नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्रमा बाह्य क्षेत्रको चुनौती बढ्न सक्ने बताएकी छिन् । राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखापरेका छन् ।
एकातिर जारी रुस–युक्रेन युद्ध अन्त्य हुने ठोस आधार हालसम्म नदेखिँदा आपूर्ति व्यवधान हट्ने सम्भावना अनिश्चित हुँदै गएको छ भने मध्यपूर्वमा जारी द्वन्द्वको अन्त्य अनिश्चित रहेको छ,’ उनले भनिन्, ‘यसका साथै, संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकका लागि नयाँ भन्सारदर घोषणालगायत व्यापार नीतिमा परिवर्तन गरेकाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको छ । यस्ता बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवं बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको छ ।’
उनले अहिले अर्थतन्त्र लयमा आए पनि आन्तरिक माग कमजोर हुँदा चुनौती कायमै रहेको बताइन् । उनले आन्तरिक अर्थतन्त्रमा संरचनागत एवं व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको बताइन् । उनले अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको छ र मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवं बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा विस्तारले समेत गति लिन थालेको बताइन् ।
पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अमेरिकाले विभिन्न देशमा बढाएको शुल्कको प्रभावबारे जुझ्न प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने बताए । उनले भने, ‘पछिल्लो समय अमेरिकाले शुल्क बढाएकाले त्यसले अर्थतन्त्रमा पार्ने प्रतिकूल असरबारे अध्ययन गर्नुपर्छ । अहिले भइरहेको भटमास र सूर्यमुखी तेलको निर्यातलाई लिएर गर्व गर्न सकिँदैन । हामीले मूल्य अभिवृद्धि हुने खालको वस्तु निर्यातमा ध्यान दिनुपर्छ ।’
पूर्वगभर्नर क्षेत्रीले मुलुकको वित्तीय नीति लोकरिझ्याइँ र कुनै व्यक्ति तथा समूहको फाइदाका लागि केन्द्रित हुँदा समस्या देखिएको बताए । शिथिल अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि राज्यका सबै निकाय र पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा उनले बताए । वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई पनि सम्मान गरिएको छ ।