताउँछ । चेकमार्फत भुक्तानी दिने प्रणालीको फाइदा उठाएर यस्तो हिनामिना भएको हो । हाल सेनाले अवकाशमा जानेहरूलाई यस्तो सुविधाबापतको रकम बैंक खातामै दिने गरेकाले फर्जी चेकका आधारमा हुने अनियमितता रोकिएको छ । हाल दुईवटा मुद्दा दायर भइसकेकोमा अन्य समयमा पनि यस्तो हिनामिना भएको आशंकामा छानबिन चलिरहेको सैनिक स्रोत बताउँछ । 

सहायक रथी खड्का सेनाको हिरासतमा 
कल्याणकारी कोषको आवास तथा बिमा शाखाबाट भएको हिनामिनामा सहायक रथी रोशन खड्कालाई सेनाले हिरासतमा राखेर छानबिन गरिरहेको छ । प्रमुख सेनानी हुँदा उनी सो हिनामिनामा संलग्न थिए । हालै पक्राउ परेका पूर्वजमदार आत्मराम थापाले काल्पनिक व्यक्तिहरूको नाममा काटिएको चेकको रकम बैंकबाट निकालेर आफूले खड्कालाई समेत बुझाएको बयान दिएका छन् । त्यसपछि उनलाई हिरासतमा लिइएको सैनिक स्रोत बताउँछ । उनीसँगै मेजर बोधराज कार्कीलाई पनि हिरासतमै राखेर छानबिन भइरहेको छ । 

सुझावित समाचार