दुर्गा प्रसाईं भारतमा ‘ट्रयाक’

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण
दुर्गा प्रसाईं भारतमा ‘ट्रयाक’

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा प्रहरीलाई पेलेर निषेधित क्षेत्र तोड्दै प्रसाईं

राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फरार भएको दुई सातापछि भारतको आसाम राज्यमा भेटिएका छन् । भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ । प्रसाईले आफैँ भारतीय प्रहरीको सम्पर्कमा पुगी आफूलाई नेपाल पठाइदिन आग्रह गरेको राजसंस्था पुनस्थार्पनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ । समितिका प्रवक्ता स्वागत नेपालले प्रेस विज्ञप्ति जारी गरी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित नेपाल प्रवेश गर्न सहयोग गरेको उल्लेख गरेका छन् । 

नेपाल प्रहरीले भने प्रसाईंको विषयमा अनविज्ञता प्रकट गरेको छ । केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले बिहीबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रसाईं पक्राउ परेको समाचार भ्रामक भएको भनेर खण्डन गरेका छन् । एक उच्च प्रहरी अधिकारी भने भारतीय सुरक्षा निकायसँग समन्वय गरी प्रसाईंलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ ।

नेपाल नल्याउँदासम्म कानुनी रूपमा पक्राउ भन्न नमिल्ने भएकाले पनि प्रहरीले पक्राउको विषयलाई खण्डन गरेको हो ।  ‘पक्राउ परेको नभनौँ, उनी ट्र्याक भएका छन्, भारतीय अधिकारीसँग समन्वय गरी नेपाल ल्याउने प्रयास भइरहेको छ,’ ती प्रहरी अधिकारीले बताए ।  गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनलाई उनै प्रसाईंले हिंसात्मक बनाएको प्रहरीको निष्कर्ष छ । सोही दिन बेलुकादेखि उनी फरार भएका थिए । आन्दोलनको कमान्डर उनै प्रसाईं थिए । आन्दोलनमा दुईजनाले ज्यान गुमाएका थिए । 

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायतलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । राज्यविरुद्धको कसुर तथा संगठित अपराधको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।  प्रसाईंविरुद्ध यसअघि पनि दुईपटक प्रहरीले पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । साइबर अपराध आपराधिक लाभ मुद्दामा यसअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।  

सुझावित समाचार