नेपालले लिनुपर्ने अबको बाटो

सोमबार, २४ चैत, २०८१
डिजिटल संस्करण

संविधान जारी गरिएसँगै जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न सक्नुपर्थ्यो, दलहरूको ध्यान त्यतातिर जाँदै गएन

यतिवेला देश अर्थात् नेपाल अशान्त छ र जनताको मनमा चैन छैन । प्रजातन्त्र अर्थात् जनताको शासन कायम गर्न दशकौँ संघर्ष गरेका राजनीतिक दलहरू सरकारमा छन् । यिनले जनविश्वास जितेर पटक–पटक अवसर पाएका छन् । अहिले त झन् संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार चलाइरहेका छन् । ०४६ यता निरन्तर सरकारमा बसेका दलहरू नै अहिले पनि सरकारमै छन् । यिनले कहिले आलोपालो त कहिले एक्लाएक्लै सरकार चलाएका छन् । ०६४ को संविधानसभा निर्वाचनपछि केही नयाँ दलसमेत थपिए । ती पनि अब सरकार चलाउन अनुभवी भइसकेका छन् । देशमा बहुदलीय संसदीय गणतन्त्रात्मक शासन पद्धति छ । राजासहितको बहुदलीय व्यवस्थाले नपुगेर गणतन्त्रात्मक प्रणाली ल्याइएको छ । यसको स्थापना भएको पनि १६–१७ वर्ष बितिसकेको छ । गणतान्त्रिक संविधान निर्माण भएको पनि झन्डै १० वर्ष भइसकेको छ । राज्य पुनर्संरचना गरी देशलाई संघीयतामा लगिएको छ । सिंहदरबारको अधिकारलाई तीन तहका सरकारमार्फत गाउँगाउँ पुर्याइएको छ ।

जनताबाट प्रत्यक्ष निर्वाचित तीनै तहका जनप्रतिनिधि मात्र झन्डै ४० हजार छन् । राज्यले दर्जनौँ आयोग, नियुक्तिमार्फत विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ । विदेशस्थित दूतावासको संख्या बढाएर कूटनीतिक सम्बन्ध विस्तार गर्ने क्रम जारी छ । संसारभर वाणिज्य दूत छन् । केन्द्र, प्रदेश र स्थानीय गरी ७६१ सरकार छन् । नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, निजामती कर्मचारी, शिक्षक, संस्थान र वित्तीय संस्थामा लाखौँ जनशक्ति क्रियाशील छन् । राज्यले संकलन गर्ने सम्पूर्ण राजस्वभन्दा बढी चालू खर्च छ । यो पुँजीगत खर्चभन्दा झन्डै साढे चार गुणा ठुलो छ । जताततै राज्यको उपस्थिति देखिन्छ । राजनीतिक दलमा त केन्द्रदेखि वडासम्म लाखौँ नेता मात्र छन्, जो गाउँगाउँसम्म सक्रिय छन् । सायद यति धेरै नेता भएको देश संसारमा अर्को नहुन सक्छ । दलहरू पनि सानाठुला गरी पर्याप्त छन् । देशमा संविधान छ, ऐन कानुन छन् । तर, के यी सबै उत्पादन, आवश्यक र ठिकठाक छन् ? नेपालजस्तो र जत्रो देशका लागि उपर्युक्त संरचना र जनशक्ति चाहिन्छ ? राष्ट्रिय सामथ्र्यविपरीत चालू अर्थात् प्रशासनिक खर्चको आकार ठुलो भएन र ? किन दिनदिनै असन्तोष बढ्दो छ, जनआक्रोश किन चुलिँदै छ ? 

विगतका साढे तीन दशक : हामीले राम्रोसँग बुझ्नुपर्छ, सरकार गठन हुनु राजनीतिक दलको उद्देश्य पूरा हुनु मात्र होइन । र, यो कुनै पार्टीविशेषको सफलता र उपलब्धि मात्र होइन । अझ जननिर्वाचित सरकार भनेको त खास उद्देश्यका लागि निर्मित अर्थात् जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । यसले जनआकांक्षाको अधिकतम ख्याल गर्नुपर्छ । प्रजातान्त्रिक सरकारले जनउत्तरदायित्व पूरा गर्न सकेन भने वास्तवमा त्यो सही सरकार कहलिन मिल्दैन । सरकार राज्यको मूल प्रतिनिधि हो, जसले जनताका निम्ति इमानसाथ दिनरात काम गर्नुपर्छ । त्यसका लागि उसले राज्यबाट पर्याप्त सुविधा लिएको वा पाएको हुन्छ । सुविधाबापत जनताका काम गर्नु कर्तव्य हुन्छ । राज्य संयन्त्रले लिने सबै सुविधाको स्रोत जनताको पसिना हो । उल्लिखित नेता र कर्मचारी सबैले जनताको पसिनाबाट जीविका वा गुजारा चलाएका हुन्छन् । अपवादका थोरै नेता मात्र राज्यकोषको भर पर्दैनन् ।

