नयाँ वर्ष ०८२ को अवसरमा परराष्ट्र मन्त्रालयले नेपालस्थित १२ कूटनीतिक नियोग, उनका परिवार र अन्तर्राष्ट्रिय संस्था इसिमोडका प्रमुखसहितको टोली आइतबारदेखि इलामको कन्याममा छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, परराष्ट्रसचिव अमृतबहादुर राई र शिष्टाचार महाशाखाका कर्मचारीसहित कूटनीतिज्ञ र परिवारको टोली मंगलबार अपराह्न काठमाडौं फर्किनेछ ।
इलाम जाने टोलीमा परराष्ट्रमन्त्री, सचिव र कर्मचारीबाहेक विदेशी नियोग प्रमुख र परिवारका १९ जना छन् । भारत, चीन, अमेरिका र पाकिस्तानका कूटनीतिज्ञ भने सहभागी भएनन् । परराष्ट्रले काठमाडौंस्थित सबै दूतावासमा निमन्त्रणा पत्र पठाएर मिसन प्रमुख र उनका श्रीमान् वा श्रीमतीलाई लैजाने बन्दोबस्त गरेको थियो । ‘हामीले सबैलाई खबर गरेका हौँ, तर छिमेकी भारत, चीन, अमेरिका र पाकिस्तानका राजदूत सहभागी भएनन् । उनीहरू पूर्वनिर्धारित व्यस्तता जनाएर सहभागी भएनन्,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने ।
इलाम जाने टोलीमा नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहम्मद एल्गेवाली, दक्षिण कोरियाली राजदूत पार्क तायेयोङ र उनकी श्रीमती जेयोङ इयुन्हे, बेलायती राजदूत रब फेन र उनकी श्रीमती जुलिया फेन, स्विट्जरल्यान्डका राजदूत डेयिनयल मेउली मोन्टेलेन, थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न र उनकी श्रीमती रुङमानी सिरिसोर्न छन् ।
यसैगरी, अस्ट्रेलियाकी राजदूत लियन जोहनस्टोन, फ्रेन्च राजदूत भर्जिनी कोर्टेभल, इजरायली राजदूत समुलिक एरी बास र उनकी श्रीमती मिरभ पेलेग बास, जापानका राजदूत माइदा तोरू पनि इलाममा छन् । परराष्ट्रका एक अधिकारीका अनुसार इलाम जाने टोलीमा मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस बिन आजमान, श्रीलंकाकी कार्यवाहक राजदूत सिआर मुनासिंघे र उनका श्रीमान् एचएम सुपुनसिथारा, बंगलादेशका कार्यवाहक राजदूत मोहम्मद हुमायुँ कविर र उनकी श्रीमती जोआरिया कहान र इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो सहभागी छन् ।
कूटनीतिज्ञ र परिवारलाई सोमबार स्वागत गर्दै परराष्ट्रमन्त्री राणाले नेपालको विकास र समृद्धिको आधार पर्यटन भएको भन्दै नेपालको सांस्कृतिक, पर्यवरणीय विविधतालाई विश्वसामु प्रस्तुत गर्न राजदूतहरूको इलाम भ्रमण आयोजना गरिएको बताइन् । ‘नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन्,’ राणाले भनिन्, ‘नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको हो ।’ उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह गरिन् ।
सहभागी कूटनीतिज्ञहरूलाई उनले नेपालको पर्यटनका राजदूत बनिदिन अनुरोध पनि गरिन् । ‘यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस्,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि म विश्व समुदायलाई आग्रह गर्छु ।’
परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेरभन्दा पनि आफैँले देखेर मनन गर्न कूटनीतिज्ञहरूलाई आग्रह गरे । परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार कूटनीतिज्ञहरूले कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गरे र सोमबार बिहान अन्तुबाट सूर्याेदयको अवलोकन गरे । ‘नेपालको पर्यटन प्रवद्र्धनका लागि इलामको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य तथा स्थानीयताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यस वर्ष इलाममा यो कार्यक्रमको आयोजना गरिएको हो,’ पाठकले भने ।