भेन्टिलेटरमा उपचाररत आमाको अवस्था गम्भीर, दुवै पक्षबाट जाहेरीको तयारी

बिहिबार, ११ बैशाख, २०८२
डिजिटल संस्करण
भेन्टिलेटरमा उपचाररत आमाको अवस्था गम्भीर, दुवै पक्षबाट जाहेरीको तयारी

जनकपुरस्थित रामजानकी अस्पतालको भेन्टिलेटरमा उपचाररत पविता साह

धनुषाको सहिदनगर नगरपालिका– ५ वासुदेवपट्टी गाउँमा विष सेवनपछि मृत्यु भएका तीन बालबालिकाकी आमाको अवस्था गम्भीर बन्दै गएको छ । प्रहरीका अनुसार एक छोरा र दुई छोरीलाई विष सेवन गराई स्वयंले विषय सेवन गरी आत्महत्याको प्रयास गरेको भनिएकी करिब ३० वर्षीया पविता साहको गम्भीर अवस्थामा जनकपुरस्थित रामजानकी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यहीँ उपचार गराइएका नवजात शिशु सामान्य छ । जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले माइती र घर दुवै पक्षबाट जाहेरी दिने भनिए पनि बुधबार साँझसम्म जाहेरी नपरेको जानकारी दिए ।

‘माइती पक्षले छोरीलाई मानसिक तनाव दिएर विष सेवन गर्ने अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै जाहेरी दिने भनेका छन्,’ उनले भने, ‘घर पक्षले पनि तीनजना नाबालकको ज्यान लिने गरी विष सेवन गराएको व्यहोराको जाहेरी दुवै पक्षले दिने भनिए पनि जाहेरी दिएका छैनन् ।’

सहिदनगर– ५ का सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, चार वर्षीया छोरी आकृति साह र दुई वर्षीया आरुषी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

छोराछोरीलाई विष सेवन गराई आफूले पनि सेवन गरेको थाहा पाएलगत्तै परिवार र छरछिमेकले तत्काल उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुर्याएको वडाध्यक्ष सुरेश कापरले बताए । 
 

See More On

सुझावित समाचार