यसको सीधा अर्थ हो, उनीहरूका निर्धारित वा तोकिएका जिम्मेवारी र दायित्व छन्, जसलाई उनीहरूले पूरा गर्नैपर्छ । दायित्व च्युत हुने वा कर्तव्यबाट भाग्ने सुविधा कसैसँग हुँदैन । अब समीक्षा गरौँ, गएका वर्षमा हामीले के गर्यौँ ? हामीले आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्यौँ कि गरेनौँ ? जनता जनार्दन हुन् भने हामीले जनभावनाअनुरूप काम गर्यौँ कि गरेनौँ ? शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रको स्थिति के छ ? यसबिच रोजगारीका अवसर कति सिर्जना भए ? विकासका प्राथमिकता तय गरी दिगो विकास कति भयो ? जलश्रोतको धनी देशले ऊर्जाको क्षेत्रमा कति प्रगति गर्यो ? मूल प्रश्न यिनै हुन् । हामीले बोलेको र जनताले चाहेको कति काम भयो ? विलक्षण क्षमता देखायौँ वा कहाँ चुक्यौँ ? विश्वसामु हाम्रो छवि कस्तो छ ? सबैलाई थाहा छ, यस विषयमा एकपटक पनि गम्भीर समिक्षा भएन ।

दलभित्र कसैले प्रश्न उठाउँदा वा सम्झाउँदा फाल्तु वा अनावश्यक ठानेर पन्छाइयो । यस्तो प्रश्न उठाउने नागरिक र दलका सहकर्मीलाई किनारामा धकेलियो । यसले सुधारको बाटो बन्द भयो, आत्मसमीक्षा तपसिलको विषय बन्यो । जसको परिणाम आजको स्थितिमा हामी पुग्यौँ । तैपनि, हाम्रो होस फर्किएको देखिँदैन । जननिर्वाचित सरकारलाई हामीले अकन्टक र स्थायी सत्ता ठान्यौँ र मनलागी गर्दै गयौँ । के यसो गर्न हुन्थ्यो त ? वरिपरिका छिमेकी कसरी अघि बढे, उन्नति गरे, जनतालाई सुख दिए र दुनियाँसामु इज्जत कमाए, हामीले कहिल्यै ख्याल गरेनौँ । हामीले राजनीतिको मूल दायित्व नै बिर्सियौँ । अनि प्रश्न उठ्दैन त ? प्रश्न उठाउने करदाताले होइन र ? आफ्नो रगत र पसिनाले चलेको सरकारलाई औँला ठड्याउने कसले हो ? कि जनताको काम कर मात्रै बुझाउने हो ? 

पूर्वराजाको विषय : नेपालबाट शाहवंशको उन्मूलन बलपूर्वक भएको हो । आपसी सहमतिमा संसारमा कहीँ पनि शासनसत्ता परिवर्तन हुँदैन । बरु नेपालको सन्दर्भमा ११ वैशाख, ०६३ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत दलहरूलाई सत्ता हस्तान्तरण गरेका हुन् र १५ जेठ, ०६५ मा सरकारलाई तालाचाबी बुझाएर ज्ञानेन्द्र नागार्जुन उक्लेका हुन् । प्रतिगमनको प्रारम्भदेखि चार वर्षसम्म राजा ज्ञानेन्द्रले संवैधानिक भएर बस्न दलहरूले दिएको सुझाव नमानेपछि अन्ततः संविधानसभा निर्वाचन र सभाको बैठकद्वारा नेपालमा गणतन्त्र घोषणा गरिएको हो । सुरुमा बहुसंख्यक नेपाली जनताको भावना पनि राजा संवैधानिक भएर बसून् भन्ने नै थियो । यसमा राजा सहमत भएनन् । त्यो एउटा ऐतिहासिक राजनीतिक घटना थियो ।

