संकटलाई अवसर बनाउने धर्म

शनिबार, २९ चैत, २०८१
डिजिटल संस्करण
  • आजको समाजले मानिस र भगवान् अलग हुन् भन्ने अन्धविश्वास र मान्यता अघि सार्दै भ्रम खडा गरेर स्वयं भगवान् बन्न सक्ने मानिस मन्दिर र मूर्तिमा भगवान् खोज्दै भौँतारिने गरेको छ

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको दशक पुग्नै लागेको नेपालमा सुरु भएको राजसंस्था पुनर्स्थापनाको आन्दोलन र गणतन्त्रवादीको प्रतिकारले सिर्जित राजनीतिक अवस्थाले ठुलै संकटको आमन्त्रण गरेको प्रस्ट बुझ्न सकिन्छ । १५ चैतको राजावादीहरूको आन्दोलनले उग्र रूप लिई पत्रकारसहित दुई नेपाली नागरिकको ज्यान लिई नै सक्यो । अर्बाैंको सम्पत्ति नष्ट गर्यो । संकट प्राकृतिक र मानवनिर्मित दुई प्रकारका हुन्छन् । वर्तमान संकट मानवनिर्मित हो । वेलैमा सम्बोधन गर्न चासो नदिएकाले संग्रहित हुँदै गएका समस्याले संकटको रूप लिएको हो । संकट असामान्य, अनिश्चित र जटिल हुने हुँदा संकट आएपछि सोच्ने समय पनि पाइँदैन, बगाएर विनाशै पारिहाल्छ संकटको भेलले । संकटले कसैलाई चिन्दैन, छुट दिँदैन, चाहे आन्दोलनकारी होस् वा नहोस् । सबैलाई डस्ने संकट समाधान खोज्न सबैले आआफ्नो स्थानबाट चिन्तन मनन गर्नैपर्छ । आउँदै गरेको संकट टार्न मात्र होइन, अवसरमा परिणत गरेर देशलाई शान्त र समृद्ध बनाउन सम्भव छ, सकिन्छ । त्यो अस्त्र हो धर्म । यस लेखमा सच्चा धर्मको पालनाले संकट कसरी अवसरमा बदलिँदो रहेछ भन्ने चर्चा गरिन्छ । 

हिन्दु, बौद्ध, जैन, शिख, मुस्लिम इसाईलगायत सम्प्रदायले धर्मको नाम लिएर जनमानसमा भावनात्मक आवेग र मास हिस्टेरिया उत्पन्न गराई लडाइँ, झगडा र द्वन्द्व बढाएर मानवीय क्षति पुर्यारहेको छ । त्यसको पछिल्लो उदाहरण नेपाल बन्न पुगेको छ । राजसंस्था पुनस्र्थापित गर्न हिन्दु धर्म राज्यबहालीको नारासमेत जोडेर आन्दोलन अराजक बनाइयो । यसले धर्म नै द्वन्द्वको उर्वरभूमि हो कि भन्ने भ्रमलाई बल मिलेको छ । धर्म र सम्प्रदायलाई मिश्रण गरिँदाको दुष्परिणाम हो यो । धर्मले मनमा विकार आउन दिँदैन र चित्तलाई निर्मल राख्छ । धर्म समाजले स्वीकार्दै आएको अघोषित कानुन हो । 

युट्युबमा उपलब्ध आचार्य सत्यनारायण गोयन्काको प्रवचन र उनैद्वारा लिखित धर्म शीर्षकको पुस्तकमा धर्मको इतिहास वर्णन गरिएको छ । २५०० वर्ष अघिको जनभाषामा ‘धारे इति धम्मो, अत्तनो स्वभावना धारे इति धम्मो, अत्तनो लख्खना धारे इति धम्मो अर्थात् धारण गर्नु धर्म, स्वभाव धारण गर्नु धर्म र लक्षण धारण गर्नु धर्म हो भनेर धारण गरिने कुरालाई धर्म भनिन्थ्यो । केले के धारण गर्ने ? भन्ने प्रश्नमा चित्तले चित्तवृत्ति धारण गर्ने भनेर उत्तर दिइन्थ्यो । कुशल चित्तवृत्ति धारण गरे कुशल धर्म र अकुशल चित्तवृत्ति धारण गरे अकुशल धर्म जानिन्थ्यो । जुन चित्तवृत्तिले चित्त मैलो बनाउँछ, त्यो पाप, धर्म र जुन चित्तवृत्तिले चित्त निर्मल बनाउँछ, त्यो पुनित धर्ममा गनिन्थ्यो । कालान्तरमा सदगुरुहरूले लाभदायक र हानिकारक चित्तवृत्तिको व्याख्या गर्दै लाभदायक चित्तवृत्ति धारण गर्नु कर्तव्य र हानिकारक चित्तवृत्ति धारण नगर्नु पनि कर्तव्य हुने भन्दै स्वभावलाई हेरेर धर्मलाई कर्तव्यको रूपमा परिभाषित गरियो ।

