दलित बस्तीमै पसेर निर्घात कुटपिट, घाइते तीनजनाको उपचार हुँदै

शनिबार, १३ बैशाख, २०८२
डिजिटल संस्करण

सिराहाको लहानसँगै जोडिएको सप्तरीको सुरुंगा नगरपालिका ५ बनिगामा टोलको दलित बस्तीमा पुरानो रिसइबीका कारण  २५–३० जनाको समूहले कुटपिट गरेको छ । स्थानीय दुर्गानन्द चौधरी, चन्द्र चौधरी, नित्यानन्द चौधरी, शर्मिला चौधरीलगायतको समूहले पुरानो रिसइबी, डिहबार थानको पूजा तथा भोजभतेरको विषयमा कुटपिट गरेको दलितहरूले सुनाए। दलितहरूको बसोवास रहेको टोलदेखि पूर्वपट्टिको बस्तीबाट आएको समूहले बिहीबार राति करिब ८ बजेतिर रामचन्द्र रामको घरमा गालीगलौज, धाकधम्की दिँदै कुटपिट गरेको हो । 

एकोहोरो गालीगलौज गर्न थालेपछि गर्दा सम्झाउन गएका उनका भाइ ५३ वर्षीय हरि रामलाई हात, लात्तले कुटपिट गर्न थालेपछि छुट्याउन गएकी उनकी श्रीमती सुकमैनदेवी राम र बिल्टौनदेवी रामलाई समेत कुटपिट गरेको रामचन्द्रले सुनाए। ‘तत्काल प्रहरीलाई बोलाएपछि कुटपिट गर्नेहरू हिँडे,’ उनले भने। कुटपिटमा घाइते भएका हरि, उनकी श्रीमती सुकमैनदेवी, सुगिलाल रामको लहानस्थित माँ धमिनी हस्पिटलमा उपचार भइरहेको छ ।

अस्पतालमा स्वास्थ्य सहायक रामपुकार सिंहका अनुसार कुटपिटमा हरिको छातीमा भित्री चोट लागेको छ भने उनकी श्रीमती सुकमैनको टाउकोसहित पिठ्युँमा चोट लागेको बताए। ‘घटनालगत्तै ल्याइएका हरि र भोलिपल्ट बिहान ल्याइएकी श्रीमती सुकमैनको उपचारपछि शनिबार डिस्चार्ज गर्दै छौँ,’ उनले भने ।

घाइते उपचारमा रहेकाले पीडितको तर्फबाट शुक्रबार इलाका प्रहरी कार्यालय कडरबोनामा दाजु रामचन्द्रले घाउ जाँच केस र कुटपिट गर्नेहरूलाई पक्राउ गरी कानुनबमोजिम कारबाहीको माग गर्दै उजुरी दिएका छन्। कडरबोना प्रहरीले उजुरी दर्ता गरी घाइतेहरूको घाउ जाँचको लागि पठाइएको जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्नेहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको छ । 

सुरुंगा ५ का वडाध्यक्ष दिलाराम चौधरीले करिब एक हप्ताअघिको भोजको विषयमा गालीगलौज गरेपछि आवेगमा आएका केही युवाहरूले सम्झाउन गएको दाबी गरे। ‘भोज खुवाउने परिवारले दलित बस्तीको एक घरलाई मात्र खान बोलाएको भन्ने सुनेको छु,’ उनले भने, ‘भोजमा नबोलाइएहरूले खान गएका व्यक्ति र खुवाउने व्यक्तिसहित समुदायलाई जोडेर गालीगलौज गरेपछि सम्झाउन जाँदा भनाभन भएको हो।’

स्थानीय दलितहरूका अनुसार गाउँको अगुवाको रुपमा रहेका रामचन्द्रसहित छ घर दलितहरूलाई डिहीबार थानको पूजा र गाउँको भोजमा बाहेक गरिएपछि अप्ठ्यारो महसुस गरिरहेका वेला उनकी बुहारीले भोज खाएर फर्किएपछि ‘हामीलाई मान्छे नै नगन्ने, तिमीचाहिँ किन भोज खान गएको’ भन्दै सम्झाएका थिए । त्यही निहुँमा कुटपिट गरिएको उनले बताए । 
 

सुझावित समाचार