त्यसयता १६–१७ वर्ष व्यतीत भयो र दलहरूले अकन्टक शासन गरे । संविधान जारी गर्नु एउटा उपलब्धि थियो तर त्यति मात्र पर्याप्त थिएन । जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न सक्नुपर्थ्यो । दलहरूको ध्यान त्यतातिर जादैँ गएन, सत्तामा पुग्ने र टिकाउनेमा मात्र केन्द्रित भयो । दलका मूल्य, मान्यता, आदर्श सबै सैद्धान्तिक विषय मात्र बने । आज पनि दलहरूको ध्यान सत्तामा पुग्ने र टिकाउनेमा मात्र छ । यसैको जगमा राजा ल्याउन चाहनेहरू उभिएका छन् र उनीहरूसँग थोरबहुत जनमत पनि छ । उनीहरूको हकमा यो स्वाभाविक पनि छ । हिजो राजाले प्रजातन्त्र नखोसेको भए देश गणतन्त्रमा जाने थिएन, शाहवंशीय तानाशाही र निरंकुशताको परिणाम नै गणतन्त्र थियो । त्यसैले अब पनि सामान्य दबाबले न त गणतन्त्र जान्छ, न त राजा आउँछन् ।

राजाको विषयमा गणतन्त्रवादी र राजावादीबिच सहजै सहमति बन्ने सम्भावना पनि देखिँदैन । यसको अर्थ देश अब टकरावमा जाने सम्भावना देखिन्छ । र यस्तै ताल रहे राजा आउलान् नआउलान्, नेपाली समाज यथास्थितिमा भने रहनेछैन । अब यसको समाधान के त ? मूलतः देश चलाइरहेका दलहरूले गम्भीर भएर सोच्नुपर्छ । सडक गतिविधि ओठे जवाफले थामिने छाँटकाँट छैन । हामीले ल्याएको र चलाएको गणतन्त्रमाथि प्रश्न भने उठ्यो । त्यसैले बुझ्नुपर्छ, नेपालको राजनीतिमा शाहवंशीय राजतन्त्र ‘फु’ गरेर मेटिँदैन । यसको औचित्य अन्त्य गर्न वर्तमान शासन प्रणालीले अधिकतम राम्रो गर्न सक्नुपर्छ । अनि मात्र जनताको मनमा राजतन्त्रप्रतिको आकर्षण समाप्त हुन्छ । अन्यथा, यो वैकल्पिक शक्तिका रूपमा रहिरहन्छ । 

अबको बाटो : कहिलेकाहीँ समयको आवश्यकता र मागअनुसार व्यक्ति र संस्थाको औचित्य र सान्दर्भिकता सिद्धिन्छ । हाम्रो सन्दर्भमा पनि यही कटुसत्यलाई मनन गर्नुपर्छ । यो सत्य केही पात्रका लागि निकै अप्रिय हुन सक्छ, तर समग्र देशका लागि हितकर वा लाभदायक हुनेछ । यो राजा र नेता दुवैका हकमा लागू हुन्छ । तत्कालीन राजाले यो विषय बुझ्न ढिलो गर्दा नेपालमा गणतन्त्र आएको हो । हामीले बुझ्न ढिलो भयो भने देशले बेग्लै बाटो समात्न सक्छ, गणतन्त्र जान सक्छ र यसमा धेरै समय नलाग्न पनि सक्छ । र त्यो बाटो नेपाल र नेपालीका लागि बहुतै हानिकारक पनि हुन सक्छ । अरूका लागि के कस्तो होला थाहा छैन, तर नेपालको अस्तित्वका लागि भने पक्कै पनि उपयुक्त हुनेछैन ।

यस विडम्बनालाई दलहरूले समयमै बुझ्नुपर्छ । यहाँ चिन्ता प्रजातन्त्रको मात्र होइन, राष्ट्रिय अस्तित्वको पनि छ । नेपाली–नेपालीबिच द्वन्द्व गराएर अर्कै शक्तिले फाइदा लिन खोजेको देखिन्छ । यसवेला बेलायतको इतिहासलाई पनि हामीले सम्झिनुपर्छ । राजा चाल्र्स र संसद्को द्वन्द्वले हिंसात्मक रूप लिएपछि राजा मारिए र क्रमबेलको उदय भयो । द्वन्द्वले निम्त्याएको गृहयुद्धले कस्तो स्थिति पैदा भयो, कति बेलायती नागरिक मारिए र अन्ततः के भयो, इतिहासमा उल्लेख छ । राजा आउने या नआउनेभन्दा पनि नेपालमा अब राजनीतिक द्वन्द्व नहोस् भन्ने हो । जनतालाई त सुखद जीवन र सुरक्षित राष्ट्र चाहिएको छ । हामी त यसै पनि कमजोर र गरिब छौँ । हामीले मित्रराष्ट्रहरूसँग आजसम्म सुमधुर सम्बन्ध राख्न सकेका छैनौँ ।

