लुम्बिनी कप महिला फुटबल : एपिएफ र पुलिसबिच उपाधि भिडन्त

बिहिबार, ११ बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रिय फुटबल महिला टोलीका खेलाडीले भरिएको एपिएफविरुद्ध रौतहटको बहादुरी प्रदर्शन 

एपिएफ क्लब पहिलो संस्करणको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बाँकेको नेपालगन्ज रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले रौतहटलाई ३–० ले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । अब ११ वैशाखमा एपिएफले उपाधि भिडन्तमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

रौतहटविरुद्ध एपिएफलाई जिताउन अनिता केसी, निशा थोकर र सविता रानामगरले समान एक गोल गरेका थिए । एपिएफले मोफसलमा लगातार तेस्रोपटक आयोजना भएको प्रतियोगिताको फाइनल खेल्न लागेको हो । एपिएफले इलाम र चितवन गोल्डकप उपाधि जितेको थियो । राष्ट्रिय टोलीका लगभग सबै खेलाडी समावेश एपिएफले महिला लिगको उपाधि पनि जितेको थियो ।

एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलमा पुलिसलाई कमजोर रूपमा नलिने बताइन् । बस्नेतले पुलिस राम्रो प्रतिद्वन्द्वीका रूपमा रहेको बताइन् । ‘घरेलु फुटबलमा पुलिसलाई कहिले पनि कमजोर लिन मिल्दैन,’ बस्नेतले भनिन्, ‘उनीहरू राम्रा छन्, तर हामी उपाधि उचाल्छौँ ।’ रौतहटका प्रशिक्षक भोजराज घिमिरेले एपिएफविरुद्ध राम्रो खेल्दा पनि पराजित भएको बताए । 

रौतहटविरुद्ध एपिएफले अग्रता लिन निकै संघर्ष गर्नुपर्यो । खेलको ७२औँ मिनेटमा एपिएफले १–० को अग्रता लियो । गोलरक्षक उषासँगै युवा खेलाडीहरू सेनु परियार, सिमरन राई, सविता चौधरी, जेनिफर राना, पियाली राओले राम्रो खेल देखाए पनि एपिएफ दबाबमै देखिन्थ्यो । यसअघि रौतहटबाट खेलेका आठ खेलाडी एपिएफको जर्सीमा थिए । बस्नेतको कप्तानीमा रहेको एपिएफमा रेनुका नगरेकोटे, अञ्जना रानामगर, सविता रानामगर, अनिता केसी, रश्मिकुमारी घिसिङ, सजनी थोकर, निशा थोकर, मञ्जलीकुमारी योञ्जनले कुनै समय रौतहटबाट विभिन्न प्रतियोगिता खेलेका थिए । आठ खेलाडीसँगै गीता राना, मनमाया दमाईं, अञ्जलीकुमारी योञ्जनले राष्ट्रिय टिमको अनुभव लिइसकेका छन् । 

दोस्रो हाफमा सम्हालिन नसकेको रौतहट
खेलको ७३औँ मिनेटमा अनिता केसीले एपिएफलाई अग्रता दिलाइन् । वैकल्पिक खेलाडी रेनुका हमालले मिलाएको पासमा अनिताले सहज गोल गरेकी हुन् । ८०औँ मिनेटमा निशाले हेडिङ गोल गर्दै टोलीलाई २–० को स्थितिमा राखिन् । बस्नेतको कर्नरमा डिबक्सभित्र अनर्माकमा रहेकी निशाले सहजै हेडिङ गोल गरिन् । ९०औँ मिनेटमा सविताले ३–० का लागि गोल गरिन् ।

खेलाडीले अवसर सदुपयोग गरेनन् : भगवती थापा, प्रशिक्षक, एपिएफ
खेलाडीले प्राप्त अवसरमा गोल गर्न सकेनन् । पहिलो हाफमा गोल नहुँदा दबाबमा पर्यौँ । दोस्रो हाफमा खेल रणनीति परिवर्तन भयो । यसले खेलमा नतिजा पनि ल्यायो । पहिलो गोलसँगै खेलमा नियन्त्रण लियौँ । त्यसपछि विपक्षीमाथि दबाब राख्यौँ । रौतहटले रक्षात्मक खेल खेल्दा गाह्रो भयो । आशा छ, पुलिसविरुद्ध फाइनल रोमाञ्चक हुनेछ ।
 

सुझावित समाचार