राष्ट्रिय वाणिज्य बैंकले आगामी ७ वैशाखदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ‘७ प्रतिशत आरबिबिएल डिबेन्चर २०८८’ ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँमा २५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति पाइसकेको छ । यो ऋणपत्रको अवधि सात वर्षको रहेको छ भने वार्षिक ब्याजदर पनि ७ प्रतिशत नै तोकिएको छ ।
कुल ऋणपत्रमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर नौ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन वैशाख १० गतेसम्म दिनुपर्नेछ ।
१० गतेसम्म पर्याप्त आवेदन नपरेमा म्याद २१ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ । ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।