नेपालमा पटक–पटक यस्तो खेल भएको छ । विश्वका साना र कमजोर राष्ट्रको नियति यही हो । तसर्थ, पहिलो कुरा त दलहरूका मुख्य नेताले थाहा पाउनुपर्छ कि अहिलेका चुनौती निकै पेचिला, गम्भीर र दूरगामी महŒवका छन् । यसलाई सामना गर्न बेग्लै क्षमता र कुशलता चाहिन्छ । हाम्रो पहिलो आवश्यकता देशलाई अघि बढाउन सम्पूर्ण नेपालीबिच अभूतपूर्व एकता, मेलमिलाप र पारस्परिक विश्वास आवश्यक छ । तर, आज यो टुटेको अवस्था छ । यसलाई जोड्न जोसुकैले सक्तैन । हामी कोही पनि विलक्षण छैनौँ । यतिवेला नेपाली समाज दुर्भाग्यपूर्ण रूपमा विभाजित छ । कांग्रेस, कम्युनिस्ट, राजावादी गरेर विभिन्न कित्तामा बाँडिएको छ । राज्यसंयन्त्र बलियो र भरपर्दो छैन । यस्तो घडीमा पनि सर्वस्वीकृत नेतृत्व छैन । के हामीसँग उपलब्ध नेतृत्वले यस्तो परिस्थितिमा आफूलाई सक्षम साबित गर्न सक्छ त ? हुन त अहिलेका नेताले नेतृत्व छाड्ने वेला भयो ।

तर, उहाँहरूले ‘मरते दम तक’ नछाड्ने प्रस्ट छ । त्यसैले वर्तमान नेतृत्वले देश र जनताका लागि फेरि एकपटक समन्वयकारी भूमिका निर्वाह गर्ने कोसिस गरोस् भन्ने आमभावना हो । उच्च तहमा बसेको नेताले द्वन्द्व र उत्तेजना बढ्ने व्यवहार गर्नु र अभिव्यक्ति दिनु ठिक हुँदैन । हिजो राजतन्त्रले जेजस्तो व्यवहार गर्यो, हामीले पनि त्यस्तै गर्नुहँुदैन । बोल्ने र शान्तिपूर्ण माग राख्ने नागरिकको नैसर्गिक अधिकार हो । प्रजातन्त्र र निरंकुशताबिचको भेद यही हो । जनता निराश र राजनीति अस्थिर भएको वेला विभिन्न शक्तिले राजनीतिक स्वार्थका खेल खेल्नु अन्तर्राष्ट्रिय प्रचलन नै हो । समकालीन नेतृत्वको गम्भीर चुनौती यही हो । अहिले विनम्रतासाथ काम गर्नु बुद्धिमानी हुनेछ । विगतमा देश र जनताको मन जित्ने काम गरेको भए अहिले हामीले चर्को कुरा गर्न सुहाउँथ्यो, हामीसँग अहिले त्यस्तो सुविधा छैन ।

त्यसैले संयम र सुझबुझ राखेर काम गर्नु आजको आवश्यकता हो । सम्पूर्ण नेपाली एकढिक्का नभई न त देशले उन्नति गर्छ, न हाम्रो प्रतिष्ठा बढ्छ । देश घाइते छ । यतिवेला हामीलाई चर्को कुरा गर्ने होइन, समन्वयकारी भूमिका निर्वाह गर्ने नेता चाहिएको छ । नेपालले पटक–पटक गरेर धेरैपटक राजनीतिक र हिंसात्मक द्वन्द्व झेल्यो, अब सक्तैन । अब युग बदलौँ, नत्र आउने सन्ततिका लागि अभिशाप हुनेछ ।

(घिमिरे कांग्रेस युवा नेता हुन्)

सुझावित समाचार