आजभन्दा २०००/२५०० वर्षअघिको कुनै पनि साहित्यमा हिन्दु, बौद्ध, जैन धर्मको उल्लेखसम्म पाईदैन । अहिले यिनैलाई धर्म भनिएको छ । त्यसमाथि पुरानो धर्म भनेर जनाउन सनातन शब्दको अर्थसमेत परिवर्तन गर्दै भ्रमित गरिएको छ । २०००/२५०० वर्षअघि सदा एक जस्तै रहने शाश्वत अर्थ जनाउँथ्यो सनातन शब्दले ।

धर्मसँगै भगवान् शब्द जोडिएर आउने हुँदा भगवान् शब्दको अर्थ बुझे धर्मको बुझाइमा प्रस्टता आउँछ । २५०० वर्षअघि ‘भग्ग रागो इति भगवान्, भग्ग द्वेषो इति भगवान्, भग्ग मोहो इति भगवान्’ अर्थात् राग द्वेष र मोहरहित मानिस भगवान् हो भनिन्थ्यो । आजको समाजले मानिस र भगवान् अलग हुन् भन्ने अन्धविश्वास र मान्यता अघि सार्दै भ्रम खडा गरेर स्वयं भगवान् बन्न सक्ने मानिस मन्दिर र मूर्तिमा भगवान् खोज्दै भौँतारिने बनाएको छ ।

धर्म र सम्प्रदायबिचको फरकले धर्मको अर्थ, महत्व र गहिराइ थाहा पाउन मद्दत मिल्छ । उत्पत्तिको हिसाबले धर्म सृष्टिको प्रारम्भदेखि आज र भोलिका अनन्त वर्षसम्म रहने सर्वकालिक छ भने सम्प्रदाय प्रारम्भमा थिएनन् । आज छन्, भोलि नरहन सक्ने हुँदा अल्पकालीन हुन्छन् । सम्प्रदायको आधार दार्शनिक मान्यता, कर्मकाण्ड, रीतिरिवाज, वेशभूषा, व्रत उपवास, पर्व उत्सव, तिज तिहार हुन् भने चित्तको निर्मलता धर्मको आधार हो । सबै देशमा रहने मनिसले चित्त निर्मल बनाएर धार्मिक बन्दै सुखशान्तिको जीवन जिउन सक्ने हुँदा धर्म सार्वजनिक सार्वदेशिक सार्वभौमिक हुन्छ, तर सम्प्रदाय सबै देशमा सबै ठाउँमा हुँदैनन् । कुनै देशको कुनै भागमा हुने हुँदा अल्पजनिन, अल्पदेशिक हुन्छ । धर्म सृष्टिदेखि भविष्यसम्म जस्ताको तस्तै एकनासको अर्थात् सनातन छ । उदाहरणका लागि अग्निको आफू जल्ने र अरूलाई जलाउने स्वभाव हिजो, आज र भोलि उस्तै छ, रहनेछ । सम्प्रदाय अनेकथरीका छन्, शाश्वत हुँदैनन् । धर्म र सम्प्रदायबिच फरक के हो भने धर्मको सम्प्रदायसँग कुनै साइनो र लेनदेन छैन । तर, सम्प्रदायले धर्मको आवरण लिने गर्छ । सम्प्रदायले अन्धमान्यताको आडमा मानिसमा भावाशेष उत्पन्न गराई भिड जम्मा गर्ने र मास हिस्टेरिया सिर्जना गरी ठुल्ठुला विनाशकारी दुर्घटनासमेत गराएका दृष्टान्त भेटिन्छन् ।

धर्मका लागि कुनै सम्प्रदाय जरुरी छैन । धर्मको अगाडि कुनै सम्प्रदायको लेप आवश्यक पर्दैन । सम्प्रदायका लागि धर्म आवश्यक मात्र होइन, अनिवार्य छ । धर्मले शील पालना गर्न निर्देशित गर्छ । शील सदाचार हो । कुनै प्राणीको हिंसा नगर्नु, चोरी नगर्नु, झुटो नबोल्नु, व्यभिचार नगर्नु र नशालु पदार्थको सेवन नगर्नु शील हो । धर्मले शरीर र चित्तको परस्पर सम्बन्ध र प्रपञ्चबाट राग, द्वेष र मोहजस्ता चित्तवृत्ति उत्पन्न हुन नपाऊन् भनी सजगतापूर्वक निरन्तर निरीक्षण गराई वर्तमानमा बाँच्न सिकाउँछ । 

