प्रधानमन्त्रीको प्रश्न–प्रहरीमाथि गाडी कुदाउनेहरू सत्तामा पुगे के गर्लान्?

बिहिबार, १८ बैशाख, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले लोकतन्त्र, संविधानलगायत राम्रा कुराहरूको बहिष्कार गर्दै आएका भन्दै कलाकार सुरक्षा पन्तको पक्षमा उभिएका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा बिहीबार जिफन्टले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले पन्त अभिनीत चलचित्र राजावादीहरूले बहिष्कार गरेको उल्लेख गर्दै भने, ‘यिनीहरूले राम्रा कुराको विरोध गर्छन् भन्ने त थाहा नै छ नि। राम्रो कलाकारको विरोध गर्छन्, कोही पनि राम्रो देख्यो कि विरोध गर्छन्।’

तीनकुनेमा भएको घटना उल्लेख गर्दै प्रधानमन्त्रीले शान्ति कायम गर्न उभिएको प्रहरीमाथि गाडी चलाउने राजावादीहरू सत्तामा आए के गर्लान् भन्दै प्रश्न गरे।

‘यिनीहरूमा यति असहिष्णुता छ, शान्ति कायम गर्न उभिएको प्रहरी, त्यसमाथि गाडी लिएर किच्न जान्छन्,’ उनले भने, ‘केही नहुँदा त त्यस्तो छ, कथम्कदाचित यिनको शासन हुने हो भने के हुँदो हो विचार गर्नुस् त। सोझै पेल्ने रहेनछन्?’

सुझावित समाचार