सुदूरपश्चिम प्रदेशमा कोल्डस्टोर निर्माणको काम चार वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश कृषि विकास निर्देशनालयले १५ दिने सूचना जारी गर्दा तीनवटा कम्पनी मात्र काम सम्पन्न गर्ने प्रतिबद्धतासहित सम्पर्कमा आएका छन् । दार्चुलाको महाकाली नगरपालिका र बैतडीको दशरथ चन्द नगरपालिकामा कोल्डस्टोर निर्माणको ठेक्का लिएको बिग एन्ड बी कम्पनी तथा दिपायल–सिलगढी नगरपालिका– ४ मा कोल्डस्टोर निर्माणको ठेक्का पाएको भैरवशक्ति निर्माण सेवा अझै सम्पर्कमा नआएको निर्देशनालयका कृषि इन्जिनियर कोषराज बडूले बताए ।
‘सम्पर्कमा नआएका कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउँछौँ, उनले भने, ‘काम गर्ने प्रतिबद्धता जनाएका निर्माण कम्पनीलाई पनि निर्देशनालयमा बोलाएर छलफल गर्ने र काम गर्न सक्ने अवस्था नदेखिए कारबाहीको प्रक्रिया अगाडि बढाउने छ । काम गर्ने प्रतिबद्धतासहित आए वैशाखभित्र काम सक्न समयसीमा दिइने निर्देशनालयले जनाएको छ ।
‘गत १७ चैतमा सूचना जारी गरेका थियौँ, सम्पर्कमा नआएका र काम अगाडि नबढाए अब कालोसूचीमा राख्न थप प्रक्रिया अगाडि बढाउँदै छौँ,’ निर्देशनालयका कृषि इन्जिनियर बडूले भने, ‘अब थप पर्खिने अवस्था छैन ।’ सातवटै कोल्डस्टोर एक वर्षभित्र सम्पन्न गर्ने गरी चार वर्षअघि निर्माण सम्झौता भएको थियो । प्रदेश सरकारअन्तर्गत सोही वर्ष सम्झौता भएर हालै काम सम्पन्न भएका ६ वटा कोल्डस्टोर पनि सञ्चालनमा आउन सकेका छैनन् ।
यी हुन् सम्पर्कमा नआएका कम्पनी
बिग एन्ड बी कम्पनी र भैरवशक्ति निर्माण सेवा अझै सम्पर्कमा आएका छैनन् । ‘बिग एन्ड बि’ले दार्चुलाको महाकाली नगरपालिका र बैतडीको दशरथ चन्द नगरपालिकामा २० टन क्षमताको कोल्डस्टोर निर्माणको ठेक्का लिएको थियो । महाकालीमा ३० प्रतिशत र दशरथचन्दमा ६० प्रतिशत काम गरेर निर्माण कम्पनीले बाँकी काम अलपत्र छोडेको छ । त्यस्तै, भैरवशक्तिले दिपायल–सिलगढी नगरपालिका– ४ मा २५ कटन क्षमताको कोल्डस्टोर निर्माणको ठेक्का लिए पनि जग मात्र हालेको छ ।
यी हुन् सम्पर्कमा आएका कम्पनी
पुरुषोत्तम कन्स्ट्रक्सन, भूमिराज रोशन निर्माण सेवा र जी एन्ड जे निर्माण सेवा भने सम्पर्कमा आएका हुन् । निर्देशनालयका अनुसार पुरुषोत्तमले कञ्चनपुरको पुनर्वासमा ३० टन र डडेल्धुराको आलीतालमा २५ टन क्षमताको कोल्डस्टोर निर्माणको ठेक्का लिए पनि काम अलपत्र छाडेको पछ । डोटीको जोरायल गाउँपालिका– १ मा २० टन क्षमताको कोल्डस्टोर निर्माणको ठेक्का अलपत्र छाडेको भूमिराज रोशन निर्माण सेवा र कैलालीको भजनीमा ४० टन क्षमताको कोल्ड स्टोर निर्माणको ठेक्का लिएर काम अलपत्र छाडेको जी एन्ड जे निर्माण सेवाले पनि काम गर्ने प्रतिबद्धतासहित निर्देशनालयलाई पत्र पठाएका छन् । निर्देशनालयका अनुसार जोरायलमा ६५ प्रतिशत काम पूरा भएको छ । निर्माण कम्पनीले ठेक्का सम्झौता ३९ लाख ७७ हजारमध्ये २० लाख २४ हजार भुक्तानी लिइसकेको छ । भजनीमा चार वर्षको अवधिमा ६० प्रतिशत मात्र भौतिक प्रगति छ । निर्माण कम्पनीले ४१ लाख ६३ हजार लागत रकममध्ये २२ लाख ६६ हजार भुक्तानी लिएर काम अलपत्र छोडेको छ ।