धर्ममा हुने समताको गुणले सुखद र दुःखद स्थितिप्रति अविचलित रहन संवेदनशील र सजग बनाउँछ । सुखमा प्रफुल्लित र दुःखमा मुर्झाउने विषमता आउन रोक्छ । मनलाई समतामा राख्छ । मनको समताले शारीरिक समता कायम गरेर जीवन नै स्वस्थ हुन्छ । समतामय जीवन व्यतीत गर्ने व्यक्तिको अहंभाव नाश हुन्छ । अहंतारहित व्यक्तिले ‘म’ र ‘तँ’ का पक्षपाती दृष्टिकोण हटाएर सबैको भलाइको कामना गर्छ । 

यो दुनियाँ संकल्पवानको हो, संकल्पहीन रहनु भूमिको भार बढाउनु मात्र हो भनिन्छ, मानिन्छ । किनकि संकल्प भनेको बल हो । आफूले धारण गरेको श्रेष्ठ संकल्प जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि कार्यान्वयनमा क्रियाशील रहिरहे संकल्पवान् भइन्छ । संकल्पको दृढतामा उन्नति र अवनति निर्भर रहन्छ ।

संकल्पविनाको राजनीति
दृढता र जिद्दीमा फरक छ । पूर्वाग्रह, स्वार्थ र अहंकारले जिद्दी बनाउँछ । परिणामलाई नजरअन्दाज गर्दै अर्तीबुद्धि दिनेप्रति क्रोधित हुँदै आफ्नै मनोमानी पूरा गर्न तल्लीन हुन्छ । दृढता पवित्र भावानाको सहारामा कसैप्रति नकारात्मक भाव नराखी विरोधीलाई समेत मनाएर साथ लिँदै लक्ष्य हासिल गराउँछ । गणतान्त्रिक नेपाललाई समृद्ध बनाउन नेताहरू संकल्पवान् हुनुपर्नेमा मनोमानी पूरा गर्ने जिद्दी भइदिँदा संकटैसंकटले देश घेरियो ।

भाव र भावना अभिव्यक्त गर्ने माध्यम भाषा भएको हुँदा भाषाको स्थान उच्च र महत्वपूर्ण छ, राखिनुपर्छ । भाषाको गरिमा बुझेर उच्च रीति अपनाई प्रयोग गरेमा व्यक्तिको मानसिक स्थिति र व्यवहारले उचाइ पाउँछ । व्यक्ति कति संस्कारी, अनुशासित र चारित्रिक छ भन्ने उसले प्रयोग गर्ने भाषाशैली र शब्दबाट थाहा हुन्छ । संस्कार र संस्कृतिले भाषाशैली निर्माण, विकास र निखारता ल्याउँछ । संस्कार सुरु हुँदै संस्कृति बन्न सदियौँ वर्ष लाग्छ । यिनै संस्कार, संस्कृति र भाषाशैलीबाट नै व्यक्ति, समाज र राष्ट्रको पहिचान बन्छ । भाषाशैलीबाटै बज्छ, प्रेमको वीणा र सुखको गीत । रागद्वेष घटाउने, बढाउने र रहित बनाउने कारक भाषाशैली नै हो । धर्म धारण गरेर चित्त निर्मल पारेपछि वाणीमा संयमता आई दिव्य, सभ्य भाषाशैली प्रयोग हुन्छ । दिव्य भाषाशैलीले सत्ययुग निर्माण हुन्छ । हिन्दु दर्शनले चार युग सत्य, त्रेता, द्वापर कली र चार जात ब्रह्मण, क्षेत्री, वैश्य र शुद्रको परिकल्पना गरेको छ । हिन्दु सम्प्रदायले त्यसमा विश्वास गरेकाले मान्यता स्थापित भएको हो । चार युग र जात देखेजानेको सत्य कुरा होइन । सत्य कुरा एउटै दिनको चार प्रहर र एकै व्यक्तिको शिर, पाखुरा, पेट र खुट्टा हुन् । सबैले धर्म धारण गरेर चित्त निर्मल पारे वर्तमान समय नै सत्य युग बन्छ ।

अन्त्यमा, जुनसुकै सम्प्रदायमा रहे पनि सबै राजनीतिक दल, नेता, कार्यकर्ता र सर्वसाधारणसमेतले सच्चा धर्म धारण गरी चित्त निर्मल पारेर संवाद, सहमति र सहकार्यबाट स्वच्छ राजनीति स्थापित गर्दै समृद्धिको ढोका उघारौँ ।

See More On

सुझावित समाचार